१. भारतमा बढ्दो वित्तिय संकट र न्युन औद्योगिक उत्पादनका कारण व्यय क्षमतामा ह्रास आउने वित्त विष्लेशकहरुले जनाएका छन्। भारतीय महालेखा परिक्षकको कार्यालयका अनुसार भारतीय वित्तिय क्षति बढ्दै गएर चालु आर्थिक वर्ष २०१९–२० को अप्रिल–जुन त्रैमासिक खण्डमा ६२.८ अमेरिकि डलर पुग्न गएको छ।
२.अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी संघीय वित्त प्रणाली नियमनकारी संस्था फेडरल रिजर्वका प्रमुखलाई वित्त बजारको ब्याज–कटौती चक्रबारे ढिलो गरी जनाउ दिएकोमा तिब्र आलोचना गरेका छन्। उक्त संस्थाका प्रमुख जेरम पवेलले भरखरै गरेको ब्याज कटौतीको निर्णयप्रति राष्ट्रपति ट्रम्प रुष्ट देखिएका हुन्। यो निर्णय सन २००८ देखि यताको पहिलो निर्णय हो।
३. अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन् भने, अन्य तीन जना घाइते भएका गृह मन्त्रालयको स्रोतले जनाएको छ। अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार काबुलको एक प्रहरी चौकीलाई लक्ष्य गरेर सो बम राखिएको थियो। राजधानी काबुलको पञ्जसाद भन्ने स्थानमा रहेको एक प्रहरी चौकीलाई लक्ष्य गरेर राखिएको बम विस्फोट भएर त्यस चौकीमा कार्यरत दुईजना प्रहरी अधिकारी मारिएका छन्।
४. आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए। अमेरिकी प्रशारण संस्था एनबीसी न्यूजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेको जनाएको छ। तर ती अधिकारीहरुले हम्जाका बारेमा थप विवरण दिन अस्वीकार गरेका छन्।
५. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ। उहाँहरुबीच द्विपक्षीय व्यापार र रुसको साइबेरियाको डढेलोको विषयमा कुराकानी भएको ह्वाइट हाउसले बुधबार जानकारी दिएको छ । राष्ट्रपति ट्रम्पले साइबेरियामा लागेको भीषण डढेलोप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको थियो। साथै दुबै मुलुकबीचको व्यापारका विषयमा पनि छलफल भएको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
६. इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा केन्द्रित रहेको दाबी गर्दै आएको छ। तर अमेरिका र साउदी अरेबीया, इजरायल समेतका खाडी क्षेत्रका केही मुलुकले इरानले गोप्य रुपमा आणविक हतियार निर्माण गरिरहेको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी विदेशमन्त्री जरिफले विदेशमन्त्रीको रुपमा नभई इरानी ‘प्रपोगन्डा’ मन्त्रीका रुपमा काम गरिरहेको बताएको ह्वाइट हाउसका एक उच्च पदाधिकारीले बताएका छन्।
७. सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ। यस आक्रमणमा परी दर्जनौं व्यक्ति घाइते भएका चिकित्सकहरुले बताएका छन्। यमनको राजधानी शहर कब्जा गरेर बसेका हुथी विद्रोही समूहले एडेनको पश्चिम भागबाट २० किलोमिटर टाढा रहेको अल जाला शिविरमा ड्रोन र ब्लालिस्टिक क्षेप्यास्त्रद्वारा आक्रमण गरेका थिए।
८. अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ। छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि रुवान्डाले सीमा बन्द गरेको हो। कंगोका राष्ट्रपतिको कार्यालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा रुवान्डाले एकपक्षीय रुपमा नाका बन्द गरेको उल्लेख छ। त्यहाँ दैनिक जीवनयापनका लागि स्थानीय मानिसहरु सीमावर्ती शहरमा ओहोरदोहोर गर्ने प्रचलन छ। कंगोले मानिसको दैनिक जीवनमै असर पार्ने गरी सीमा बन्द गरेको भन्दै आपत्ति जनाएको छ।
९.बेलायतको एउटा क्रयशक्ती मापक सर्वेक्षण गर्ने संस्था पीएमआईले उत्पादनशील औद्योगिक क्षेत्र वर्ष कै न्युन अंकबाट गुज्रिरहेको बताएको छ।
उक्त सर्वेक्षणका अनुसार चालु महिना जुलाईमा त्यस क्षेत्रको अंक ४८.ण् मा रहेको देखाएको छ। यस्तो अवस्था आउनुमा बेलायतले युरोपेली संघ छोडेर आफ्नो स्वायत्त अर्थतन्त्रमा केन्द्रित हुनका लागि गरिरहेको प्रयत्न ब्रेक्जिटका कारण बताइएको छ।
१०. भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले एक नाबालिकालाई बलात्कार गरेको आरोपमा उत्तर प्रदेशका आफ्ना एक संसदलाई पार्टिबाट निस्कासन गरेको कुरा उक्त दलले बताएको छ। पीडितका परिवार र विपक्षी दलले कुलदीप सेङर नामका उक्त संसदको मनोदशा नै ति नाबालिकालाई हत्या गर्ने रहेको भनी भाजपाको आलोचना गर्दै आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४