काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग गरेको सहमति तोडेको राष्ट्रिय जनता पार्टी (राजपा) का नेताले बताएका छन्।
तेस्रो मधेश-थरुहट आन्दोलन छानविन आयोग (लाल आयोग) को प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सत्तारुढ दल र राजपाबीच भएको सहमति प्रधानमन्त्रीले तोडेको राजपा नेता लक्ष्मणलाल कर्णले बताएका छन्।
अघिल्लो संसद अधिवेशनदेखि नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाले संसदमा दबाब दिदैँ आएको थियो।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सर्लाहीमा प्रहरीको गोलीबाट सरोजनारायण सिंह र कुमार पौडेल मारिएको घटनाको छानविन गर्न माग गर्दै असार २४ गतेदेखि काङ्ग्रेस र राजपाले संयुक्त रुपमा प्रतिनिधि सभामा अवरोध गर्दै आएका थिए।
संसद अवरुद्ध भएको झण्डै एक महिनापछि सभामुखकै पहलमा साउन २० गते सत्तारुढ र प्रतिपक्षी दलहरुबीच लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सर्लाही घटनाबारे छानबिन गर्ने सहमति भएको थियो।
तर, सर्लाही घटनासम्बन्धी छानविन गर्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विशेष समिति गठन गरिए पनि लाल आयोगको प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन।
सहमति अनुसार राजपा नेताहरुले आज प्रधानमन्त्रीको सम्बोधनमा लाल अयोगको प्रतिवेदनबारे केही आउने अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताएका छन्।
“सहमति अनुसार प्रधानमन्त्री ओलीले लाल आयोगको प्रतिवेदनका विषयमा बोल्नु पर्ने थियो तर, बोल्नु भएन,” राजपा संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने, “हामीसँगको सहमति उलंघन भयो।”
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री ओलीले चासो नदेखाएको भन्दै प्रमुख सचेतक कर्णले संसद र संसद बाहिर फेरि आवाज उठाइने बताए।
यसैबीच, सर्लाही घटनासम्बन्धमा छानविनका लागि गठन भएको विशेष समितिले आइतबारबाट काम थालेको छ।
विशेष समितिको पहिलो बैठक आइतबार बसेको छ। आइतबारको बैठकमा समितिको कार्यविधि बनाउने विषयमा छलफल भएको हो। समितिको म्याद आइतबारबाट ३० दिनको हुनेछ।
समितिले सर्लाही घटनाका विषयसँगै संसद अवरोध हुने अवस्थाका विषयमा समेत सुझाव दिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४