इटहरी- प्रदेश १ को सुदूर पुर्वोत्तर जिल्ला ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराई संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भएकोमा प्रदेश १ का पर्यटन व्यवसायीहरु उत्साहित भएका छन्।
नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ समितिका पर्यटन संयोजक भविश श्रेष्ठले भट्टराई पर्यटन मन्त्री भएकोमा समग्र प्रदेश १ खुशी भएको बताए।
विराटनगरबाट पहिलोपटक २०७५ मंसिर ८ गते व्यवसायिक माउन्टेन फ्लाइट गराउने समूहका श्रेष्ठले भने, ‘प्रदेश १ पर्यटनमा सम्भावना भएर पनि राज्यमा नेतृत्व अभाव भएको समयमा भट्टराई पर्यटन मन्त्री बन्नु खुसीको कुरा हो।’ नेपाल भ्रमण वर्ष २०२० आउँदै गर्दा प्रदेश १ को पर्यटन प्रबद्र्धनमा भट्टराईको आगमनले धेरै पर्यटनकर्मी उत्साहित भएको श्रेष्ठले बताए।
धरानको सेछ ट्राभलिङकी संचालिका तथा सुनसरी उद्योग वाणिज्य संघकी सदस्य एलिना मगरले योगेश भट्टराईको पर्यटकीय भिजन राम्रो भएकोले प्रदेश १ ले धेरै आशा गरेको बताइन्। उनले भनिन्, ‘ताप्लेजुङको पाथीभराका सद्भावना दूत बनाउने, पाथीभरासम्म पुग्ने केवलकार बनाउनेजस्ता काममा देखाएको सक्रियताले उहाँमा पर्यटकीय भिजन छ भन्ने देखिन्छ। यी काम प्रदेश १ र देशमै महत्वपूर्ण छन्।’
पाँचथरको फिदिमबाट पहिलोपटक २०७५ मंसिर ७ गतेदेखि र्याफ्टिङको व्यवसायिक प्रारम्भ गरेका दिपेन्द्र तुम्बापो योगेश भट्टराई आएपछि पूर्वमा आशा जागेको बताउँछन्। नेपाल समयसँग कुरा गर्दै तुम्बापोले भने, ‘हाम्रो छिमेकी जिल्लाको माननीय पर्यटन मन्त्री भएकोमा खुसी लागेको छ। विश्वको तेश्रो अग्लो हिमाल भएर पनि आरोहणदेखि पदयात्रामा ओझेलमा छ। उहाँको पालामा यसले पिकअप लेओस्।’
ताप्लेजुङबाटै बग्ने तमोरमा हुने विश्वस्तरीय र्याफ्टिङको राज्यस्तरको प्रचार र ताप्लेजुङको उत्तरी नाका ओलाङचुङगोला खोलेर स्थलमार्गबाट चिनियाँ पर्यटन प्रदेश १ मा ल्याउन आशा गरेको तुम्बापोले बताए।
काठमाडौंका व्यवसायीले काठमाडौंका पायक क्षेत्रहरुमा मात्रै पर्यटकहरु घुमाउने र राज्यले पनि त्यही ध्यान दिने प्रथा अन्त्य गर्दै काठमाडौं बाहिरका सबै प्रदेशमा पर्यटकीय चहलपहल बढाउन मन्त्री भट्टराईको ध्यान हुनुपर्ने तुम्बापोले बताए।
धनकुटाको होटल असोसिएसन अझ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले पूर्वका आशालाग्दा युवा नेता पर्यटन मन्त्री भएकोले पूर्वेली व्यवसायीहरु खुशी भएको बताए। उनले भने, ‘उहाँको पालामा स्थानीय सरकारका पर्यटन समितिदेखि प्रदेश सरकार र संघीय सरकारका पर्यटनजन्य समिति र संस्थाहरुको काम चुस्त होस भन्ने आशा छ।’
भट्टराईले प्रदेश १ को पर्यटन बुझेकोले अब प्रदेश १ को पर्यटनमा क्रेज आउन सक्ने रुम्दालीले बताए। उनले भने, ‘उहाँ समग्र देशको पर्यटन मन्त्री भए पनि पर्यटनमा प्रदेश १ लामो समयदेखि पछि परेकोले खास ध्यान दिनुहुने आशा छ।’
इटहरी होटल व्यवसायी संघका अध्यक्ष तथा प्रदेश १ को पर्यटन प्रबद्र्धन समितिका सदस्य जीवन पराजुलीले योगेश भट्टराई संघीय पर्यटन मन्त्री बनेपछि प्रदेश १ का व्यवसायीहरुमा उत्साह आएको बताए।
‘प्रदेश १ कै नेता पर्यटन मन्त्री बनेपछि प्रदेश १ का पर्यटनका एजेन्डाहरुको सम्बोधन हुने आशा छ’, पराजुलीले भने, ‘विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेदेखि, उत्तरी नाका खोलेर चिनियाँ पर्यटन ल्याउनेदेखि थुप्रै कामहरु छन्। जुन राज्यतहबाट मात्रै सम्भव छ। यसमा योगेश भट्टराईसँग हाम्रो आशा छ।’
प्रदेश १ चीनको स्वशासित क्षेत्र तिब्बतदेखि तीन भारतीय राज्यहरु बिहार, पश्चिम बंगाल र सिक्किमको सँधियार भएकोले यी क्षेत्रबाट पर्यटकहरु प्रदेश १ मा ल्याउन मन्त्री भट्टराईले राज्यस्तरबाट पहल गर्ने आशा र विश्वास भएको पराजुली बताउँछन्। उनी भन्छन्, ‘मन्त्री नभइकन इटहरीका दुई ठूला होटल उद्घाटन गर्न आउनु भएका भट्टराईका पर्यटकीय भिजनहरु सुनेकाले यी कामहरु उहाँबाट हुने आशा गरेको छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४