काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदमा प्रश्न गरे, ‘कृष्णबहादुर महरा महा.... हुन् भन्दा के हुन्छ ?
यो प्रश्न उनले आइतबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दा पुरा विवरण नखुलाएर दिग्भ्रमित पार्न खोजिएको तर्फ संकेत गर्दै सोमबार प्रतिनिधिसभा बैठकमा उठाएका हुन्।
मन्त्री परिषदको बैठकको निर्णय सार्बजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ‘राजेन्द्र महतो सहित ८ जनाको नागरिकता खारेज’ भएको जानकारी गराएका थिए। तर कसैको पनि नाम बाहेकको विवरण सार्वजनिक गरिएको थिएन।
सञ्चार मन्त्री बाँस्कोटाले नागरिकता खारेज गरिएका व्यक्तिहरुको पुर्ण बिवरण नदिएपछि राजपा नेता महतोको नागरिकता खारेज गरिएको भन्दै भ्रम फैलाइएको थियो।
संघीय संसदमा बोल्दै नेता महतोले सरकारले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले भ्रम फैलाएको भन्दै माफी माग्नुपर्ने बताएका छन्।
यस्तो थियो नेता महतोको भनाइ‘सम्माननीय सभामुख महोदय, सभामुखमार्फत यो सदनलाई र सम्पुर्ण देशवासीलाई जनाकारी गराउन चाहान्छु, आज भ्रमको खेती सुरु भएको छ, गरिएको छ। त्यस सम्बन्धमा जानकारी गराउन चाहान्छु। सभामुख महोदय हिजोमात्र सरकारका प्रवक्ता तथा सञ्चार मन्त्रीले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता बदर गरिएको छ भनेर मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका छन्।
यो विषयलाइ व्यापक रुपमा प्रचार प्रसार गरिएको छ। त्यो कुन राजेन्द्र महतो हो ? खैत सरकारले यस्तो संवेदनशील विषय, जो राष्ट्रियतासँग जोडिएको छ। सरकारका प्रवक्ताले सार्वजनिक गर्दाखेरी नामसहित ठेगाना नभन्ने र त्यो विषय व्यापक प्रचार हुने यो के हो ? राजपाका सांसद राजेन्द्र महतोको नागरिकता बदर गरिएको हो भन्ने भ्रम फैलाइएको छ।
यसमा सरकारको नियत केहो ? यो सरकार चौतर्फी रुपमा असफल भैरहेको छ। यसमाथि भ्रमको खेती गरेर सरकारले के गर्न खोज्दै छ? चारैतिर असफल सरकारले राजेन्द्र महतोको राष्ट्रवादमाथि प्रश्न उठाउँदै खै गर्न खोजेको हो?
सरकारको नियतमाथि प्रश्न उठेको छ। हैन भने यस्तो महत्वपुर्ण विषय सार्वजनिक गर्दा विचार पुर्याउनु पर्दैन? देशमा राजेन्द्र महतो हजारौँ छन्। त्यो कुन हो सरकारले प्रस्ट पार्नु पदैन?
राज्यले गलत प्रचार गरायो, के हो यो ? यो भएन। भोलि कृष्णबहादुर महरा महा डाँका हो, उसलाई आजीवन कारावास भयो भन्दा त्यो सभामुख कृष्णबहादुर महरा हो भनेर समाचार यायो भने के गर्ने?’
महतोले सभामुखको नाम लिएपछि सभामुख महराले महतोलाई आफ्नै विषयमा केन्द्रित भएर बोल्न सचेत गराएका थिए।
नेता राजेन्द्र महतोले सरकारले नाकाबन्दीमा समेत आफ्नो बदनाम गराउने काम गरेको भन्दै पछिल्लो घटनामा माफी माग्नुपर्ने भन्दै संसद मार्फत् माग गरेका छन्।
याे पनि पढ्नुहाेस्नागरिकता खारेज भएका राजेन्द्र महतो को हुन् ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४