काठमाडौं– नेपाली कांग्रेसका नेताहरुलाई अहिले ‘जय नेपाल’को चिन्ताले सताउन थालेको छ। त्यसैले कांग्रेसको जारी प्रदेशस्तरीय प्रशिक्षणको अजेण्डा ‘जय नेपाल’ बनेको छ।
यस्तै, चिन्ता २०६६ सालको भदौतिर कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि भएको थियो। त्यसबेला कोइरालाले पनि ‘जय नेपाल’ को प्रचारप्रसार हुनु पर्ने बताउँथे।
“जय नेपाल हाम्रो पहिचान हो, भेटघाटमा जय नेपाल भन्दा आत्मीय अनुभुति हुन्छ,” सार्वजनिक कार्यक्रममै कोइरालाले भनेका थिए, “जय नेपालको विस्तार भए कांग्रेसको पनि विस्तार हुन्छ।”
त्यसको एक दशपछि पुनः कांग्रेसलाई ‘जय नेपाल’ शब्द हराउन लागेको चिन्ता भएको छ। त्यसैले कार्यकर्तालाई नेताहरुले ‘जय नेपाल’ रहे मात्र कांग्रेस रहन्छ भन्दै प्रशिक्षण दिन थालेका छन्।
सोमबार कांग्रेसको प्रदेश प्रशिक्षण प्रदेश-५ को रुपेन्दहीमा शुरु भएको छ। कार्यक्रमको शुरुमा नेताहरुले ‘जय नेपाल’ भन्दै अभिवादन गर्दा कार्यकर्ताहरुले उति ठूलो स्वरमा ‘जय नेपाल’ भनेको सुनिएन।
मञ्चमा भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभापति विजय कुमार गच्छदारलाई भने, “अब कार्यकर्ताहरुमा जय नेपाल भन्ने पनि जोश रहेन।”
गच्छदारले पनि आफ्नो भाषणको क्रममा भने, “जय नेपाल भन्ने जाँगर पनि मरेर जान थाल्यो। यो प्रशिक्षणमा पहिलो सन्देश के छ भने सुतेर बसेको जय नेपाल, निस्क्रिय भएको जय नेपाललाई फेरि एक स्वरले उठाउनु पर्छ।”
उनले जय नेपाल भन्न गाह्रो भयो भने नेपाली कांग्रेसलाई उठाउन नसकिने भन्दै थपे, “केही समय म जय नेपाल छोडेर गएको थिएँ। तर तपाईंहरु मसँग भेट्दा जय नेपाल भन्नुहुन्थ्यो, मैले पनि जय नेपाल नै भने। १० वर्षपछि फर्किएर फेरि जय नेपाल भन्छु।”
उनले स्थानीय नेता कार्यकर्ताहरुलाई जय नेपालको नारा गाउँ–गाउँमा पुगेर ब्यूँताउन निर्देशन दिए।
त्यसपछि बोलेका अर्का उपसभापति विमलेन्द्र निधिले ‘जय नेपाल’ प्रशिक्षणको मुख्य अजेण्डा भएको जानकारी दिए।
राजाहरुबाट ‘जय नेपाल’ भन्न शुरु भएको भन्ने कुराको पनि उनले खण्डन गरे।
गत बैशाखमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि ‘जय नेपाल’ भन्न शुरु गरेको दाबी गरेका थिए।
प्रशिक्षणमा बोलेका सभापति देउवाले पनि ‘जय नेपाल’ कम सुनिन थालेकोमा चिन्ता व्यक्त गरे।
उनीहरुको निष्कर्ष थियो, “नेता–कार्यकर्ताहरुले जय नेपाल भन्न छोडे। जय नेपाल सकिए कांग्रेस सकिन्छ। त्यसैले ‘जय नेपाल’ गुञ्जायमान भइरहनुपर्छ।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४