शनिबार, वैशाख ८, २०८१

'गियर' बदलेर निधिले दिन खोजेको सन्देश

निधिको सम्पर्क कार्यालय उद्घाटनमा नजान देउवाले निर्देशन दिएपछि दुई नेताबीचको सम्बन्धमा उत्पन्न भएको विश्वासको दूरी लम्बिएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले एक वर्षअघि नै १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने जानकारी सभापति शेरबहादुर देउवालाई दिइसकेका थिए। तर, महाधिवेशनको तयारी सुरु भइसकेको थिएन। गत असार ५ गते प्रदेश–२ का आफूनिकट नेतालाई बोलाएर देउवाले सभापतिमा आफैँ दोहोरिने निर्णय सुनाए। उनले आफ्नो निर्णय मात्रै सुनाएनन्– आवश्यक तयारीमा जुट्नसमेत निर्देशन दिए।

triton college

लामो राजनीतिक सहयात्राका सारथी विमलेन्द्र निधिले त्यो दिन देउवाको आग्रह स्वीकार गरेनन्। र भनिदिए, ‘तपाईं प्रधानमन्त्री बन्नुहोला। सभापतिमा म उठ्ने निर्णय यसअघि नै तपाईंलाई सुनाइसकेको छु, सहयोग गर्नुहोस्।’ 

देउवाले निधिको आग्रह स्वीकार गरेनन्, र जवाफ फर्काए, 'सभापतिमा लड्ने अधिकार सबैलाई छ। लड्नुस् न त।'

असार ५ को देउवा-निधिको त्यो सवालजवाफपछि नै विद्यार्थी कालदेखिको राजनीतिक सम्बन्ध ‘ग्रे जोन’मा परेको छ। हरेक राजनीतिक निर्णय लिँदा होस् वा तयारी गर्दा नै किन नहोस्, देउवाका भरपर्दा सारथी निधि त्यो छलफलपछि बुढानीलकण्ठ कम्पाउन्डबाट बाहिरए। त्यसयता देउवाले लिएका कुनै पनि राजनीतिक निर्णयमा निधिको सल्लाह लिएका छैनन्। बरु निधिको ‘स्पेस’मा महामन्त्री पूर्णबहादुर खड्कालाई अघि बढाएका छन्। 

'उहाँ (निधि)ले सम्पर्क कार्यालय नै खोलेर घोषणा गर्नुभएको छ। त्यसैले 'म ब्याक हुन्न है' भनेर उहाँले सन्देश दिन खोजेको जस्तो देखिन्छ,’ राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले भने। 

बूढानीलकण्ठको कम्पान्डबाट बाहिरिएपछि निधिले सभापतिमा लड्ने तयारी थाले। चाहे त्यो पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालासँगको चरणबद्ध छलफलका रूपमा होस् वा युवा नेताहरुसँग छलफलकारुपमा नै किन नहोस्, उनले आफ्नो तयारीका लागि कुनै पनि सम्भावनाका ढोका ढकढक्याइरहेका छन्। 

corrent noodles
Metro Mart


असार ५ यता निधिले सभापतिका सबै आकांक्षीसँग छलफल गरेका छन्। केही दिनअघि नेपाल समयसँग उनले भनेका थिए, ‘शेरबहादुरजीलाई मात्रै होइन, रामचन्द्रजी, सिटौलाजी, शशांकजी, प्रकाशमानजी, शेखरजी, गोपालमानजीलगायतका साथीहरूसँग पनि सल्लाह भइसकेको छ। पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग कुरा गरेको छु। सबै जिल्लाका सभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिहरूसँग पनि छलफल भइसकेको छ।’ 

सभापतिमा उठ्ने सन्दर्भमा निधिले जसरी आफ्नो तयारी अघि बढाइरहेका थिए, त्यसमा उनले शुक्रबारबाट 'गियर' परिवर्तन गरेका छन्। थापागाँउस्थित बानेश्वर बैंकटमा सम्पर्क कार्यालय खोलेर उनले आफ्नो तयारीलाई तीव्र बनाउने तयारी गरेका छन्। भव्य कार्यक्रमका बीच सम्पर्क कार्यालय उद्घाटन गरेर उनले पाँच सन्देश दिएका छन्।  

पहिलो सन्देश : 'म ‘ब्याक’ हुन्नँ'

निधिको उम्मेदवारीलाई दिएर धेरै प्रकारका आशंका व्यक्त भइरहेका थिए। कतिपयले उनको घोषणालाई ‘बार्गेनिङ टुल्स’का रूपमा व्याख्या गर्ने गरेका थिए। तर, निधिले 'भव्य' सम्पर्क कार्यालय खोलेर आफू ब्याक नहुने संकेत गरेका छन्। देउवा निकट नेताहरूले निधिले देउवालाई सहजै क्रस गरेर अघि बढ्न नसक्ने विश्लेषण सुनाउँदै आएका थिए। तर, उनले राम्रै 'मास' भेला पारेर कार्यकर्ताको सुझाव अनुसार अघि बढेकाले पछि फर्कन नसक्ने सन्देश दिएका छन्।

