काठमाडौ– डाइजेपाम अत्यधिक तनाव, एङ्जायटी जस्ता समस्या कम गर्ने औषधि हो ।
बुप्रेनर्फिन पीडा कम गर्न प्रयोग गरिन्छ, विशेषगरी लागू औषधको कुलत छुटाउन पनि चिकित्सकहरुले यो औषधी सिफारिस गर्छन्। एम्फेटामाइन मनोद्दिपक औषधि हो। स्यूडोफेड्रिन रुघाखोकी, नाक बगेको बेला चिकित्सकले सिफरिस गर्छन् ।
तर, यस्ता औषधि लागू औषध दूव्र्यसनीले चिकित्सकको सल्लाह विना नै लागू औषधको रुपमा जथाभावी प्रयोग गरिरहेको पाइन्छ ।
वरिष्ठ फिजिसियन तथा स्वास्थ्य विभाग इपिडिमियोलोजी महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी यस्ता औषधीहरु जटिल प्रकारका रोगीले चिकित्सकको निगरानीमा मात्र प्रयोग गर्न पाउने बताउँछन् ।
चिकित्सकको सिफारिस बिना बेच्न र प्रयोग गर्न नपाइने यस्ता औषधिको गलत प्रयोग भए बिरामीको अवस्था थप जटिल बन्छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको पछिल्लो तथ्यांकअनुसार मेडिकल ड्रग्सको प्रयोग ११० प्रतिशत वृद्धि भएको छ । गाँजा, चरेस, अफिम, हेरोइन लगायत लागूऔषध महँगो तथा ओसारपसार जटिल बनेपछि लागू औषध प्रयोगकर्ताले फर्मास्यिुटिकल ड्रग्स प्रयोग गर्न थालेका छन् ।
जस्तो रुघा र नाक बगेको रोक्न प्रयोग गर्ने स्यूडोफेड्रिन अत्यधिक मात्रामा प्रयोग गर्ने हो त्यसले लागू औषधको जस्तै काम गर्छ । सहज रुपमा उपलब्ध हुने यस्तो औषधिहरुको चाँडै लत बस्छ र त्यस्ता व्यक्तिहरु चाँडै अझ कडा लागू औषध खोजी गर्न थाल्छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोका निर्देशक डीआइजी दिनेश अमात्य औषधिका रुपमा प्रयोग हुने मेडिकल ड्रग्सको कारोबार र प्रयोगको अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको बताउँछन् ।
अमात्य भन्छन, “कन्ट्रोल मेडिसिन अर्थात् डाक्टरको सिफारिस बिना बेच्न र प्रयोग गर्न नमिल्ने औषधि लागूऔषध प्रयोगकर्ताको हातमा सहजै पुगिरहेको छ । सन् २०१६ को तुलनामा पछिल्लो तीन वर्षमा मेडिकल ड्रग्सको प्रयोग झन्डै ११० प्रतिशतले बढेको छ ।”
लागू औषधि दुव्यर्सनीको पुनस्र्थापना लगायतका काम गरिरहेको संस्था नार्कोनन नेपालका अनुसार नेपालमा पुराना लागू औषध दुब्र्यसनीको संख्या दुई लाख र नयाँ लागूऔषध प्रयोगकर्ता दुई लाख ८५ हजारभन्दा बढी छन् । यो संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ । एक वर्षमा २५ हजार दुव्र्यसनी थपिँदै गएका छन्।
नार्कोनन दक्षिण एशियाका प्रमुख वसन्त कुँवरले नेपालमा वार्षिक २० अर्बको लागूऔषध खपत हुने बताए । उनका अनुसार ८० प्रतिशत अपराध दुव्यर्सनका कारण हुन्छ ।
ब्यूरोमा स्रोत साधनको अभावलागूऔषध कारोबार तथा प्रयोग नियन्त्रणका लागि तीन दशकदेखि लागूऔषध नियन्त्रण ब्यूरो सक्रिय छ । तर, सरकारको प्राथमिकतामै नपरेको यो ब्यूरोमा १५४ जनाको दरबन्दी भए पनि आफ्नै भवनसमेत छैन ।
पूर्वाधार, प्रविधि र जनशक्ति अभाव खेपिरहेको ब्यूरोले कतिपय विषयमा गोप्यतासमेत कायम गर्न सकेको छैन । आफ्नै हिरासत नभएका कारण ब्यूरोले नियन्त्रण लिएका अभियुक्त नजिकै रहेको प्रहरी युनिटमा जिम्मा लगाइन्छ। यसले कतिपय महत्त्वपूर्ण सूचना चुहावट हुने र अनुसन्धानसमेत कमजोर बन्ने ब्यूरोका अधिकारीहरु बताउँछन् ।
ब्यूरोका अनुसार नेपालमा सबैभन्दा बढी लागूऔषध प्रयोग हुने सहर पोखरा हो भने कारोबार हुने नाका वीरगन्ज हो ।
ब्यूरोले देशभर सातवटा स्याटेलाइट युनिट स्थापना गरी अनुसन्धान र कारबाही गर्दै आएको छ । काँकडभिट्टा नाकामा ५ जना मात्र दरबन्दीसहितको स्याटेलाइट युनिट छ भने भैरहवामा ब्यूरोले ४ जनाको भरमा अनुसन्धान गर्दै आएको छ । विराटनगरमा १०, वीरगन्जमा ७, पोखरामा ६, नेपालगन्जमा १० र महेन्द्रनगर नाकामा ६ जनाको स्याटेलाइट युनिट छ ।
अफिम, गाँजा, चरेस जस्ता लागूऔषधको कच्चा पदार्थ उत्पादन हुने कर्णाली प्रदेशमा अहिलेसम्म स्याटेलाइट युनिट स्थापना हुन सकेको छैन ।
लागूऔषधका कारोबारीले खुला सिमानाबाट फर्मास्युटिकल ड्रग्सको ओसारपसार गर्दै आएको ब्युरोले जनाएको छ । कतिपय औषधि पसलले समेत चिकित्सकको सिफारिस बिनै पनि यस्ता औषधिे बेचबिखन गर्दै आएको प्रहरीको भनाई छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४