शुक्रबार, मंसिर २७, २०७६

विचार

समाजवाद–समाजवाद भट्याएर केही हुन्न

समाजवाद–समाजवाद भट्याएर केही हुन्न

पुँजीवादको सबैभन्दा ठूलो ताकत निजी क्षेत्र र बजार हो। तर यसलाई उत्पादनशील क्षेत्रका रूपमा विकास गर्नुपर्छ।

हालको विश्व व्यवस्था पुँजीवादी नै हो। सन् १९९० पछि संसारभर यो सामाजिक राजनीतिक प्रणाली प्रभावशाली भइरहेको छ। बीसौँ शताब्दीको अन्त्यसम्म आइपुग्दा संसारभर यही प्रणाली चलिरहेको छ। चीन, रुस, अमेरिका सबैतिर यस्तै छ।

प्रश्न उठ्छ, चीनजस्तो समाजवादी मुलुकले किन पुँजीवादलाई अँगाल्यो? चीनले जुन प्रकारको आर्थिक सामाजिक प्रणाली अपनाएको थियो, त्यसले उसलाई कतै नपुर्‍याउने देखियो। चीनले पुँजीको विकास गर्दै आफ्नो समाजवादी कार्यक्रम पनि अघि बढाउने लक्ष्य लिएर आर्थिक सामाजिक उन्नति गर्न सकेको हो।

चीनले आफूसँग भएका सम्पूर्ण सम्भावना खोजी गर्न पुँजीवादकै प्रणालीमा छिरेर उन्नति गर्दै जाने बाटो समात्यो। तङ स्याओ फिङको विचार पनि मूलतः त्यही हो। पुँजीवादी प्रणालीमा प्रवेश गरेर राष्ट्रिय पुँजी निर्माण गरेर समाजवादी कार्यक्रम लागू गर्दै जाने उनको अवधारणा थियो।

चीनका साठी प्रतिशत कम्पनी राज्यकै नियन्त्रणमा छन्। चीनभित्र आर्थिक आरोहअवरोह हुँदा पनि स्थिति नियन्त्रणमै रहने कारण यही नै हो।

यो यथार्थ नबुझी चीनबारे विश्लेषण गर्दा अपूरो देखिन्छ। त्यसैले पुँजीवादमा आएको संकट चीनले व्यहोर्नुपर्ने हुँदा अब बिस्तारै चीनमा पनि आर्थिक संकट आउनेछ। यस्तो संकट टार्न उसले पश्चिमेली मुलुकबाट वित्तीय पुँजी भित्र्याउँदा अनेक संकट पनि भित्रिनेछ। अर्कोतर्फ चीनले जुन प्रकारको आर्थिक विकास गरिरहेको थियो, त्यस प्रकारको विकासका लागि अब ऊ असक्षम हुन्छ।

चीनमा श्रमिक पार्टीकै सरकार छ। मजदुरहरूले उठाएका समस्या सजिलै सम्बोधन हुनुपर्ने थियो। तर भएको छैन। त्यो सम्भव पनि छैन। त्यो फजुल कुरा हो। किनकि सत्तामा पुगेपछि श्रमिक पनि शासक वर्गमा परिणत हुन पुग्छ।

सोभियत संघ अमेरिकाको कारण नभई आफ्नै भारले ढलेको हो। चिनियाँहरूले यो राम्रोसँग बुझेका छन्। त्यसैले चीनले बिआरआई परियोजना अघि सारेको हो। यो वालेर्नेस्टाइनको अवधारणाभन्दा फरक छ।

समाजवाद निर्माण गर्दा सिद्धान्त र व्यवहारमा एकरूपता ल्याउनु जरुरी छ। नेपालमा भएका समाजवादी पार्टीले जनताको जनजीविकाको स्तरमा सम्बोधन नगरी कोरा समाजवादी सिद्धान्तको रटान लगाउनुको कुनै तुक छैन। वर्ग परिचालन नगरी यो सम्भव छैन। श्रमाजीवी वर्ग र पुँजीवादी वर्गबीचको संघर्षलाई घनीभूत बनाउनुपर्ने हुन्छ। अझ भन्नुपर्दा आधारभूत वर्गको उत्थान गर्दै लैजानुपर्छ। समाजवाद समाजका हरेक तप्का र वर्गका निमित्त मिल्ने हुनुपर्दछ। अन्यथा एकांगी बन्न पुग्छ।