छैटौं पटक हेरफेर गरिएको कार्यतालिका अब भने परिवर्तन गर्न नहुने सन्देश निधिले दिन खोजेका छन्। 

‘मैले आम कार्यकर्ताको सल्लाह, सुझाव र हौसलाको जगमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको छु,’ सम्पर्क कार्यालय उद्घाटन  गरेर निधिले आफ्नो दाबेदारी दहर्‍याए। यसलाई ब्याक नहुने संकेतका रूपमा लिन सकिने राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम बताउँछन्। ‘अहिलेसम्म कसैले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्। उहाँ (निधि)ले सम्पर्क कार्यालय नै खोलेर घोषणा गर्नुभएको छ। त्यसैले 'म ब्याक हुन्न है' भनेर उहाँले सन्देश दिन खोजेको जस्तो देखिन्छ,’ गौतमले भने। 

दोस्रो सन्देश : महाधिवेशनको प्रक्रिया सुरु भयो  

निधिले जसरी सम्पर्क कार्यालय स्थापना गरे, आफ्नो दाबेदारी प्रस्तुत गरे, त्यसले महाधिवेशनको प्रक्रिया सुरु भएको सन्देशसमेत दिएको छ। कांग्रेसले पटक–पटक महाधिवेशन कार्यतालिका परिवर्तन गर्दै आएको छ। असार ३० गते केन्द्रीय समितिको बैठकले भदौ १८ गते वडाबाट प्रारम्भ हुने महाधिवेशन मंसिर ९ देखि १३ गते केन्द्रीय तहमा सम्पन्न हुने गरी कार्यतालिका ल्याएको छ। छैटौं पटक हेरफेर गरिएको कार्यतालिका अब भने परिवर्तन गर्न नहुने सन्देश निधिले दिन खोजेका छन्। 

‘पौडल समूहमा रहेका भनिएका नेताहरूसमेत उपस्थित हुनु भनेको म सहकार्यको पक्षमा छु। आउनुहोस्, सहकार्य गरौं भनेर उहाँले सन्देश दिन खोजेको जस्तो देखिन्छ,’ गौतम भन्छन्।  

‘अब १४औं महाधिवेशनको प्रक्रिया सुरु हुँदैछ भनेर उहाँले सन्देश दिन खाजेको देखियो। सम्पर्क कार्यालय खोलेर चुनावी तयारी गर्नुले त्यसको पुष्टि गर्छ,’ राजनीतिक विश्लेषक गौतम भन्छन्।  

तेस्रो सन्देश : आरोप-प्रत्यारोप होइन, सहकार्य 

निधिले आरोपप्रत्यारोप नभएर सहकार्यको नीति आफ्नो प्राथमिकतामा रहेको सन्देश दिने प्रयास गरेका छन्। सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पौडेल पक्षीय जिल्ला सभापतिहरूलाई समेत निम्ता दिनुले आफू सहकार्यको पक्षमा रहेको सन्देश निधिले दिन खाजेको देखिन्छ। ‘पौडल समूहमा रहेका भनिएका नेताहरूसमेत उपस्थित हुनु भनेको म सहकार्यको पक्षमा छु। आउनुहोस्, सहकार्य गरौं भनेर उहाँले सन्देश दिन खोजेको जस्तो देखिन्छ,’ गौतम भन्छन्।  

निधि आफैंले सम्बोधनका क्रममा समेत यही कुरा बोलेका छन्। उनले भनेका छन्, ‘म कसैलाई पराजित गर्न, 'रिटायर' गर्न र असक्षम घोषणा गर्न सभापति उठ्न खोजेको होइन। म मतदातालाई कांग्रेससँग जोड्न उम्मेदवार हुन खोजेको हो।’

चौथो सन्देश : सबल पार्टी निर्माण 

निधिले दिन खोजेको अर्को सन्देश हो– युवा नेतृत्व स्थापित गर्ने र सबल पार्टी निर्माण गर्ने। उनले भनेका छन्, ‘कांग्रेसको क्रियाशील सूची हेर्ने हो भने ३५ प्रतिशत युवा छन्। युवालाई पार्टीसँग जोड्नुपर्ने छ। युवापुस्ता कांग्रेस र देशको नेतृत्वमा आउन सकुन् भनेर सहजकर्ताको भूमिका निभाउन सभापति उठ्न लागेको हुँ।’

उनले संविधानको स्वामित्व ग्रहण गर्ने र जनविश्वास जुटाएर बहुमत ल्याउने इच्छा रहेको सुनाए। ‘हाम्रो नेतृत्वमा बनेको संविधानको स्वामित्व ग्रहण गर्दै मतदातालाई कांग्रेससँग जोड्न म उम्मेदवार हुन खोजेको हो।  महाधिवेशनबाट पार्टीलाई वैचारिक रूपमा प्रष्ट बनाउने हो। जनतामा भरोसा जगाउने हो,’ उनले भने, ‘कांग्रेस गुट-उपगुटबाट माथि उठोस् भन्ने जनताले चाहेका छन्। यही काम गर्न लागि कांग्रेस सभापतिमा उठ्ने तयारी गरेको हुँ।’

