मंगलबार, चैत १८, २०७६

विचार

द्वन्द्वपीडितको घाउ पुर्ने उपयुक्त समय आएको छ

द्वन्द्वपीडितको घाउ पुर्ने उपयुक्त समय आएको छ

२०५५ साल असारको महिना । पानी परिरहेको थियो । बाबु उठ् उठ् ! अँध्यारोमा एक्कासी आत्तिएको स्वरले मेरो निन्द्रा खुल्यो । के हुँदैछ त्यो पनि यसबेला राति ? सपना र विपना छुट्याउने मौका नै कहाँ मिल्यो र हामीलाई । चारैतिर काला मान्छेहरू हतियार सहित । साँघुरो ढोकामा ओहोरदोहोर, बुटको आवाज मेरो कानमा घरीघरी दोहोरियो सिरानी नजिकैबाट । आमा, बहिनी सुनितालाई उठाउने प्रयास गर्दै हुनुहुन्थ्यो । लगभग एक घण्टा अगाडिमात्रै सुतेकी उनको निद त्यति सहजै खुलेन ।

चौरासी पुग्नुभएको हजुरबुवा सिकिस्त बिरामी । निदाउनु भएकै थिएन । समय भर्खर साढे नौ मात्र भएको थियो । सलाइ कोरेर आमाले बत्ति बाल्नु भयो तर राम्रोसँग बल्न नपाउँदै फु गरेर कसैले निभाइदियो । तीन–चार जना मान्छे, एउटै खाले पोषाकमा मल्याक मुलुक टर्चलाइट बाल्दै आमालाई हप्काउन थाले ।

एक जनाको अनुहारमा टल्किएको त्यो चस्मा, कलिलो बाल मुटु धुकधुक गराउने गरी अगाडि देख्ने गरी बोकेको बन्दुक म कसरी बिर्सन सक्छु र । भर्याङबाट बुटको आवाज झनै बढ्यो, सोधपुछ गर्नु छ, एकछिन हामीसँग जाउँ । यस्तै एउटा वाक्य कसैले बडो नम्र स्वरमा बोल्यो । सायद उसको त्यो आदेश नै थियो, जसको शिरोपर गर्दै तीन चार जनाले चुपचाप खाटमा बसिरहनु भएको बुवालाई ओरालेर भर्याङबाट कोठाबाट बाहिर निकाले । बुबाले कपडा लगाउँछु भन्नुभयो र कपडा लगाउन दलानमा जानुभयो ।

डोरिमा झुण्डिएको सेतो चेक सर्ट, कालो पाइन्ट, ढाका टोपी प्रायः उहाँको दैनिक विद्यालय पोषाक नै हुने गर्दथ्यो । सोही कपडा अनि लामो कालो छाता लिएर निस्कनु भयो । म पनि जान्छु कहाँ लैजान लागेको भनेर आमा भन्दै हुनुहुन्थ्यो।

उनीहरुले पर्दैन, आधा घण्टामा त छाड्दिन्छौं भन्ने जवाफ फर्काए ।

म घरको दलानमा हुँदा बुवालाई आँगनमा पुर्याएका थिए । मैले त्यसपछि भेट्ने मौका नै कहाँ पाएँ र । त्यति नै खेर पूरै सेतो पोषाक लगाएको अर्को अपरिचित मान्छे धन्सारको बार्दलीबाट हामफालेर ओझेल पर्यो ।

मेरो बालापन, रातको समय, त्रास, अविरल वर्षा । के नै गर्न सक्थे र म ? जे हुँदैथियो त्यो डरैडरमा हेरेर बस्न विवश भएँ । बुवाको काखमा सुतेको तीन वर्षको भाइ दिवसलाई केही पत्तो भएन । हजुरबुवा सकिनसकि रुँदै हामी सुत्ने ओछ्यानमा पुग्नुभएछ ।

बुबाको पछिपछि जानुभएको आमालाई फर्काइएछ । ‘हामी घ्याम्पेशालबाट आएका हौं, सरलाई सोधपुछ गरेर भोलि छोडिदिन्छौं’ भनी फर्काएछन् । अत्तालिएको मन लिएर आमा आउनुभयो र भन्नुभयो, ‘बाबु तिमीहरु बस केहि हुँदैन । म लुक्दै बुबाको पछिपछि जान्छु ।’

म केहिबेर त बोल्न पनि सकिनँ । पिँढीबाट भित्र पसेर ढोका बन्द गरेँ। हजुरबुबाको रूवाइले बहिनि सुनिता बिउँझिछन् । भाइ, म, बहिनि, हजुरबुवा सबैजना बुवाको ओछ्यानमा जम्मा भयौ । डरत्रासले भरिएको त्यो कालरात्रिमा रोएर बस्ने बाहेक केहि गर्न सकेनौं ।

