आइतबार, चैत २३, २०७६

स्वास्थ्य/जीवनशैली समाज

बच्चा अटेरी र झगडालु किन हुन्छन् ?

तपाईंको व्यवहारले निर्धारण गर्छ बच्चाको सिक्ने क्षमता

1574495292inuit_anger.jpg
सन् १९७४ मा टुन्ड्राको बाफिन आइल्यान्डमा इनुइट अभिभावक र बालबालिकासँग मानवविज्ञानी जीन ब्रिग्स (रातो टोपी लगाएकी)।

टुन्ड्राका इनुइटहरूको बालबालिका हुर्काउने परम्परागत शैली निकै सुझबुझपूर्ण र कोमल हुन्छ। यदि संसारभरका लालनपालनका शैली नियालेर शिष्टताका आधारमा वर्गीकरण गर्ने हो भने सम्भवतः इनुइटहरूको तरिका पहिलो नम्बरमा आउला।

सन् १९६० को दशकमा हार्वड विश्वविद्यालयबाट स्नातक गरेका विद्यार्थीहरूले मानिसलाई रिस किन उठ्छ होला भनेर एउटा महत्त्वपूर्ण खोज गरे । तीनैमध्येका एक जीन ब्रिग्सले आर्कटिक सर्कलको यात्रा गरिन् र उत्तर अमेरिकी टुन्ड्रामा १७ महिना बिताइन्।

क्यानाडामा पर्ने उच्च हिमाली भूभाग टुन्ड्रा प्रदेशका वासिन्दा इनुइटहरूको बस्तीमा त्यसबेला कुनै पसल थिएनन्, न सडक नै थिए। जाडो महिनामा तापक्रम शून्यभन्दा धेरै तल (माइनस ४० डिग्री फरेनहाइट) पुग्थ्यो।

‘एन्थ्रोपोलोजिस्ट’मा सन् १९७० मा प्रकाशित लेख अनुसार ब्रिग्स इनुइट परिवारको सदस्य जस्तै भएर त्यहाँ बसिन्।

अधिकांश इनुइट परिवार अझै पनि हजारौं वर्ष पुरानो परम्परागत जीवनशैली अपनाउँछन्। त्यसबेला इनुइटहरू जाडोमा हिउँकै घर (इग्लु)मा बस्थे भने गर्मीमा पालभित्र।

चलचित्र निर्माता तथा भाषा शिक्षक माइना इशुलुतक पनि त्यसबेला इनुइट परिवारमै थिइन् । उनी भन्छिन्, “हामीले माछा, सील र क्यारीबुको मासु खान्थ्यौंं।”

केही दिनको बसाईमा ब्रिग्सले त्यहाँका कुनै पनि वयस्क रिसाएको, क्रोधले कराएको वा झगडा गरेको देखिनन्। उनीहरूमा रिसलाई नियन्त्रण गर्न सक्ने असाधारण क्षमता थियो।

ब्रिग्स भन्छिन्, “उनीहरू मसँग भित्रभित्रै रिसाएका थिए कि, तर कहिल्यै प्रकट गरेनन्।” उनका अनुसार इनुइटहरू थोरै पनि निराशा प्रकट गर्नेे वा रिस देखाउनेलाई कमजोर र अपरिपक्व ठान्छन्।

एक दिन इग्लुभित्रै चुल्होमाथि ताप्केमा चिया उम्लिँदै थियो। हिउँको घरभित्र खाना बनाउनु यसै पनि सहज हुँदैन। त्यसैबेला परिवारका एक सदस्य उछिट्टए, चियाको भाँडो झर्यो र हिउँको भित्ता र भूइँभरी चिया पोखियो।

बरफ पग्लिएर इग्लूमा क्षति पुग्दा पनि कोही रिसाउनु त परको कुरा कसैको अनुहारमा थोरै पनि क्रोधको भाव देखिएन। बरु पोख्ने व्यक्तिले नै ‘कस्तो नराम्रो काम भयो’ भन्दै फेरि चिया बसाले।