नेकपा नेता वामदेव गौतमले “दुई–पाँच वर्षमै समाजवाद ल्याउन सकिन्छ, केही गाह्रै छैन’’ भन्नुभयो। तर, समाजवाद कुनै नेता या राजनीतिक दल विशेषले चाहेर अथवा घोषणा गरेका भरमा आइहाल्ने होइन। यसका निश्चित वैज्ञानिक प्रक्रिया र चरण छन्।

हामीले चाहेको समाजवाद कसरी आउँछ ? कस्तो प्रकृतिको हुन्छ ? राम्रो विश्लेषण नगरी समाजवाद–समाजवाद भट्याएर केही हुन्न। समाजवादका केही चरण छन्। जस्तै, पहिलो, दोस्रो, तेस्रो या एकवर्षे, दुईवर्षे, पाँचवर्षे आदि आवधिक योजना बनाउनुपर्छ।

सिद्धान्त पनि प्रयोग गर्न जाने गतिलो अस्त्र बन्न पुग्छ। सिद्धान्तलाई जनजीविका तथा जनआकांक्षाका सबालमा नजोड्ने हो भने त्यो कोरा सिद्धान्तले केही गर्दैन। हाल नेकपालगायतका समाजवाद मान्ने पार्टीहरूको सबभन्दा ठूलो समस्या सिद्धान्तदेखि सिद्धान्तसम्म बहसमा उत्रिने तर जनतासँग आफ्ना सिद्धान्तलाई सापेक्षित बनाउन नसक्नु नै हो।

अहिलेको नेपालको स्थितिमा पहिलो चरणमा राज्य, निजी क्षेत्र र सामाजिक स्वामित्वमा आधारित सहकारीहरूको संयुक्त प्रयासले समाजवादी लक्ष हासिल गर्न सकिन्छ। निजी क्षेत्रमा विद्यमान दलाली पुँजीलाई उत्पादनशील पुँजीमा परिणत गर्दै अघि बढ्नुपर्छ। पुँजीवादको सबैभन्दा ठूलो ताकत निजी क्षेत्र र बजार हो। तर यसलाई उत्पादनशील क्षेत्रका रूपमा विकास गर्नुपर्छ।

समाजवादको भौतिक परिस्थित बाह्य कारणबाट प्रभावित हुन्छ। यद्यपि आन्तरिक कारण पनि उत्तिकै प्रबल रहन्छन्। आधारभूत वर्गको हितका लागि लोककल्याणकारी कार्यक्रम ल्याउनुपर्छ। केही पश्चिमेली मुलुकले यसको अभ्यास गरेका पनि छन्। समाजवादको आधारभूत तत्त्व स्वतन्त्रताको विस्तार हो। मान्छेभित्रका सबै सम्भावनालाई प्रस्फुटन हुन दिने स्थिति सिर्जना गर्नुपर्छ।

वर्तमान विश्वमा भएको व्यवस्था स्थिर रहँदैन। यो आज नभए पनि भोलि परिवर्तन भएरै छाड्छ। यस स्थितिबाट आउने व्यवस्था समाजवाद हो। जलवायु परिवर्तनका कारण मानव जातिको हित प्रतिकूल हुने धेरै गतिविधि भएका छन्। तिनलाई अन्त्य गर्न जरुरी छ।

जलवायु परिवर्तनले ल्याएका संकट एक देश या महादेशले समाधान गर्न सक्ने कुरा होइन; यो त विश्वव्यापी साझा मानवीय समस्या हो। यसको समाधान सामूहिक तवरले निकाल्न सकिन्छ। यसको अर्थ यो हो कि अबको विश्वव्यापी मानवीय संकट हल गर्ने क्रममा पुँजीवादले स्थापित गरेका थुप्रै मूल्यमन्यता र संरचना धराशयी हुँदै जानेछन्।

समाजवाद हासिल गर्नका निमित्त समाजवादी चेतना र समाजवादी नैतिकता अत्यन्त आवश्यक पर्न जान्छ। तर अहिले नेपालमा त्यसैको खडेरी छ। नेपाली राजनीतिमा छाएको चरम अनैतिकता र आपसी अविश्वासको वातावरण व्यापक छ। जबसम्म यसको अन्त्य हुन्न तबसम्म समाजवाद बहसमा मात्र सीमित हुन्छ।

(राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शर्माले राजधानीमा आयोजित ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजवाद’ विषयक गोष्ठीमा व्यक्त विचारको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप