काठमाडौं- भक्तपुरका नेवार समुदायले शुक्रबार गाईजात्रा पर्व मनाएका छन्। वर्षभर दिवंगत भएका आफन्तको सम्झनामा मनाइने गाईजात्रालाई नेपाल भाषामा साःपारू भनिन्छ। बिहानैदेखि टोलटोलमा बाजागाजा र झाँकीसहित गाईजात्रा मनाइएको हो।
‘सा:’ अर्थात् ‘गार्ई र ‘पारू’ को अर्थ ‘प्रतिपदा’ हो। प्रतिपदाका दिनमा गाईलाई टोलटोलमा घुमाइने भएकाले पर्वलाई साः पारू भनिएको संस्कृतिविद् ओम धौभडेलले बताए।
उनका अनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार्न सक्यो भने मरेपछि स्वर्ग प्राप्त गर्न सकिने जनविश्वास छ। गाईजात्राका दिन मृतकका घरबाट गाई वा गाईको प्रतिमा बनाएर सडकमा प्रदर्शन गरिएको थियो।
तत्कालीन राजा प्रताप मल्लकी रानी छोराको मृत्युले शोकाकुल भएकी थिइन्। रानीलाई पुत्रवियोगको पीडाबाट मुक्त गराउने राजाको प्रयास विफल भएपछि प्रताप मल्लले यो पर्वको थालनी गरेको इतिहासमा छ। जात्रा देखेपछि, रानीले अरूका सन्तान पनि बित्दा रहेछन् भनेर चित्त बुझाएको मानिन्छ।
छुट्टै छन् काठमाडौं, भक्तपुर र पाटनको गाईजात्राभक्तपुरमा गाईको प्रतिमा स्वरूप ‘ताहामचा’ बनाइन्छ। ‘ताहामचा’ चारवटा बाँसको अग्लो त्रिभुज आकारमा बनाइन्छ। पुरूष बितेको घरमा ताहामचालाई सेतो कपडाले बेरिन्छ। महिलाको मृत्यु भएको सन्दर्भमा रातो तथा रंगीबिरंगी कपडाले ढाकिन्छ।
ताहामचामा मृतकको तस्बिर र त्यसमाथि गाईको साःखपा (रौं)) राख्ने गरिन्छ। गाईलाई छाता ओड्याइन्छ। महिलाको ताहामचामा भने शृंगारका सामान राखिन्छ।
भक्तपुरमा नौ दिन सम्म नै गाईजात्रा मनाइन्छ।
भाद्र शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमामा सुरु भएर भाद्र शुल्क अष्टमी अर्थात् कृष्ण अष्टमीका दिन सम्पन्न हुन्छ। नौ दिनमा भक्तपुरका टोलटोलमा विभिन्न प्रकारका नाच तथा झाँकी प्रदर्शन गरिन्छ।
गाईजात्राको आकर्षण घिन्ताङघिसी नाच हो। यसमा लाठी ठोकेर नृत्य गरिन्छ।
काठमाडौं का नेवार समुदाय भने तीन जना बच्चरूलाई सिंगारेर गाईजात्रा (बाच्छालु हीगु) मनाउँछन्। बलिकालाई सिँगारेर अन्य दुई बालकलाई छेउमा राखी नगर परिक्रमा गरिन्छ।
पाटनमा गाईजात्राको दिन केही हुँदैन। भोलिपल्ट बत्ती बाल्ने गरिन्छ। यस दिनलाई ‘मत्या’ भनिन्छ। त्यस दिन वर्ष भरि दिवंगत भएकाको सम्झनामा बहालमा बत्ती बाल्ने चलन छ।
ठिमीमा भने मान्छे नबिते पनि गाईजात्रा मनाउने चलन छ। नयाँ घर बनाएको छ वा घरको कुनै भाग मर्मत गरिएको छ भने पनि गाईजात्रा निकाल्नुपर्छ।
स्वतन्त्रताको दिनमल्लकालमा राजाहरूको विरोध गर्दा ठूलो सजाय भोग्नुपर्दथ्यो। तर गाईजात्राका दिन भने राजाको गल्ती औंल्याउँदा कुनै सजाय भोग्नु पर्दैनथ्यो। त्यसैले राजाको गल्ती औंल्याउने दिन पनि हो गाईजात्रा। अहिले भने विभिन्न नेता र सामाजिक समस्यामाथि व्यंग्य गरेर गाईजात्रा मनाउने चलन छ।
शोकलाई शक्तिमा परिणत गर्नै पर्वगाईजात्रा कुनै सुखद वा ठूलो उत्सव होइन। मृतकले मोक्ष पाऊन् भन्ने उद्देश्य गाईजात्राको हो। मृत व्यक्तिको स्वर्गवासको कामनासाहित मनाइने गाईजात्रा शोकलाई शक्तिमा बदल्ने पर्व हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४