बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा कांग्रेसको उत्साह : केन्द्रबाटै गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई सुझाव

कर्णालीमा कांग्रेसको उत्साह : केन्द्रबाटै गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई सुझाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत – कर्णालीमा कांग्रेसको अवस्था कमजोर छ। तत्कालिन एमाले र माओवादीको एकतापछि स्थानीय तह र प्रदेश सभामा नेकपाको दुईतिहाइ बहुमत छ। २०७४ को निर्वाचनपछि कर्णालीमा कमजोर बनेको कांगे्रसका क्रियाकलाप पनि ठप्पजस्तै थिए। सरकारमा कमजोर उपस्थिति भएको कांग्रेसले पार्टीका आन्तरिक गतिविधि पनि संचालन गर्न सकेको थिएन।

तर, बिहीबार र शुक्रबार वीरेन्द्रनगरमा देखिएको दृष्यले कांग्रेस पुनः जागेको संकेत देखिएको छ । निर्वाचनपछि कांग्रेसको केन्द्रीय नेतृत्व नै सुर्खेत आएको हो । केन्द्रीय नेतृत्व नै कर्णालीमा आएपछि यहाँका कांग्रेस कार्यकर्ता निकै उत्साहित बनेका छन् । विगतमा गुटबन्दीका कारण पार्टीले पराजय भोग्नु परेको भन्दै कार्यकर्ताले अब गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई आग्रह गरे । त्यतिमात्र होइन, जिल्ला सभापतिहरुले त अबको निर्वाचनमा कर्णालीमा पहिलो पार्टी बन्नका लागि गाउँ तहसम्म अहिलेबाटै अभियान थाल्ने उद्घोष नै गरेका छन् ।

वीरेन्द्रनगरको एक होटलमा आयोजना गरिएको कार्यक्रममा कर्णाली प्रदेशका कांग्रेस कार्यकर्ताहरुको बाक्लो भीड थियो । कार्यकर्तालाई थप उत्साह प्रदान गर्न केन्द्रीय नेतृत्व नै मञ्चमा सहभागी थियो। जब कार्यक्रममा केन्द्रीय नेताहरु बोल्न थाले, तब कार्यकर्ताहरुमा २०७४ को चुनावपछि मरेको जाँगर र उत्साह पुनः जाग्यो । नेताहरुले कम्युनिष्ट पार्टी र सरकारको चर्काे आलोचना गरिरहँदा कार्यकर्ताहरु उत्साहित थिए । कार्यक्रममा नेताहरुले आगामी चुनाव कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने सुत्र सुनाइरहँदा कार्यकर्ताका अनुहारमा खुशीका धर्साहरु देखिन्थे ।



नेताहरुको उपस्थितमा कर्णालीका कांग्रेस कार्यकर्ताले अब गाउँ तहसम्मै पुगेर पार्टीको अभियान चलाउने अठोट गरे । नेतृत्वलाई गुटबन्दी अन्त्य गर्न आग्रह गर्दै उनीहरुले अबको चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी सक्रिय हुने प्रतिबद्धता पनि जनाए । कांग्रेस हुम्लाका सभापति जयपति रोकायाले भने,‘गुटबन्दीले हाम्रो यो हालत भयो, अब केन्द्रीय नेतृत्वले यसलाई चिर्नुपर्छ । हामी जिल्लामा सक्रिय भएर जनताको बीचमा जानेछौं, अबको चुनावमा पहिलो हुने गरी अब कर्णालीमा कांग्रेस सक्रिय हुन्छ ।’

पार्टीको शाख जोगाउनका लागि कांग्रेसले कार्यकर्ता प्रशिक्षण सुरु गरेको छ । प्रदेश तहमा महाधिवेशन प्रतिनिधिहरुका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी जिल्ला नेताहरु कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन गुटगत राजनीतिको अन्त्य हुनुपर्ने सुझाव दिए । 

