काठमाडौं - मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लव समूहले आगजनी गरी क्षति पुर्याएको छ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा आगजनी भएको हो। बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विप्लव समूहले नै आगजनी र तोडफोड गराएको जानकारी दिँदै अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताए।
प्रहरीले दिएको जानकारीअनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो।
सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी
विप्लव समूहले सुदूरपश्चिमका १० वटा एनसेल टावरमा आगजनी गरेको छ। कैलाली, डोटी, डडेल्धुरा, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा विप्लव समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।
कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र डडेल्धुराका एक/एक टावरमा आगजनी गरिएको खबर प्राप्त भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तारायणी प्रसाद लम्सालले जानकारी दिए।
कैलालीमा धनगढी उपमहानगरपालिका-६, जानकी गाउँपालिका- २ र ४, गोदावरी नगरपालिका वडा नम्बर ९ मालाखेतीमा रहेको एक टावरमा आगजनी भएको छ । आगजनीबाट टावरमा रहेका विभिन्न उपकरण, जनेरेटर र कन्ट्रोल बक्स लगायतका समान जलेको प्रहरीले जनाएको छ ।
यस्तै प्रदेशकै सबैभन्दा ठुलो डडेल्धुराको काफलीगाडमा रहेको टावरमा पनि आगजनी गरिएको छ। डडेल्धुरामा एनसेलका १५ वटा टावर रहेका छन्। अछामको विनायक नगरपालिका वडा नम्बर ३ मा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ। १८ टावर रहेको डोटीमा एउटा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ३ मा रहेको एनसेलको टावरमा गयराति आगजनी गरिएको हो। तर कञ्चनपुर, दार्चुला, बैतडी र बाजुरामा एनसेलका टावरमा आगजनी गरिएको विषयमा भने सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ।
बुधबार विप्लव समूहले मुलुकका विभिन्न २१ जिल्ला बन्दको आह्वान गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४