काठमाडौं– चितवन जिल्ला अदालतले पत्रकार रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती दिएको छ। न्यायाधीश विनोदकुमार गौतमको इजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान अगाडि बढाउन अनुमति दिएको हो। तीनै जनाको बयान सकिएको र उनीहरुविरुद्ध प्रहरीले थप अनुसन्धान गरी अभियोगपत्र दायर गर्नेछ।
जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए भने रविका पक्षबाट अधिवक्ता सुनिल कुमार पोखरेलसहितले बहस गरेका थिए।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार रवि लामिछाने, युवराज कंडेल तथा अस्मिता कार्कीलाई काठमाडौंबाट पक्राउ गरेको थियो।
तिनै जनालाई चितवन प्रहरीले पक्राउ गरि जिल्ला अदालत चितवनमा पेश गरेको थियो। ५ दिनको म्याद सकिएपछि चितवन प्रहरीले मंगलबार पुन: म्याद थपका लागि जिल्ला अदालत चितवनमा पेश गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४