इनुइटहरू माछाको शिकार उत्सवपूर्ण तरिकाले गर्छन्। कैयौं दिनसम्म बुनेर जाल तयार पारिन्छ। एक दिन माछा मार्न जाने क्रममा असावधानीवस प्रयोग गर्दा जाल पहिलो पटकमै च्यातियो। तर, कोही पनि रिसाएन। उनीहरू सबै मिलेर त्यसलाई पुनः मर्मत गरे।

ब्रिग्स भन्छिन्, “यसविपरीत, म भने बेलाबेला आफ्नो रिस नियन्त्रण गर्न खोज्दा खोज्दै पनि पोखिन्थें, जंगली व्यवहार हुन्थ्यो मेरो। म एक किसिमको असामाजिक तरिकाबाट आवेगमा आउने गर्थें, जुन उनीहरूले कहिल्यै गरेनन्।”

सन् २०१६ मा संसार छाडेसकेकी ब्रिग्सले उनको पहिलो पुस्तक ‘नेभर इन एङ्गर’मा आफ्ना अनुभव लेखेकी छन्। तर, यो पुस्तकमा केही प्रश्न अनुत्तरित छन्– इनुइटहरूमा यस्तो क्षमताको विकास कसरी भयो त? उनीहरुले कसरी रिसाहा बच्चालाई शान्त र असल वयस्कमा रूपान्तरण गर्छन्?

त्यसपछि सन् १९७१ मा ब्रिग्सले यसको कारण पत्ता लगाइन्।

आर्कटिकको समुद्री तटमा हिँडिरहेको बेला उनले एउटी आमा करिब दुई वर्षको बच्चासँग खेलिरहेको देखिन्। आमा सानो ढुंगा बच्चालाई दिएर भन्दै थिइन्, “यसले मलाई हिर्काउ। बेस्सरी हिर्काउ।”

बच्चाले ढुंगाले ताकेर हान्दा आमाको काँधमा लाग्यो, त्यसपछि उनले भनिन्, “ओहो, यसले त दुख्दो रहेछ!”

ब्रिग्स छक्क परिन्। उनले इनुइट संस्कृतिका बारे जे जानेकी थिइन् त्योभन्दा निकै भिन्न थियो यो क्रियाकलाप। उनी चकित भइन्। वास्तवमा ती आमा आफ्नो बच्चालाई रिस कसरी नियन्त्रणमा लिने भन्ने सिकाइरहेकी थिइन्। लालनपालनको यो तरिका ब्रिग्सले जाने–बुझेकोभन्दा बिल्कुलै फरक थियो।

रिसाउनु कमजोरी मात्रै

क्यानडाको आर्कटिक सहर इकालुइटमा डिसेम्बरको चिसो दिन। दिउँसो २ बजेको छ। घरबाहिर माइनस १० डिग्री फरेनहाइट तापक्रममा हिउँ भुवाजस्तै झरिरहेको छ।

ब्रिग्सको किताब पढिसकेपछि यहाँको लालानपालनको सीपबारे जान्ने उत्सुकताले म समुद्री किनारको यो सहर आएकी हुँ। 

म आठ-नौं दशक पार गरिसकेका ज्येष्ठ नागरिकहरूसँगै दिउँसोको भोजन गर्छु– ताजा सील, फ्रोजन बेलुगा व्हेल र काँचो क्यारिबो। यहाँका पालनपोषण कक्षामा ‘डे केयर इन्स्ट्रकटर’हरूलाई बालबालिका हुर्काउने पुख्र्यौली चलनबारे सिकाइन्छ।

डे केयर बोर्डमा एउटा प्रमुख नियम उल्लेख छ- साना नानीका अगाडि नकराउनु, नरिसाउनु।

उनीहरूले बच्चालाई गर्ने चुम्बन पनि बेग्लै खालको हुन्छ, बच्चाको गालामा नाक राखेर विस्तारै छाला सुघ्ने।

इनुइट संस्कृतिमा बालबालिकालाई गाली गर्नु वा ठूलो आवाजमा कुरा गर्नु राम्रो मानिँदैन। स्थानीय रेडियो कार्यक्रम उत्पादक लिसा इपेली जो १२ भाइबैनीसँगै हुर्किइन्। उनी भन्छिन्, “साना नानीहरूसँग ठूलो आवाज पारेर केही फाइदा हुँदैन, तपाईँको मुटुको धडकन बढ्ने मात्रै हो।”

उनीहरूले हिर्काए वा टोके भने पनि केही नगर्नु?

