काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रिपरिषद्का असफल मन्त्रीहरुसँग पनि कार्य योजना सम्झौता गरेका छन्।
मन्त्रीहरुको कार्य योजना कार्यान्वयन अवस्थाको आधारमा उनीहरुको मूल्याङ्कन हुँदै आएको छ। अनलाइनमार्फत मन्त्रिपरिषद् कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले मूल्याङ्कन गर्छ। जसमा आधा दर्जन जति मन्त्रीहरु फेल भएका थिए।
फेल भएका मन्त्रीहरुलाई परिवर्तन गर्ने मन्त्री आफैंले बताउँदै आएका छन्। तर, ती मन्त्रीहरुसँग पनि बुधबार कार्य योजना सम्झौता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौता गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्धितर्फ अगाडि बढाउन निर्देशन दिए।
‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई निर्देशन दिए।
जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दाबी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि प्रधानमन्त्रीले सबैको ध्यानाकर्षण गराए।
विकास, निर्मााणको कामलाई सहज ढंगले अघि बढाउने गरी जनताले बहुमतको सरकार बनाएको स्मरण गर्दै सोही अनुकूलतालाई ध्यानमा राखेर विकास, निर्माणको काममा तीव्रता दिनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीले बताए।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्य सम्पादन सम्झौता गर्ने कामको सुरुवात गरिएको छ। प्रधानमन्त्री ओलीले सरकारको सो अभियानलाई सफल बनाउन सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४