हरेक साँझ बुवा बीबीसी सुन्ने गर्नुहुन्थ्यो । त्यस रात पनि बीबीसी सुनेको याद छ मलाई । सर्टवेभ प्रशारणमा बीबीसी विश्व सेवा सुन्न त्यति सहज कहाँ थियो र त्यति बेला । सही समाचार बीबीसीले मात्र भन्छ भन्ने गरिन्थ्यो त्यतिबेला । किलोसेराटु अभियानका खबरले रेडियो नेपालका समाचारमा प्राथमिकता बढी पाउँथे ।

बहिनि र भाइ सुते । हजुरबुवालाई सुत्नका लागि कति पटक भनेँ तर मान्नु भएन । बाहिर पानी झन् झन् बढेर गयो । आमाको पर्खाइमा हजुरबुबा र म निदाउन सकेनौं । बुबा आउनुहुन्छ जस्तो त मलाई लागेको थिएन । पानी परिरहँदा केहि समयको अन्तरालमा दुईपटक ठूलो आवाज आयो । मलाई लाग्यो आकाश करायो तर त्यतिबेला बिजुली नचम्केकोले मलाई कता कता डर लाग्यो । तर मैले न हजुरबुवालाई भने न त बहिनिलाई नै ।

‘बुबालाई कता लग्यो, मैले भेट्टाउन सकिन’ भन्दै निकै बेरपछि आमा आउनुभयो । घ्याम्पेशाल लाने कुरा गरेको छ, म घ्याम्पेशाल जान्छु नआत्तिइ बस्नु भाइ रून्छ होला फकाउनु है भनेर बाटो लाग्नुभो । आमाको यो कुरामा सहमति जनाउनु बाहेक मसँग अर्को के नै उपाए थियो र ।

दिउँसो रोपाइँ थियो हाम्रो । हजुरबुवा बाहेक सबैजना खेतमा थियौँ । थाकेकोले होला म पनि कति बेला निदाएँछु याद भएन ।

बिहान सबेरै उठेर त्यो कालरात्री सम्झिएँ । सिमसिम पानी अझै पनि मकैको पात बजाउँदै थियो । पानीले पनि न हाम्रै दुःखमा आँसु बगाउँदै थियो सायद ।

झिसमिसेमा नै दुहुनु भैसी पनि सायद बुबाकै पर्खाइमा कराएको थियो । बहिनि सुनिता उठेर मझेरीमा झरिन् र सोध्दै थिइन्, बुवा भैसी दुहुन जानुभएको हो ? मसँग जवाफ थिएन । उनी वास्तविकताप्रति अन्योलमा नै थिइन् । मलाई आशा थियो, आमाले बुबालाई भेटेर आउनुहुन्छ भन्नेमा ।

बिहानको सात बजिसकेको हुँदो हो । सधै जस्तो अगेनामा न दूध उम्लियो न चिया नै पाक्यो । पर्खाइमा रहेका हाम्रा आँशुले भिजेका आँखा कसैले देखेको थिएन । खेतबाट भाँचेर ल्याएको सुकेका मकै घरको पिँढीमा राखिएको थियो। बिरामी हजुरवुवालाई त्यो समयले कसरी बलियो बनायो थाहा छैन बिसाएको जिम्मेवारी फेरि थपिदियो ।

एकछिनपछि सिमलबोटबाट ठूलीआमा आएर आमा आइपुग्नुभयो ? भन्दै सोध्नुभयो । मैले छैन भन्ने भावमा टाउको हल्लाएँ । तिमीहरु नआत्तिकन बस । बुबालाई लिएर आउलिन् भन्दै ठूलीआमाले सान्त्वना दिएर जानुभयो ।

घरमा एकपछि अर्को मानिसहरु आउँदै आमा आइपुग्नुभएन भन्दै सोध्न थाले । म जिल्ल परें । राति आमा बुबालाई खोज्दै गाउँका धेरै घरमा पुग्नुभएछ । भक्कानो छुट्यो ।

सबैलाई मेलामा जानुपर्ने हतारो थियो । खाना खाने बेलामा भाइले आमालाई खोज्दै थियो । भाइ सानो भएकोले अनेक बहाना बनाउँदै खाना खुवाएँ ।