‘अहँ’ इपेलीले हाँस्दै जवाफ दिइन्।

मैले मुर्खतापूर्ण प्रश्न गरेकी रहेछु भन्ने त उनको हाँसोले स्पष्ट पारिरहेको थियो । “यदि बच्चाले तपाईंलाई सताइरहेको जस्तो लाग्छ भने बुझ्नु पर्छ उसलाई केही चित्त बुझेको छैन वा दुःखी छ। त्यसको कारण पत्ता लगाएर समाधानको उपाय खोज्नुस्।”

इनुइट संस्कृतिमा बच्चालाई गाली गर्नु वा रिस देखाउनु भनेको उसलाई अपमानित गर्नु हो। यस्तो व्यवहार वयस्कले आफ्नो होस गुमाएको र बच्चाकै स्तरमा ओर्लिएको हर्कत मात्रै हो।

अग्रजहरूले मसँगको कुराकानीमा भने, “पछिल्लो शताब्दीमा हाम्रो परम्परामा उपनिवेषवादले क्षति पुर्याएको छ । तर पनि हामी लालनपालनको परम्परागत तरिका कायम राख्न हरसम्भव प्रयास गरिरहेका छौं।”

परम्परा जोगाउने यो अभियानमा गुटा जअ सबैभन्दा अगाडि छन्। आर्कटिक कलेजमा ‘प्यारेन्टिंग’ पढाइरहेकी उनको आफ्नो शैली यति कोमल छ की साना नानीहरूलाई दुव्र्यवहार गरेर कसैले समय खेर फाल्छ भन्ने उनी सोच्न पनि सक्दिनन्।

“साना नानीका अगाडि ठूलो स्वर पार्नु हुँदैन,” जअ भन्छिन्, “यो त साना नानीलाई पढाउने–सिकाउने तरिका होइन, बरु उनीहरूलाई भगाउने तरिका हो। तपाईंलाई रिस उठ्छ भने उनीहरूका अगाडि नपर्नुहोस्।”

“बालबालिकाका अगाडि रिसाउनु भनेको उनीहरूलाई रिसाउन, कराउन सिकाउनु हो,” क्लिनिकल मनोवैज्ञानिक तथा लेखक लौरा मार्कहम भन्छिन्, “बच्चालाई चिच्याएर गाली गर्नु, डर देखाउनु, भनेको उनीहरूलाई त्यसै गर्दा मात्र समस्या समाधान हुन्छ भन्ने भ्रम विकास गराउनु मात्रै हो।”

मैले मार्कहमलाई सोधें, “इनुइटहरूका केटाकेटी यति शान्त हुनु पछाडिको रहस्य बच्चाहरूलाई गाली नगर्ने नीति नै हो त?”

“बिल्कुल,” उनले जवाफ दिइन्।

टाउको झिकेर फुटबल

अब त तपाईंहरूले बच्चालाई गाली गर्नु हुँदैन भन्ने बुझिसक्नुभयो होला। तर, गाली नगरेर, रिस नदेखाएर बच्चालाई कसरी अनुशासित बनाउने त? तीन वर्षको नानीलाई सडकतिर कुद्नबाट कसरी रोक्ने? वा उसको दिदीलाई नहान्न कसरी सिकाउने?