उनीहरुले अब जिल्लामा फर्किएर पार्टीलाई जनतासँग जोड्ने, सरकारका गलत कामको विरोध गर्ने र संगठन निर्माणमा लाग्ने योजना पनि सुनाए । पार्टीभन्दा नेता बलियो बन्ने होडबाजीका कारण गएको चुनावमा पराजय व्यहोरेको भन्दै अब केन्द्रदेखि नै गुट–उपगुटको अन्त्य गर्न नेतृत्वलाई कार्यकर्ताको सुझाव छ ।

जिल्ला सभापतिहरुले पार्टीका संघ, संगठन र भातृसंस्थालाई संघीय संरचना अनुसार तत्काल गठन गर्नुपर्ने माग नेतृत्व समक्ष राखेका छन् । भातृसंस्थाहरु निस्कृय भएका कारण पनि पार्टीको अवस्था कमजोर बनेको जिल्ला सभापतिहरुको भनाई छ । 

पार्टीभित्र मौलाउँदै गएको गुटगत राजनीति, घात–अन्तरघातको अन्त्य नभएसम्म आगामी चुनाव आफ्नो पक्षमा पर्न नसक्ने जिल्ला नेतृत्वहरुको बुझाई छ। वर्तमान सरकारले जनताको मन जित्ने गरी काम गर्न नसकेको उल्लेख गर्दै जिल्ला सभापतिहरुले सरकारको गरेका नराम्रा कामको भण्डाफोर गर्नुपर्ने बताए। केन्द्रदेखि नै पार्टीभित्र भावनात्मक एकता गर्नसके कांग्रेस बलिको बन्ने जिल्ला सभापतिहरुको तर्क छ। कार्यकर्ताको उपस्थिति देखेपछि केन्द्रीय नेताहरु पनि उत्साहित देखिन्थे।

यसैबीच हामीले प्रशिक्षणमा सहभागी कांग्रेसका कार्यकर्तालाई 'कांग्रेसलाई बलियो बनाउन के गर्नुपर्छ ?' भनेर सोधेका छौं। प्रस्तुत छ, उनीरुको भनाई जस्ताको त्यस्तैः

कमलराज रेग्मी
सभापति, सुर्खेत


नेपाली कांग्रेसले संघीय संरचना अनुसार पार्टीलाई लिन सकेका छैन। केन्द्रले निर्णय गरिसकेको छ। छोटै समयमा हामी पार्टीका संरचनाहरु संघीय स्वरुपमा ढाल्दैछौं। अबका दिनमा कांग्रेसले निर्वाचन जित्नका निम्ति केन्द्रमा एकजुट भएर अगाडि जानुको विकल्प छैन । पार्टीभित्र एकता भयो भने कुनै पनि शक्तिले कांग्रेसलाई हराउन सक्दैछ। नेतृत्व मिलेको खण्डमा पार्टी भित्रका गुट–उपगुट अन्त्य भएको खण्डमा निश्तित रुपले आउँदा दिनमा कांग्रेसको दुई तिहाइको सरकार बन्न सक्छ । त्यसका लागि काग्रेसभित्रै एकता हुनुपर्‍यो । कार्यकर्ताको मनोवल उठ्ने गरी नेताहरुले काम गर्नुपर्‍यो । देश जागरण अभियानमा पूर्वमेचिदेखि पश्चिम महाकालीसम्म नेता/कार्यकर्ता एकजुट भएर अगाडि जाने हो भने ढुक्कले आगामी सरकार कांग्रेसको बन्छ ।

हर्षबहादुर वम
सभापति, कालिकोट


अबको कांग्रेस संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेर सम्पूर्ण वर्ग, लिंग र क्षेत्रसँग जोडिएका नागरिकका मन र मुटुमा बस्न सक्ने कांग्रेस बन्न आवश्यक छ। कम्युनिष्टहरुले सोचेजस्तो कांग्रेसको साख गिरेको छैन । चुनाव जित्दाजित्दै पनि परिणाम हाम्रो पक्षमा नआएको मात्रै हो । गणितीय हिसावले स्थानीय प्रदेश र संघको चुनावमा हाम्रो प्रतिनिधित्व कम भएको हो । तर, आउने निर्वाचनमा सम्पूर्ण तहमा जनताले नेपाली कांग्रेसको माग गरिराखेका छन्।

