काठमाडौं- राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले आगामी १० वर्षमा सहकारी संघ/संस्थाहरुको सख्या ५ हजारमा झार्ने बताएका छन्।
उनले सोमबार सहकारी समन्वय सञ्जालको राष्ट्रिय सहकारी बैंकमा बसेको ४३ औं बैठकमा सम्बोधन गर्दै भने, ‘अब सहकारीकर्मीहरुले सहकारीको एकीकरणमा जोड दिनुपर्छ। यसमा उत्साही भएर अभियान चलाउन आग्रह गर्दछु।’ उनले गैरसरकारी संस्थाले प्रबद्र्धन गरेका सहकारी संस्थाहरु पनि एकीकरण हुनुपर्नेमा जोड दिए।
उनले ऐन नियमले तोकेअनुसार कोषहरु निर्माण गरी सहकारीलाई सवल र बलियो बनाउने समेत आग्रह गरे। उनले सहकारीको विषय बुझाए मात्र सदस्यता दिनुपर्ने धारणा राखे। उनले केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी विकास बोर्डले आफ्नो भूमिका निभाउनुपर्नेमा जोड दिए। उनले सहकारी घटाउने तर उत्पादनलाई ५ वर्षमा दोब्बर बनाउनुपर्ने विचार राखे।
उनले सन्दर्भ ब्याज दरको प्रसंगमा भने, ‘बढी ब्याज दिन्छु भनेर निक्षेप संकलन गर्ने सहकारीलाई ट्रयाकमा ल्याउनुपर्छ।’ सन्दर्भ ब्याजदरलाई लिएर सहकारीकर्मीहरु विभाजित हुने स्थिति बन्न नहुने बताए। ‘राज्य र सहकारी एक भएर अगाडि बढ्नुपर्छ।
राज्यसँग मत बजाएर सहकारी अगाडि बढ्न सक्दैन।’ उनले भने, ‘सहकारी क्षेत्र स्वायत्त र स्वतन्त्र हो तर स्वच्छन्द होइन। गलत गर्नेलाई दण्ड दिनुपर्छ।’ उनले सहकारी एकीकरण भएर ठूलो भई उत्पादन वृद्धिमा लाग्नुपर्नेमा जोड दिए।
सहकारी महासंघ, केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, सहकारी विकास बोर्ड, विभिन्न गैर सरहकारी संघ/संस्था, कृषि विभाग, पशुसेवा विभाग, महिला विकास विभाग, विकास बोर्डहरु, राष्ट्र बैंकलगायतका प्रतिनिधिहरु सो संजलामा रहेका छन्।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सरकारले कम ब्याजदरमा लगानी गर्ने ऋण सहकारी बैंकमार्फत उपलब्ध गराउन सकेको खण्डमा सहकारीले गर्ने उत्पादनमा वृद्धि हुने बताए। आइएलओका राष्ट्रिय कार्यक्रम व्यवस्थापक नविन कर्णले सहकारी मूल्य शृखलामा जानुपर्ने र यसका लागि आइएलओले सहकारीमार्फत विभिन्न कार्यक्रम गरिरहेको बताए।
उनले सहकारी तल्लो समुदायसम्म पुगेको क्षेत्र भएकाले यसलाई सरकारले महत्व दिएको धारणा राखे। कार्यक्रममा साना किसा लद्युवित्त संस्थाका कार्यकारी निर्देशक डा शिवराम कोइराला र राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाईले कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४