यसका लागि इनुइटहरूले हजारौं वर्षदेखि एउटा चातुर्य शैली अपनाउँदै आएका छन्। “हामी बच्चालाई अनुशासित बनाउन कथा-कुथुङग्री सुनाउँछौं,” जअ भन्छिन्।

जअले भनेको कथा सुन्दर पर कथा होइन, जहाँ बच्चाले कथाको मुख्य सन्देश बुझ्ने दुःख गर्नु परोस्। उनले भन्ने कथा त इनुइटका पुराना कथा हुन्, जसले बालबालिकामा असल व्यवहारका लागि जग बसाल्छन्। स्थानीय परिवेश र जीवनशैलीमा सहयोग गर्ने यस्ता कथाले कठ्यांग्रिदो टुन्ड्रामा जीवन बाँच्ने कला सिकाउँछन्।

उदाहरणका लागि : बच्चालाई समुद्रबाट टाढै रहन कसरी सिकाउने?

‘पानीको नजिक नजाऊ, डुबिन्छ’ भनेर चिच्याउने? होइन।

जअ भन्छिन्, “इनुइट अभिभावक पानीभित्र के छ भन्ने कुरा बताउन विशेष किसिमको कथा रच्छन्। पानीभित्र एउटा ठूलो समुद्री राक्षस छ। साना बच्चा पक्रेर राख्न उसले ठूलो झोला बोकेको हुन्छ। पानीको छेउमा गयौ भने त्यो राक्षसले तिमीलाई त्यही झोलामा हालेर समुद्रभित्र लैजान्छ...।”

जअ भन्छिन्, “यस्ता कथाबाट उनीहरूले समुद्र नजिक नजाने वा अरु के गर्ने के नगर्ने भन्ने सन्देश राम्रोसँग पाउँछन्।”

बच्चालाई अरुसँग आदरपूर्ण व्यवहार गर्न सिकाउनका लागि पनि इनुइटका प्रशस्तै कथा छन्। “आमा-बुबाले भनेको मान्नुपर्छ भन्ने सिकाउन उनीहरूले तयार पारेको ‘इयर मम’ को कथा रोचक छ,” फिल्म निर्माता म्याना इशुतुलक भन्छिन् ।

उनले सुनाइन्, “बुबाले हाम्रो कानभित्र जाँच गर्नुहुन्थ्यो, यदि त्यहाँ फोहोर भेटियो भने त्यसको अर्थ हुन्थ्यो- हामी आज्ञाकारी छैनौं।”

इनुइट अभिभावकले जथाभावी खानु हुँदैन भन्ने सिकाउन पनि कथा नै सुनाउँछन्। “त्यो कथामा कसैलाई नसोधिकन केही खाने बच्चालाई लामो औंला भएको मान्छेले समातेर लैजान्छ।”

जाडो मौसममा टोपी लगाइरहन सिकाउन पनि कथाकै सहारा लिइन्छ। इशुतुलुक भन्छिन्, “सानोमा मलाई भनिन्थ्यो, टोपी नलगाई बाहिर गयो भने उत्तरतर्फ देखिने बत्तीले टाउको निकालेर त्यसलाई फुटबल बनाउँछ। त्यतिबेला हामी टोपी नलगाउने सोच्न पनि सक्दैनथ्यौं।”

सुरुमा यी कथा साना नानीका लागि डरलाग्दा भएनन् र जस्तो लागेको थियो। तर, यस्तै कथा मैले आफ्नी छोरीलाई सुनाएपछि उसको प्रतिक्रिया हेर्दा मेरो सोचाइमा पूरै परिवर्तन आयो। त्यसपछि मैले कथा र मानव जातिबीचको गहन सम्बन्धबारे धेरै कुरा सिक्न थालें।

दन्त्य कथा मानव जातिकै सार्वभौम संस्कृतिका अंग हुन्। जुन हजारौं वर्षदेखि विकसित हुँदै आए। यिनै कथाका माध्यमबाट अभिभावकले आफ्ना नानीलाई सामाजिक मूल्य र व्यवहार सिकाए।

