काठमाडौं - वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ। उनको शनिबार डल्लुस्थित आफ्नै निवास निधन भएको हो। थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी ७३ वर्षीया अधिकारी दम रोगबाट पीडित थिइन्।
विक्रम सम्वत् २००३ सालमा काठमाडौंको असनमा उनको जन्म भएको थियो। उनले दर्जनौं नाटक, चलचित्र तथा टेलिसिरीयलमा अभिनय गरेकी छिन्। उनको अभिनय क्षमताका कारण दर्शकमाझ उनी लोकप्रिय थिइन्। उनका १ छोरा र छोरी छन्।
२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा अभिनय गरिन्। निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो ।
उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा अभिनयसमेत गरेकी छिन्।
स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४