जनताका आधारभूत आवश्यकताहरुलाई नेपाली कांग्रेसले मात्रै पुरा गर्न सक्छ भन्ने कुरा जनताले राम्ररी बुझेका छन्। तसर्थ अबको चुनावलाई नेपाली जनताको हितमा पार्न, जनताका आवश्यकताहरु पुरा गर्न र बहुमत नेपाली कांग्रेसको पक्षमा पार्न मुलत: पार्टीको नेतृत्वदेखि नै एकताको खाँचो छ। देशको संघीय स्वरुप अनुसार तत्काल पार्टीका संघ, संगठनहरु निर्माण हुनु आवश्यक छ । यो मुलुकको हितका निम्ति, राष्ट्रियता र लोकतन्त्रको रक्षाका निम्ति देशले कांग्रेस खोजी रहेको छ । त्यस कारण गुटगत राजनीतिको अन्त्य गर्दै पार्टीलाई भावनात्मक एकताको शुत्रमा बाध्न सक्ने नेतृत्व पार्टीमा आवश्यक छ । समग्रमा अवको कांग्रेस नेपाली जनताको कांग्रेस बन्नु पर्दछ।

जयपति रोकाया
सभापति, हुम्ला


अबको नेपाली कांग्रेस समावेशी हुनुपर्‍यो । देशमा कम्युनिष्टहरु एक भएका छन् । यस्तो अवस्थामा आगामी चुनावमा पार्टीले विजय हात पार्नका लागि पार्टीभित्रै नेतृत्वले एकताका सन्देशहरु जनतामाँझ पुर्‍याउनु पर्छ । बेलाबेलामा प्रशिक्षण, तालिम जस्ता कार्यक्रमहरु गर्नुपर्‍यो । हुम्लाको सन्दर्भमा भन्दा दुई कार्यकाल सभापति भइसकेको छुँ। जिल्लाको पार्टीलाई एक ढिक्का बनाउन गुट–उपगुट भनेको छैन । केन्द्रको जस्तो गुटको राजनीति जिल्लामा छैन । गाउँगाउँसम्म जागरण अभियानहरु अहिले पनि जारी नै छन् । देशव्यापी रुपमा गुट गत राजनीतिको अन्य हुने हो भने कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउँछ ।

गणेश चन्द
सभापति, सल्यान


सफा मनले एकताबद्ध भएर पार्टीको नीति र सिद्धान्त अनुसार अगाडि बढ्नुपर्छ । वीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्तअनुसार पार्टी नेतृत्व, पार्टीका कार्यकर्ताको व्यवहार आचरण सुधार्नुपर्छ । पार्टीमा भएका सानातिना मनमुटावलाई समाप्त गर्दै एकताबद्ध भएर अगाडि बढ्ने हो भने नेपाली काग्रेसको भविष्य उज्जवल छ । नेपाली कांग्रेसले भनेअनुसार देशमा व्यवस्था आएको छ । तर त्यसलाई अहिलेको सरकारले सही रुपमा परिचालन गर्न सकेको छैन। यही कुरा जनतालाई बुझाउन सक्यौं भने पार्टीभित्रको गुटगत राजनीति अन्त्य भयो भने आगामी चुनावमा कांग्रेसको भविष्य राम्रो हुनेवाला छ। मेरो व्यक्तिगत रुपमाभन्दा अबको कांग्रेस एकताको कांग्रेस हुन जरुरी छ । पार्टीका भातृ संगठनहरु बलियो बनाउन नेतृत्वको ध्यान जानुपर्दछ। पार्टीभित्रको घात, अन्तरघात अन्य हुनपर्दछ। आगामी दिनमा कांग्रेसले आफ्ना गतिविधिहरु, प्रशिक्षणहरु गाउँ र वडासम्मका जनतालाई बुझाउन सक्नुपर्दछ।