हालसालै दक्षिण–पूर्व एसिया र अफ्रिकाका नौं विभिन्न जनजातिका ८९ कथामाथि गरिएको अध्ययनका अनुसार आधुनिक शिकारी समूहले बाँडेर खाने बानी बसाल्न, महिला र पुरुष दुवैलाई आदर सिकाउन र एकआपसी द्वन्द्व समाधानका लागि कथाकै सहारा लिएको पाइयो।

अध्ययन अनुसार फिलिपिन्सको शिकारी बस्ती अगाटाका वासिन्दाले राम्रा कथा वाचनको सीप भएको व्यक्तिलाई कुशल शिकारी वा वैद्यभन्दा बढी प्राथमिकता दिन्छन्।

अचेल थुप्रै अमेरिकी अभिभावकले साना नानीलाई दन्त्य कथाहरू नसुनाएर स्क्रिनका कथा देखाउन थालेका छन्। तर, त्यसो गर्दा हामीले उनीहरूलाई अनुशासित बनाउने र उनीहरूको व्यवहार परिवर्तन गराउने सरल र प्रभावकारी तरिका छुटाइरहेका छौं।

“मलाई लाग्छ– केटाकेटीहरूले व्याख्या र विमर्श गर्दै सुनाइएका कथाका माध्यमबाट धेरै कुरा सिक्न सक्छन्,” साना नानीहरूले कथालाई कसरी बुझ्छन् भन्ने विषयमा अध्ययन गरिरहेकी भिलानोवा युनिभर्सिटीकी मनोवैज्ञानिक डिना विसबर्ग भन्छिन्।

“हामी आफूलाई रोचक लाग्ने खालको कुराहरूबाट चाडै ज्ञान लिन सक्छौं। स्वभाविक हो– कथाहरु निकै चाखलाग्दा हुन्छन्, तीनमा धेरै रमाइला कुरा हुन्छन्, जुन सामान्य वाक्य गठन वा निर्देशनमा हुँदैनन्।”

विसबर्ग भन्छिन्, “डरलाग्दा संकेत दिने कथाहरूले बच्चालाई चुम्बकजस्तै तान्छन्। र, त्यस्ता कथाहरूले अनुशासन सिक्ने जस्ता तनावपूर्ण गतिविधिलाई बालसुलभ चंचल अन्र्तक्रियामा परिणत गरिदिन्छन्। यसबाट बालबालिकामा साहस आउँछ।”

“कथा वाचन गर्दा नाटकीयपन नछुटाउनुहोस््,” विसबर्ग भन्छिन्, “कथामा बालबालिकाले वास्तविक जीवनमा असम्भव कुरा पनि महसुस गर्न पाउँछन्। बच्चाका लागि यो रमाइलो हुन्छ, वयस्कका लागि पनि।”

किन मलाई पिट्दैनौं?

म्याना इशुतुलक आफू हुर्केको इक्लुइट सम्झिन्छिन्। जहाँको बस्ती करिब ६० परिवारको शिविरजस्तै थियो। उनी किशोरावस्थामा पुग्दा उनको परिवार सण्हरमा सर्यो।

“मेरो सम्झनामा सधैं इक्लुइट रहन्छ। हामी ढुंगा र काठले बनेको सानो घरमा बस्थ्यौं। बिहान ब्यूँझिदा सबै कुरा चिसोले जमेको हुन्थ्यो।”

मैले सोधें, “जीन ब्रिग्सबारे थाहा छ की?”

उनको जवाफले म चकित भएँ।

इशुतुलकले आफ्नो झोलाबाट एउटा पुस्तक निकालिन्। ब्रिग्सले लेखेको त्यो दोस्रो पुस्तक, ‘इनुइट मोरालिटी प्ले’ थियो। जसमा तीन वर्षकी भकुल्ले बालिकाको जीवन ब्याख्या गरिएको छ।

“यो पुस्तकमा म र मेरो परिवारको बारेमा त लेखिएको छ,” इशुतुलकले भनिन्, “त्यो बालिका म नै हुँ।”

१९७० को सुरुवातमा इशुतुलक तीन वर्षकी हुँदा ब्रिग्स ६ महिनासम्म उनको घरमा बसेकी थिइन्।

