काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सङ्गठनको गरिमालाई उच्च राख्ने गरी काम गर्न मातहतका मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित ‘१८० औँ पोष्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्सेज’ पिजीडीपीएस सम्बोधन गदै आइजीपी खनालले भने, ‘प्रहरी सेवा देशको सेवा गर्ने उत्तम अवसर हो । यो अवसरलाई सही सदुपयोग गर्दै आफूले पाएको जिम्मेवारी सदुपयोग गर्नु होस् ।’
नेपाल प्रहरीले प्रदान गर्ने बिभिन्न तालिमबाट पाएको व्यवहारिक तथा सैद्धान्तिक ज्ञान, सीप आगामी पूर्णरुपमा ग्रहण गरी सकारात्मक सोचका साथ जनताको सेवामा समर्पित हुन खनालले प्रशिक्षित प्रहरीलाई निर्देशन दिएका हुन् ।
खनालले भने आफूले पाएको जिम्मेवारी दृढता पूर्वक सम्पन्न गर्न सक्छु र हरेक दिएका जिम्मेवारीहरू पूर्ण निष्ठाका साथ पुरा गर्छु भन्ने भावनाको विकास यो प्रशिक्षणले प्रदान गरेको छ ।
सङ्गठनको गरिमा, प्रतिष्ठालाई थप उच्च बनाउनु पर्नेमा जोड दिदैँ खनालले भने, ‘बोली, बचन र व्यवहारमा उत्कृष्टता प्रदर्शन गर्दै शान्ति सुरक्षा कायम गर्न राज्यले सुम्पेको जिम्मेवारी पुरा गर्नका लागि चुनौतीहरूको सामना गर्न तयार रहनुहोला ।’
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रशिक्षार्थीलाई निर्देशन दिँदै परिश्रमका साथ अनुशासित, लगनशील एवं मर्यादित रही तालिमले अपेक्षा गरेका सफलता हासिल गर्नुपर्ने बताएका थिए ।
उक्त प्रशिक्षणमा विभागीय तर्फका प्रहरी निरीक्षक ९३ जना र सेवा प्रवेश गरेका १५ जना प्रहरी निरीक्षक गरी कूल १०८ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो ।
तालिम समापन समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा निमित्त डिन प्रा.डा. ध्रुब कुमार, पोष्ट ग्राजुएट डिप्लोमा इन पुलिस साइन्सेजका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू लगायत प्रहरी कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४