खड्गबहादुर शाही
सभापति, मुगु


हिजो राणाका विरुद्धमा, पञ्चायतका बिरुद्धमा लढ्नसक्ने कांग्रेसले अब कम्युनिष्टका विरुद्धमा लड्न सक्ने कांग्रेस हुनुपर्दछ । पहिले पार्टीले अख्तियार गरेका नीति, सिद्धान्तकै आधारमा नेपाली जनताले कांग्रेसलाई पत्याएका थिए । अब पुनः ४८ साल जस्तै बलियो कांग्रेस बनाउनका निम्ति हाम्रा नेता कार्यकर्ताहरुको बीचमा एकताको आवश्यकत छ । पार्टीमा एकताको भावना हुनुपर्छ । वैचारीक रुपले बलियो बन्नका लागि पार्टीका नीति, सिद्धान्तमा केन्द्रदेखि वडातहसम्म र सम्पूर्ण मातृ संगठनहरुमा भावनात्मक एकता हुनु जरुरी छ । राष्ट्रलाई अग्रगामी दिशामा लैजाना पार्टीले स्पष्ट विचार र धारणा ल्याउन सक्यो र ति विचारहरु जनतालाई बुझाउन सक्यो भने आगामी चुनावमा कांग्रेसको राम्रो हुनेछ । 
    
प्रेमप्रकाश वली
सभापति, रुकुमपश्चिम


नेपालको संविधानअनुसार र नेपालको संघीय व्यवस्था अनुसार नेपाली कांग्रेसले आफ्नो विधान बनाएको छ । तर विधान बनाएर मात्रै हुनेवाला छैन । अब छिटोभन्दा छिटो संघीय संरचनाअनुरा पार्टीको पुनर्निर्माण आवश्यक छ । अबको कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र एकताको खाँचो छ । कांग्रेस समावेशी सिद्धान्त र सहभागिताको कदर गर्ने पार्टी हो। तर अब पार्टीलाई बलियो बनाउन, पार्टीलाई भावनात्मक एकताको शुत्रमा बाँध्न समय सापेक्ष सबल नेतृत्व पार्टीमा पुग्नुपर्‍यो । विगतमा दिनहरुमा पार्टी निर्माणगर्ने क्रममा उहाँहरुको योगदान रहे पनि अबको पार्टीलाई हाक्न सक्ने नेतृत्वको खाँचो छ । सोही अनुसार पार्टीका केन्द्रदेखि जिल्ला र वडा तहसम्म सबल नेतृत्व आउन जरुरी छ । अबको नेतृत्व समय सापेक्ष देशमा आउन सक्ने जोखिमहरुलाई चिर्नसक्ने हुनुपर्दछ । आगामी दिनमा कांग्रेसको भविष्य बलियो बनाउन वर्तमान सरकारका कमि कमजोरीकोहरुको भण्डाफोर गर्दै जनताको मन जित्न सक्ने कांग्रेस बन्न जरुरी छ ।

कृष्णकुमार विसी
सभापति, दैलेख


अबको कांग्रेस देश र जनताको मन जित्ने कांग्रेस हुनुपर्दछ। त्यसकै लागि कांग्रेसले विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यो भन्दा पहिले जागरण अभियान सक्यौं, अहिले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गरेका छौं । नेपाली कांग्रेस पार्टीभित्र बृहतर एकताको खाँचो छ । त्यो एकता केन्द्रदेखि जिल्ला हुँदै गाउँ तहसम्म पुग्नुपर्दछ । पार्टीभित्र भएको समस्या भनेकै गुटउपगुट हो । गुटकै कारण नेपाली कांग्रेसका इमान्दार पार्टी कार्यकर्ताहरुमा निराशा छाएको छ । जब नेपाली कांग्रेस कमजोर हुन्छ । तब लोकतन्त्र कमजोर हुन्छ, जनताका हक अधिकारहरु कुन्ठित भएका छन् । विकास निर्माणले गति लिन सकेको छैन । यस्तो अवस्थामा नेपाली र नेपाली जनताको हितका लागि पार्टीभित्र बृहत्तर एकता भएको खण्डमा आगामी दिनमा आउने जस्ता सुकै चुनौतीहरु पनि कांग्रेस सामना गर्न सक्छ । 