पुस्तकका अनुसार जब शिविरको कुनै बच्चाले रिस देखाउँथ्यो, कसैलाई पिट्थ्यो वा अनुचित व्यवहार देखाउँथ्यो त्यसबेला सबै चुप लागेर हेर्थे। बच्चा शान्त भएपछि कुनै नाटक देखाइन्थ्यो वा उसलाई कुनै कथा सुनाइन्थ्यो– उसको व्यवहारमा परिवर्तन गराउन।

“यसो गर्नुको मुख्य कारण बच्चामा तर्कपूर्ण र असल सोचको विकास गराउनु नै हो,” ब्रिग्सले सन् २०११ मा सीबीसीलाई भनेकी थिइन्।

संक्षेपमा, आमाबुबाले बालबालिकालाई कसैसँग दुर्व्यवहार गर्यो भने वास्तविक जीवनमा त्यसको परिणाम के हुन्छ भन्ने नाटकबाटै सिकाउँछन्।

सामान्यतया नाटक एउटा प्रश्नबाट सुरु हुन्छ र बच्चालाई दुर्व्यवहार गर्न उक्साइन्छ।

उदाहरणका लागि : यदि बच्चाले कसैलाई पिटिरहेको छ भने आमाले सोध्छिन्, “तिमी मलाई किन पिट्दैनौं?”

त्यसपछि बच्चा के गर्ने भनेर सोच्न थाल्छ। यदि बच्चाले ढुंगा उठाएर आमालाई हान्यो भने कसैले उसलाई गाली गर्दैनन्। ‘ऐया! निकै दुख्दो रहेछ,’ आमाले भन्छिन्।

आमा फेरि प्रश्न सोध्दै र त्यसको परिणाम सुनाउँदै गर्छिन् । जस्तोः ‘के बाबुलाई आमा मन पर्दैन?’ अथवा ‘के तिमी अझै सानै छौं?’

यस्ता प्रश्न सोध्दै नाटकले पिटनु भनेको अरुको भावनामा चोट पुर्याउनु हो र त्यसले कसैलाई फाइदा हुँदैन भन्ने सिकाइरहेको हुन्छ– तर, गम्भीर भएर होइन । बालबालिका जस्तै चचंलतापूर्वक।

इशुतुलक भन्छिन्, “यस्ता नाटकहरूले बच्चालाई सजिलै उत्तेजित हुनुहुँदैन भन्ने पाठ सिकाउँछ। भावनात्मकरूपमा बलियो हुन सिकाउँछ।”

इलिनोइस विश्वविद्यालयका मनोवैज्ञानिक पेग्गी मिलर भन्छन्, “यस्ता नाटकले बालबालिकालाई रिस नियन्त्रण गर्न मात्र होइन, दैनिक व्यवहार गर्न, सोच्न र जीवनमा संतुलन कायम राख्न सिकाउँछन्।”

मार्कहमका अनुसार यदि बच्चाले गलत व्यवहार देखाउन थाल्छ भने ऊ शान्त नभइन्जेल कुर्नैपर्छ । त्यसपछि शान्त वातावरणमा बच्चालाई के भएको रहेछ भनेर बुझ्नुपर्छ। र, समस्या समाधानका लागि एउटा कथा मात्रै पनि प्रशस्त हुनसक्छ।

बच्चाले कसैप्रति दुर्व्यवहार गरिरहेको छ भने उसलाई धेरै प्रश्न सोधेर पनि भुलाउन सकिन्छ। वा त्यसैबेला कुनै चटक वा नौटंकी गरेर बच्चाको ध्यान अर्कोतर्फ तान्न सकिन्छ।

इनुइटहरू भने यस्ता कुरा हजारौं वर्ष पहिलेदेखि अभ्यास गरिरहेका छन्।

नेसनल पब्लिक रेडियोबाट अनुदित । अनुवाद: निरु मगर

प्रतिक्रिया दिनुहोस्