काठमाडौं- तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने भएको छ । साफले बिहिबार दोस्रो पटक सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले घरेलु मैदानमा पहिलो प्रतिद्वन्दी माल्दिभ्स पाएको हो ।
अन्तिम समयमा पाकिस्तानले सहभागिता नजनाएपछि साफले दोस्रो पटक खेल तालिका सार्वजनिक गरेको हो । यसअघि नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने तालिका रहेको थियो । समूह ‘ए’ को नेपालले माल्दिभ्ससँग असोज ३ गते खेल्नेछ ।
त्यस्तै समूहको अन्तिम खेल नेपालले भुटानसँग असोज ५ गते खेल्नेछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगिताको अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४