दिन अँधेरो थियो तर त्यो भन्दा बढी अँधेरो थियो हाम्रो मन । त्यतिकैमा पर बाँसको झ्याङमा आमा देखिनुभयो । साथमा झोला पनि थियो । आमालाई देख्दा जति खुसी लाग्यो, बुवालाई नदेख्दा त्यति दुःख पनि ।

तैपनि आमालाई त सबै थाहा छ भन्ने लागिरहेको थियो मलाई । केहिबेरमा नै असिन–पसिन अनुहारमा आमाले आँगन टेक्नुभयो । बुबा खै भन्ने प्रश्नमा आमाले पत्ता लगाउन सकिन बावु, कहाँ लग्यो कसैले केही भन्दैन । घ्याम्पेशाल चौकीमा गएर सोध्दा यहाँबाट गस्तीमा हिजो कतै पनि गएका छैनौं, हामीलाई थाहा छैन । ताकुकोटबाट पनि कोही पनि निस्केको छैन । पुलिसले समातेको छैन तेरो मान्छे भन्यो । बाहिर बसेको अर्को पुलिसले जराङमा त हिजो बाघले मान्छे खायो रे नि त भनेर पो सोध्दै थियो ।

मेरो मुटुले ठाउँ छोडिसक्यो म कहाँ गएर खोजुँ ?

आमा आइपुग्नु भएको पाँच सात मिनेट पनि बित्न नपाउँदै दुईजना दिदिहरू हतासिँदै आइपुग्नु भयो र भन्नुभयो, ‘काकालाई त तल खोलामा लडाइ राख्या छ ।’

त्यसपछि आफ्नै सुरमा म खोलातिर बुवाको खोजीमा हामफाल्दै कुदेँ । खोलाको बगर, साना पातीका गाँज अनि बुट्यानले ढाकेकोले मैले कहाँ भनेर खोज्ने भनेर एक पटक अलमलिएँ । ठूलो स्वरमा चिच्याएर रोएँ, बुवा...।

आश अझै मरेको थिएन । घाइते अवस्थामा भए पनि बुवालाई पक्कै भेट्छु जस्तो लागेको थियो । निकै बेर खोज्दा पनि केहि पत्ता लगाउन सकिनँ । कहिले तल कहिले माथि दौडिरहँदा एक्कासी आमालाई मैतिर आउँदै गरेको देखेँ ।

बगर छेउको हरेक खेतको गरा चहार्दै जाँदा लम्पसार अवस्थामा उत्तानो शरीर हँसिलो मुद्रामा दाहिने हातको मुठ्ठी कसिएको अवस्थामा देखेँ । दायाँ आँखा सुन्निएको बायाँ निडर अवस्थामा मैलाई हेरेझैँ लाग्योे । तर कहिले पनि निचिम्लिने गरी हेर्नुभएको जस्तो मलाई भान भएन ।

त्यतिबेलै आमा पनि आइपुग्नु भयो । सकिनसकी आमा त्यो निष्प्राण शरीर उचाल्न खोज्दै हुनुहुन्थ्यो । धेरैबेरसम्म कोही आइपुगेन । आमाले अचानक मलाई सम्झाउन थाल्नुभयो ‘भाइको राम्रो हेरचाह गर्नु, बहिनी ठूली भैसकी, हजुरवा हुनुहुन्छ । म बुवासँगै जान्छु’ । यति भन्दै गर्दा आमाले आफ्नै पटुकी गलामा कस्न खोज्दै हुनुहुन्थ्यो । म पटुकी खोसेर निकै रोएँ ।

घटनास्थल जराङ खोलामा मुचुल्का लिन असार २५ गते साँझ पुगेको प्रहरीले मुखुण्डो र हतियारधारी जत्थाले गोलि हानी मारेको भन्ने कागज तयार पार्यो । आमाले प्रहरीको झुटो विवरण लेखिएको कागजमा हस्ताक्षर गर्न मान्नु भएन । फलस्वरूप प्रहरीले शव पोस्टमार्टम गर्न समेत रोक्यो । प्रहरीकै घेरामा बुवाको पार्थिव शरीर घटना भएको चौथो दिनमात्र दाहसंस्कार गरियो ।

घटना भएको झन्डै एक वर्षसम्म जिल्ला प्रशासन कार्यालय गोरखाले मुखुण्डो र हतियारधारी जत्थाले गोलि हानी मारेको लेखिएको कागजमा हस्ताक्षर गर्न दवाब दिई नै रह्यो । पटक पटक निरक्षर आमालाई झुक्याएर हस्ताक्षर गराउने दुष्प्रयास समेत गर्यो । बुबाको हत्या भएको एक वर्षपछि २०५६ जेठमा प्रहरीले फेरि आक्रमण गर्यो । ८२ वर्षका बिरामी हजुरबुवा अनि आमालाई लछारपछार पार्दै यातना दियो । बिहानीको समयमा स्थानीय छरछिमेकले थाहा पाएपछि थप अप्रिय घटना हुनबाट जोगियो । त्यसपछि हामीले सपरिवार आफ्नै घर छोड्नुपर्यो ।

