काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डेडिकेटेड प्रसारण लाइनको माग गरेको छ।
भैरहवामा निर्माणाधीन सो विमानस्थलमा डेडिकेटेड लाइन जरुरी रहेको भन्दै पर्यटन मन्त्रालयले ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्रालयलाई आग्रह गर्दै पत्र लेखेको छ।
ऊर्जा मन्त्रालयले पनि सो विमानस्थललाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन आवश्यक सहयोग गर्ने भएको छ।
आइतबार दुवै मन्त्रालय, सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नागरिक उड्ययन प्राधिकरणका उच्च अधिकारी सम्मिलित बैठकमा विमानस्थल निर्माण तथा सञ्चालनका लागि विद्युत सेवा उपलब्ध गराउन ऊर्जाले अन्तरसरकारी निकायबीच समन्वयका आधारमा प्रक्रिया अगाडि बढाउने बताएको हो।
सो विषयमा सम्बन्धित सरोकारवाला सरकारी निकायले आवश्यक कार्ययोजना बनाई लागू गर्ने र तत्कालै काम सुरु गर्ने सहमतिसमेत भएको छ।
विमानस्थल निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी केही समयभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला यस्तो सहमतिले थप सहजता ल्याउने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए।
मन्त्री भट्टराईले विमानस्थल निर्माणका क्रममा देखिएका समस्या र विद्युत् सेवा लगायतका विषयमा स्थलगत निरीक्षणका क्रममा देखिएका समस्याबारे ऊर्जा मन्त्रालयलाई जानकारी गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४