भैरहवा- प्रदेश नं ५ का १२ जिल्लाका काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरु भैरहवामा भेला भएका छन् ।
पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज (सोमबार) देखि भैरहवा स्थित पार्टी कार्यलयमा शुरु भएको भेलालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको गतिविधिले प्रजातन्त्रमाथि खतरा सिर्जना गरेको बताए ।
भैरहवामा सुरु भएको दुई दिने महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले राणा, पञ्चायत र राजतन्त्रविरुद्ध सङ्घर्ष गरेको काङ्ग्रेसले ओली सरकारलाई पनि ठेगान लगाउने चेतावनी दिए । उनले भने ‘ओली सरकार नसच्चिए काङ्ग्रेसले त्यसको प्रतिकार गर्नेछ । ’
देउवाले भने, ‘मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्छ, तर सरकारले आयोगको अधिकार खोस्न खोजेको छ, सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अगाडि बढ्न खोजेको छ, मिडिया विधेयक काउन्सिल प्रजातन्त्र विरुद्धको हस्तक्षेप हो ।”
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने चुनौती खडा भएको बताए । पौडेलले सरकारले संविधानको मर्म विपरित काम गरिरहेको जिकिर गर्दै भने, ‘सरकारको ढुकुटी कार्यकर्तालाई बाँडिएको छ, यो गलत हो ।’
पार्टीका उपसभापति तथा नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले सरकारका गतिविधिले लोकतन्त्र विरोधी हुँदै गएकोले काङ्ग्रेसले सचेतता पूर्वक आफ्ना गतिविधि अगाडि नढाए लोकतन्त्र सङ्कटमा पर्ने बताए ।
अर्का उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारले काङ्ग्रेसका नेता कार्यकर्ता लोकतन्त्र तथा स्वतन्त्रताको लागि लड्दै आएको चर्चा गर्दै अझै एक ढिक्का भएर लाग्ने बेला आएको बताए । पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली काङ्ग्रेस जनताको पार्टी भएकाले जनताको घरघरमा जानुपर्ने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र रक्षाका लागि काङ्ग्रेसको सक्रियता जरुरी रहेको बताए । कार्यक्रममा काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन् ।
भेलामा १२ जिल्लाका महाधिवेशन प्रतिनिधि तथा पार्टीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, सम्झ तथा प्रदेश सभाका सांसदहरुमा उपस्थिति रहेको नेपाली काङ्ग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४