दीपबहादुर शाही
सभापति, जुम्ला


अबको कांग्रेस नेपाली जनताको कांग्रेस बन्नु पर्दछ । वीपीको विचारलाई अंगिकार गर्न सक्ने कांग्रेस हुन जरुरी छ । अहिले पनि नेपाली कांग्रेसको साख गिरेको छैन । परिणामका हिसावले अघिल्लो चुनाव कम्युनिष्टहरु मिलेर आफ्नो पक्षमा परे तर चुनावका कुरा गर्दा कुनै पनि ठाउँमा कांग्रेसले कम मत ल्याएको छैन । अब पनि २०७९ को चुनाव कांग्रेसले जित्छ । तर चुनाव जित्नका लागि, जनतालाई आफ्नो विचारधाराहरु बुझाउनका पार्टीभित्र एकरुपता आवश्यक छ । पार्टी एक भएको खण्डमा, गुट, उपगुट अन्त्य भएको कांग्रेस बन्नु आवश्यक छ । नेतृत्व तहबाटै पार्टीका भातृ संस्थाहरु परिचायन गरियो भने, भावनात्मक एकता भएको खण्डमा फेरि पनि जनताले कांग्रेसलाई बहुमत दिएर राष्ट्र हाँक्ने जिम्मा दिनेछ । मेरा विचारमा यो मुलुकको हितका काम गर्ने र अबको नेपाली कांग्रेस नेपाली जनताको पार्टी बन्न जरुरी छ ।

गौरीशंकर उपाध्याय
महासमिति सदस्य, डोल्पा


देश संघीयतामा गएको छ । त्यही अनुसार कांग्रेसका पनि वडादेखि, स्थानीय तह, जिल्ला, प्रदेश हुँदै संघीय ढाँचा अनुसार पार्टीका कमिटीहरु गठन हुनुपर्‍यो । गुटबन्दी अन्त्य हुनुपर्‍यो । दोस्रो विषय पार्टीले साउन २९ गते आफ्ना संरचनाहरु संघीय ढाँचाअनुसार पूर्णता दिने सहमति भएको छ । त्यसलाई चाँडोभन्दा व्यवहारमा उत्तार्नु पर्‍यो । अब आगामी १४औं महाधिवेशनमा केन्द्रदेखि वडातहसम्मका गुटहरु भत्काउनु पर्छ । चुनाव आउन धेरै समय बाँकी छैन, त्यसकारण अब कांग्रेस गाउँ पस्नुपर्छ । टोल–टोलमा संगठन विस्तार गर्नुपर्‍यो । दुई तिहाइको कम्युनिष्ट सरकारले गरेका गल्ती, कमी कमजोरहरुलाई जनतामाँझ पुर्‍याउनु पर्‍यो । यति गर्न सकियो भने पार्टी बलियो बन्नेछ । 
 
महेन्द्रबहादुर शाह
क्षेत्रीय सभापति, जाजरकोट


२०७४ साल यता कांग्रेस कमजोर देखिएको छ । हामी कमजोर छौं भन्दा पनि परिणामले कांग्रेसलाई कमजोर सावित गरेको छ । यस हिसावले कमजोर कांग्रेसलाई बलियो बनाउनका निम्ति अब पार्टीका आन्तरिक संरचनाहरु बलियो बनाउनुपर्छ । तर केही साथीहरुमा व्यक्ति बलियो बन्यो भने पार्टी बलियो बन्छ भन्ने चेतनाको विकास भयो । त्यसकारण संस्था बलियो नभईकन व्यक्ति बलियो बन्न खोज्दाखोज्दै ०७४ सालपछि कांग्रेसको यो हालत भएको हो । त्यसकारण कांग्रेसले अब यही दुर्घटनाबाट पाठसिक्दै पार्टीका सम्पूर्ण, कमिटीहरु, संगठनहरु निर्माण गर्दा एउटै प्रण गरौं कि, व्यक्ति नभई पहिले पार्टी बलियो बनाऔं । तल्ला तहसम्मका संरचनाहरुमा व्यक्ति प्रधान होइन, संगठन प्रदान हुनुपर्छ । आफू नेता बन्नका लागि गुटको खेती अन्त्य गरेपछि पार्टी बलियो बन्छ। अब पनि म १५/२० वर्ष जेल बसेको हुँ, प्रजातन्त्र फाल्यौं, राजा फाल्यौं भन्दै इतिहास पढाएर मात्रै अब पार्टी बलियो बन्न सक्दैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।