२०५५ असारमा गोरखा जिल्लामा प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारी थिए भने डीएसपी पशुपति उपाध्याय । घ्याम्पेशाल प्रहरी चौकीका इन्चार्ज आनन्द मरहट्टा थिए । राज्यको नेतृत्वमा नेपाली कांग्रेस नेता (स्व.) गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । राज्यविरुद्ध युद्धको घोषणा गर्ने तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल थिए ।

बुबा श्री सूर्यज्योती माध्यमिक विद्यालय, ताकु (कोट),पाल्खुमा स्थायी शिक्षक हुनुहुन्थ्यो । तत्कालिन सरकारले विद्रोही माओवादी विरुद्ध संचालन गरेको प्रहरीको किलो सेरा टु अपरेसनले नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्यहरुलाई माओवादी विचारको समर्थक भएकै आरोपमा हत्या गर्ने योजना अघि ल्याएको रहेछ । सोहि योजना अन्तर्गत पाशविक हत्या शृंखलाको पहिलो निशाना बुबालाई बनाइएको रहेछ । सम्भवतः जनयुद्ध सुरुवात भएपछि राज्यपक्षबाट मारिने पहिलो कार्यरत शिक्षक बुबा नै हुनुहुन्थ्यो ।

माओवादी द्वन्द्व सकिएर शान्ति सम्झौता भएको पनि १३ वर्ष पुगिसकेको छ । तर, संक्रमणकालीन न्यायको प्रक्रिया अझै टुंगिएको छैन । न्यायका ढोकाहरु बन्द गरिएका छन् । केहि मान्छेका दरबार ठडिरहँदा हामी उजाडिँदै छौं ।

यो त बाइसौं वर्षको सुरुवात हो । हामीले एक्काइस वर्ष निरन्तर न्यायकै पर्खाइमा बिताइसकेका छौं । युद्धले नष्ट गरेको भौतिक संरचना कुनै दिन पैसा खर्च गरेर पुनर्निर्माण हुनसक्ला, तर मान्छेको जीवन फर्किने वाला छैन । युद्धपछिको यो युगमा हामि जो बाँचिरहेका छौं । यो बाँच्नेहरुको युग हो । राजनीतिक दलका नारा र भाषण वक्तव्यमा झुन्डिने सहिदका सपना मात्र शाब्दिक आदर्शका पंक्ति हुन् । यहाँ मर्नेहरुको सपना कुल्चिएर जिउँदाहरुले रजाइँ गर्ने परिपाटी बसाइएको छ । युद्धको नियमविपरित निर्मम हत्या र बेपत्ताका घटनामा प्रत्यक्ष संलग्न दोषीहरु नै हिजोदेखि आजसम्म उसैगरि सत्ता, शक्ति र नेतृत्वको छहारीमा रसास्वादन गरिरहेका देखिन्छन् ।

माओवादी सशस्त्र युद्धमा ज्यान गुमाएकाका परिवार, बेपत्ता भएका व्यक्तिका परिवार, टुहुरा, अपांग आदिले के पाए त ? यो प्रश्न २०६३ सालमा जति ज्वलन्त थियो, अहिले पनि त्यत्तिकै छ । द्वन्द्वपीडित अझै पीडामै छन्। परिवारका सदस्य बेपत्ता पारिएकाहरू आफन्तको पर्खाइमा छन्।

अहिले तत्कालिन माओवादी विद्रोहका नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड सरकारकै नेतृत्व गरिरहेको राजनीतिक दलको पार्टी अध्यक्षको हैसियतमा छन् । युद्धमा पिल्सिएका तटस्थ, निरीह र निर्दोष सर्वसाधारणले न्यायका निम्ति निर्धक्क आवाज उठाउन पाउनु पर्ने र राज्यले जवाफदेही बन्नुपर्ने यो नै नेपालको इतिहासमा नै सबै भन्दा उत्तम समय खण्ड हुनुपर्छ । यतिबेला अरु कसैलाई दोष दिएर पन्छिने चेष्टा कतैबाट हुन्छ भने यो भन्दा ठूलो घात पनि अर्को हुनेछैन ।

(लेखक द्वन्द्वपीडित हुन्)

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप