रुपन्देही- तिलोत्तमा नगरपालिकाले योजना बैंकको शुरुवात गरेको छ। नगरपालिकाले स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्ययले योजना बैंक शुरु गरेको हो। नगरपालिका नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ रणनीतिको साथ अगाडि बढेको छ।
नगरपालिकाले नगरका विभिन्न वडालाई विभिन्न कलस्टरमा बाँडेर योजना बैंक निर्माण गरेको हो। नगरपालिकाका अनुसार वडा नं १७ मा कोल्ड स्टोरसहितको तिलोत्तमा कृषि उपज तथा प्रशोधन केन्द्रको लागि लगानी आह्वान गरेको छ।
यसैगरी वडा नं ६ र ८ मा फोहर मैला प्रशोधन केन्द्र, वडा नं ११ मा ढाक्रेबास पर्यटकीय स्थल, वडा नं १३ मा मासु प्रशोधन केन्द्र, वडा नं १४ सूचना प्रविधि कलेज, वडा नं १३ र १४ मा प्रादेशिक बस पार्क, वडा नं १३ मा अटो भिलेज, वडा नं १० मा औद्योगिक क्षेत्र प्रस्ताव गरिएको छ।
यसैगरी वडा नं ६ मा तिलोत्तमा बिजनेश हब, वडा नं ४ मा बाल उद्यान, वडा नं १ र २ मा वनवाटिका विहार, १३, १४ र १५ मा बाउन्नकोटी वानवाटिकासहित रेलवे सेवा लगायतका क्षेत्रमा लगानी आह्वान गर्नेगरी तयारी थालेको छ।
कसरी बढ्छ योजना बैंकको कार्यक्रम ? तिलोत्तमा नगरपालिका २०७१ सालमा स्थापित नगरपालिका हो। साविकका सातवटा गाविस (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया, टिकुलीगढ) मिलेर बनेको तिलोत्तमा नगरपालिका तीव्र शहरीकरण भैरहेको क्षेत्र हो।
नगरपालिकाले आगामी असोज ९ गते तिलोत्तमा लगानी सम्मेलनको तयारी गरेको छ। नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु सम्मेलनको मुख्य लक्ष्य रहेको नगर प्रमुख वासुदेव घिमिरेले बताए। सम्मेलनमा विभिन्न क्षेत्रका डेढ दर्जन परियोजना लैजाने नगरपालिकाको तयारी छ।
‘आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई अझ व्यापक बनाउने उद्देश्यले लगानी सम्मेलन आयोजना गरिएको हो।’ पत्रकार सम्मेलनमा नगर प्रमुख घिमिरेले भने।
सम्मेलनमा आयोजकसहित संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्ता समेत गरी ५ सय जनाको सहभागिता रहने जनाइएको छ।
सम्मेलनले यहाँ भएका लगानीका अवसरलाई नजिकबाट जान्ने तथा बुझ्ने अवसर दिने बताउँदै नगर प्रमुख घिमिरेले यहाँको निजी क्षेत्र र नेपाल तथा अन्य मुलुकका निजी क्षेत्रबीच नेटवर्किङ विकास गराउन पनि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
‘यो सम्मेलन सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने एउटा सुनौलो अवसर हो । हामीले स्थानीय तथा स्वदेशी लगानीकर्ता एवम् विदेशी लगानीकर्तालाई ऋण दिने अथवा उहाँहरूसँग लगानीका लागि सहयोगी हुन सक्ने बैंक, वित्तीय संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई पनि सम्मेलनमा सहभागी गराउने प्रयास गरेका छौं।’ उनले भने, ‘वित्त परिचालन, व्यवसाय सञ्चालनमा सजिलो पार्ने कुरामा परामर्श दिने तथा मुलुकलाई सहयोग गर्न तत्पर हुने संस्थाहरू पनि सम्मेलनमा सहभागी हुँदैछन् । त्यसले गर्दा मूलतः यो सम्मेलन लगानीसँग सम्बन्धित सबै पक्षको भेटघाट तथा नेटवर्किङको साझा थलो पनि हुनेछ ।’
सम्मेलनका लागि करिव ३० लाख खर्च हुने अनुमान गरिएको छ। यसमध्ये नगरपालिकाको तर्फबाट २० लाख रुपैंयाँ विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ।
सम्मेलनका लागि निजी क्षेत्रसँग सम्बद्ध संघ-संस्थासँग सहकार्य गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले बताए। सम्मेलनमा सहभागिताका लागि मुलुकका विभिन्न स्थानमा अन्तरक्रियासमेत गरिनेछ। लगानी सम्मेलनमा स्वदेशी विभिन्न औद्योगिक तथा व्यापारिक घरनाहरुका साथै भारत, चीनबाट लगानीकर्ताहरु सहभागी हुनेछन्।
स्थानीय तहको निर्वाचनपछि यहाँ विकासका कामले गति लिएका छन्। लगानी सम्मेलनमार्फत् आउने लगानी, पुँजी र ज्ञानले नगर समृद्धिको मार्गचित्र कोर्ने भएकाले यो लगानी सम्मेलन सबैको साझा प्रयास हुने प्रमुख घिमिरेले बताए।
‘यो एउटा सहकारिता, सहकार्य र सह-अस्तित्वको अभियान पनि हो । यो सम्मेलन लगानी जुटाउन आफैँमा एउटा उत्सव हो ।’ उनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४