सुर्खेत – कर्णाली प्रदेश सरकारले गत फागुनमा पहिलो पटक ‘मुख्यमन्त्री रनिङशील्ड भलिबल प्रतियोगिता’ को आयोजना गर्यो। खेलमैदानको अभावमा आयोजकले वीरेन्द्रनगरमा रहेको खुल्लामञ्चमा नै भलिबल कोर्ट बनाए। तर, दुर्भाग्य प्रतियोगिताको सुरुकै दिनमा पानी परेर हिलाम्य बन्यो। लगातार तीन दिनसम्म पानी परेपछि आयोजकले भलिबल कोर्ट नै परिवर्तन गरे।
हिलाम्य कोर्टमा खेलाडीहरु चिप्लदैं, पच्छारिदै जेनतेन प्रतियोगिता सम्पन्न भयो। खेलाडीहरुको प्रतिभालाई उजागर गर्न आधा करोड खर्चिएर आयोजना गरिएको प्रतियोगिताले पछिल्लो पुस्ताहरुमा क्रेज बढ्दै गएको क्रिकेट र फुटबल प्रतियोगितालाई समेट्न सकेन। त्यस लगत्तै कर्णाली क्रिकेट एकेडेमीले वीरेन्द्रनगरमा कर्णाली प्रिमियर लिगको दोस्रो संस्करणको आयोजना गर्यो। प्रतियोगिताका लागि क्रिकेट मैदानको अभाव हुँदा आयोजकले आफैले करिब सात लाख खर्चिएर कालुङ्गचौक मैदानलाई मर्मत तथा सुधार गर्यो।
प्रिमियर लिगको समाप्तिसँगै नेपालगन्जमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता भयो। नेपाली खेलकुदको महाकुम्भ मानिने राष्ट्रिय खेलकुद प्रतियोगिताको ८ औं संस्करण नेपालगन्जमा चलिरहँदा नवौं प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुनुपर्ने माग प्रदेश सरकारले गर्यो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले त सार्वजनिक कार्यक्रममा समेत नवौं प्रतियोगिता कर्णालीमा आयोजना हुनुपर्ने माग गरे। अन्ततः राष्ट्रिय खेलकुद परिषद्ले महाकुम्भ आयोजनाका लागि कर्णालीलाई पत्याएन।
यी सबै घटनाक्रमले कर्णालीमा खेल मैदानको अभाव रहेको पुष्टी गर्छन्। पछिल्लो समय खेलाडीहरु खेलकुदप्रति जागरुक भइरहँदा भौतिक संरचना निर्माण भने आशलाग्दो छैन। जसले गर्दा खेलाडीहरुलाई दैनिक अभ्यास र विभिन्न प्रतियोगिता गर्दासमेत आयोजकले हैरानी व्यहोर्ने गरेको छ। खेलमैदानको अभावमा प्रतियोगिता सञ्चालन गर्नसमेत समस्या हुने गरेको कर्णाली क्रिकेट एकेडेमीका अध्यक्ष जीवन शाही बताउँछन्। ‘पछिल्लो समय खेलका गतिविधि बढेका छन्, तर, पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले ध्यान दिन सकेनन्’ शाही भन्छन्, ‘क्रिकेटका लागि कालुङ्गचौक मैदानलाई नै दीर्घकालीन रुपमा लागि प्रयोग गर्न सकिन्छ, बरु राज्यले त्यसलाई थप स्तरोन्नती गरोस्।’
यस्तै जिल्ला क्रिक्रेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसी मैदान नहुँदा प्रतियोगिताहरू सञ्चालन गर्न नसकिएको बताउँछन्। ‘मैदानकै अभावमा खेलाडीले पनि अभ्यास र प्रशिक्षण पाएका छैनन्’ केसी भन्छन्, ‘जग्गा अभावका कारण खेलमैदान निर्माण गर्न सकिएको छैन।’ कालुङ्गचौक क्रिकेट मैदानलाई नै अब प्रादेशिक क्रिक्रेट मैदानका रुपमा विकास गर्नुपर्ने भनाइ छ। कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले कालुङ्गचौक मैदानलाई नै प्रदेशस्तरीय क्रिकेट मैदानका रुपमा विकास गरिने बताए। ‘खेलकुद क्षेत्रको विकास गर्न सरकार लागि परेको छ, ढिलोचाँडो भौतिक संरचनाहरु निर्माण हुनेछन्।’ उनी भन्छन्, ‘क्रिकेट मैदानदेखि प्रादेशिक रंगशाला निर्माणमा समेत हाम्रो चासो छ।’
उसो त कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७६/०७७ का लागि ल्याएको बजेटमा खेलकुद तर्फ ११ करोड ७५ लाख छुट्टाएको छ। अझ सरकारले बजेट मात्रै छुट्याएन प्रदेशबाट राष्ट्रिय खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई १ लाख राशीको पुरस्कार घोषणा समेत गर्यो। सोही बजेटमा सरकारले कर्णालीबाट अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई ५ लाख राशीको अर्को पुरस्कारको समेत घोषणा गर्यो। तर विडम्बना लोकप्रियताका लागि यति धेरै गर्न सक्ने सरकारले खेलक्षेत्रका भौतिक संरचना निर्माणमा भने खासै चासो दिएको छैन।
कवर्डहल निर्माण अन्तिम चरणमासुर्खेतमा निर्माणाधिन बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। हलको जग बसाल्ने र छानो हाल्ने लगायतका काम अन्तिम चरणमा पुगेको छ। ‘पूर्णरुपमा हल सम्पन्न हुन मंसिरदेखि पुससम्म लाग्न सक्छ। तर छानो र पेन्टिङ्ग सकिएपछि दशैं लगत्तै सञ्चालनमा ल्याउनेछौं’ निर्माण समितिका संयोजक चेतबहादुर अधिकारीले भने, ‘हल निर्माण भएसँगै इन्डोर खेलकुद प्रतियोगिता गर्न सहज हुनेछ।’
तीन करोडको लागतमा निर्माणाधिन हल कर्णाली प्रदेशको पहिलो र नमूना हुने दाबी गरिएको छ। तीन हजार क्षमताको हलमा इन्डोरमा खेलिने तेकवान्दो, मार्शलआर्ट जस्ता प्रतियोगिताहरु गर्न सहज हुनेछ। हल निर्माणका लागि जिल्ला ब्याडमिन्टन संघ सुर्खेतले महोत्सवबाट झण्डै एक करोड ७५ लाख रकम संकलन गरेकोको थियो। दाताले दिएको रकमले हल निर्माण हुन नसक्ने भएपछि प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।