पाँचौँ सन्देश : धर्मनिरपेक्षता पक्षधर हुँ, तर हिन्दू धर्मविरोधी होइन

धर्मनिरपेक्षताको वकालत गर्दै आएका निधिले आफू हिन्दू धर्मविरोधी नभएको सन्देशसमेत दिए। ‘कांग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ। संविधानमा धर्मनिरपेक्षताको व्यवस्था छ। तर, यसको मतलब कसैलाई आफ्नो धर्म मान्न बन्देज लगाएको छैन,’ निधिले भनेका थिए। 


औपचारिक कार्यक्रमअघि सम्पर्क कार्यालयमा सनातन धर्मआबद्ध धार्मिक व्यक्तिहरूले पूजाअर्चना गरेका थिए। निधिको सम्पर्क कार्यालयको पूजामा जानकी मन्दिरका महन्थ तपेश्वर दाससहित काठमाडौं उपत्यकामा रहेका पशुपतिनाथ, दक्षिणकाली, सूर्यविनायक, डोलेश्वर महादेव, पञ्चमहालक्ष्मी, बंगलामुखीलगायत मन्दिरका पूजारी सहभागी थिए।

धर्मनिरपेक्षताको वकालत गर्दै आएका निधिले आफू हिन्दू धर्मविरोधी नभएको सन्देशसमेत दिए।

निधिले बिहीबार मात्रै धार्मिक गुरु कमलनयनाचार्यसँग भेटेर आफूले आशीर्वाद लिएको बताए। उनले बौद्ध धर्मका गुरु र मुस्लिम धर्मका मौलानाहरुको समेत आशीर्वाद लिएको बताए। 

विश्लेषक गौतम कार्यालय उद्घाटनमा धार्मिक अनुष्ठान शैलीमा भएका पूजापाठ र निधिको अभिव्यक्तिले धार्मिक स्वतन्त्रताका पक्षमा प्रष्टीकरण दिएको टिप्पणी गर्छन्। ‘त्यहाँ भएका पूजापाठ र उहाँका अभिव्यक्ति धार्मिक स्वतन्त्रताको पक्षमा प्रष्टीकरण दिन केन्द्रित थिए,’ उनले भने। 

देउवालाई चस्का

निधिले तामझामका साथ कार्यालय उद्घाटन गरेपछि देउवालाई भने चस्का परेको छ। लामो समयदेखिका राजनीतिक सहयात्री निधिले सम्पर्क कार्यालय उद्घाटनको तयारी गरिरहँदा देउवाले भने आफू निकटका नेतालाई कार्यक्रममा नजान उर्दी जारी गरेका थिए। देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘सभापतिज्यूले बालुवाटारमा बैठक छ, उपसभापतिले आयोजना गरेको कार्यक्रममा जानु पर्दैन भन्नुभयो।’

निधिको सम्पर्क कार्यालय उद्घाटनमा नजान देउवाले निर्देशन दिएपछि दुई नेताबीचको सम्बन्धमा उत्पन्न भएको विश्वासको दूरी लम्बिएको छ।

त्यसो त निधिले साउन १९ गते देउवालाई भेटेर आफूलाई सघाउन आग्रह गरेका थिए। निधिले देउवालाई भनेका थिए, ‘म सभापति उठ्ने हो। तपाईले सहयोग गर्नुपर्‍यो। सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा आइदिनपर्‍यो।’ 

तर, देउवाले निधिको आग्रह पुनः अस्वीकार गर्दै पुरानै अडान दोहोर्‍याउँदै भनेका थिए, ‘मेरो अन्तिम अवसर हो। यसपटक मलाई सघाउनुस् न। अर्को पटक तपाईं नै त हो।’

केही दिन अघि नेपाल समयसँगको वार्तामा निधिले देउवाले आफूलाई सहयोग गर्नेमा विश्वास गरेका थिए। निधिले भनेका थिए, ‘शेरबहादुरजीलाई विश्वासमा लिने र मनाउने सूत्र मसँग छ। त्यसैले मलाई विश्वास छ, उहाँले मलाई साथ दिनुहुनेछ। उहाँ फरि सभापतिमा लड्नुहुन्छ कि हुन्न उहाँलाई नै सोध्दा भयो। तर, म चाहिँ लड्छु, मेरो कुरा यत्ति हो।’ 

तर निधिको सम्पर्क कार्यालय उद्घाटनमा नजान देउवाले निर्देशन दिएपछि दुई नेताबीचको सम्बन्धमा उत्पन्न भएको विश्वासको दूरी लम्बिएको छ।

प्रकाशित: Aug 27, 2021| 18:24 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...