काठमाडौं- १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओली उपचारका लागि बिहीबार (आज) पुनः सिंगापुर जाँदै छन् ।
नौ दिनसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर फर्किएको १० दिनपछि बिहीबार उनी त्यसतर्फ जान लागेका हुन् ।
दिउँसो साढे १ बजे थाइएयरमार्फत प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । सिंगापुर जाने टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्या सिंहलगायत ९ जना सहभागी हुने जनाइएको छ ।
एक सातासम्म बस्ने भनिए पनि फर्किने मिति यकिन भएको छैन । उनले बुधबार आयोजित कार्यक्रममा संविधान दिवसअगाडि नै आउने भनेका छन् । संविधान दिवस आउन १ महिना बाँकी छ ।
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी गरिएको छ भने आवश्यक परे मिर्गौला प्रत्यारोपण गर्नेसम्मको योजना बनेको छ । मृगौला भित्रको समस्याको पहिचान गर्ने र आवाश्यक परे फेर्ने नै भन्ने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
यसअघि १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री २७ साउनमा फर्किएका थिए । एक हप्ताका लागि गएका उनको बसाइ उपचारकै कारण केही दिन लम्बिएको थियो । त्यसबेला उनले औषधिको मात्रा परिवर्तन गरेका थिए । त्यही औषधिको प्रभावबारे फलोअप गर्न जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे अफवाह फैलाइएको भन्दै असन्तुष्टिसमेत जनाएका थिए । उनले बुधबार गृहमन्त्रालयमा आयोजिकत कार्यक्रममा बोल्दै आफू अझै १५ वर्ष बाँच्ने बताएका थिए । उनले आगामी चुनाव लड्न तयार रहनसमेत विपक्षीलाई चुनौती दिएका थिए ।
भिडियोबाटै मन्त्रिपरिषद् बैठक गरिनेप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो ।
अब प्रधानमन्त्री जहाँ भएपनि भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतममन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रको जिम्मेवारी दिने प्रचलन थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४