काठमाडाैं- नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक बुधबारदेखि काठमाण्डौमा सुरु हुँदैछ ।
भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकर आएलगत्तै दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा सुव्रमण्यम जयशंकर आजै काठमाण्डौ आउँदै छन् । भारतमा नरेन्द्र मोदी नेतृत्वको दोस्रो सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुने भएका छन् ।
संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ । राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुने कार्यसूची छ ।
यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ ।
नेपालले दुई देशका प्रधानमन्त्रीको तहमा डुबानबारे दुईपटक छलफल भएको र दुईवटा संयुक्त प्राविधिक टोलीले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदन कार्यान्वयनमा जोड दिनेछ ।
‘दुवै प्राविधिक टोलीको प्रतिवेदनमा भारतले नदीको प्राकृतिक बहाव अवरुद्ध गरेका कारण डुबानको समस्या देखिएको उल्लेख गरेको परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार सञ्चारकर्मीलाई जानकारी गराएका थिए । यो प्रतिवेदन कार्यान्वयनका लागि यसै बैठकमा नेपालले दबाब दिने भएको छ ।
नेपालले सार्क सक्रिय हुनुपर्ने धारणा पनि राख्नेछ । बैठकपछि ५ भदौमा संयुक्त वक्तव्य जारी हुनेछ ।
परराष्ट्रमन्त्रीस्तरीय आयोग नेपाल–भारतबीचको सबैभन्दा उपल्लो तहको द्विपक्षीय संयन्त्र हो । सन् १९८८ मा पहिलो र सन् २०१४ मा तेस्रो बैठक नेपालमा तथा सन् १९९१ मा दोस्रो र सन् २०१७ मा चौथो बैठक भारतमा भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४