धनगढी- धनगढीका दुई स्थानमा निःशुल्क कपडा बैंक स्थापना भएका छन्। केही युवा तथा व्यवसायीको पहलमा विपन्न वर्गलाई लक्षित गरी कपडा बैंक स्थापना गरिएको हो। बैंकले पुराना कपडा संकलन गर्छ भने नयाँ कपडा निःशुल्क वितरण गर्नेछ।
धनगढीका व्यवसायी गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाखको लगानीमा निर्माण गरिएको कपडा बैँक स्थापना गरिएको हो। यसमा युवा व्यवसायी गजेन्द्र शाही, सूर्यविक्रम भट्ट, देवेन्द्र जोशी लगायत पनि संलग्न छन्। केन्द्रको धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले आइतबार उद्घाटन गरे।
यस्तै धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकको मेयर वड र प्रदेशसभा सदस्य डिल्लीराज पन्तले सोमबार उद्घाटन गरेका छन्।
कपडा बैंकमा एक साता अगाडिदेखि संकलन कार्य जारी भए पनि उद्घाटन गरिएपछि वितरण पनि सुरु गरिएको छ। कपडा बैँकको उद्घाटनपछि प्रदेशसभा सदस्य पन्तले धार्मिक क्षेत्रमा निःशुल्क कपडा बैँक सञ्चालन गरेर हमाल दाजु/भाइले पुण्यको काम गरेको बताए।
‘बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्दत पुगाउने विश्वास लिएको छु,’ उनले भने, ‘सम्पूर्ण धनगढी उपमहानगरवासीलाई प्रयोग गर्न मिल्ने कपडा संकलनमा सहयोग गर्न आग्रह गर्दछु।’
कार्यक्रममा श्याम हमालले सामाजिक कार्य गर्ने उद्देश्यका साथ कपडा बैंक सञ्चालन गरेको बताए। ‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन्।
नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन्,’ हमालले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं।’ कपडा बैंकका सञ्चालक गोपाल हमालले जो कोहीले पनि कपडालगायतका सामान ल्याएर दिन सक्ने बताए।
‘बैँकमा जम्मा भएका कपडा गरिबका लागि मात्र होइन,’ उनले भने, जो कोहीले पनि बैंकबाट आवश्कयताअनुसार लैजान सक्छन्।’ उनले बैंकमार्फत प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाँडालगायतका मानव जीवनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४