काठमाडौं– मोरङको रंगेलीमा सुस्तमनस्थितिकी किशोरी बलात्कृत भएको घटना पैसाको लेनदेन गरी दबाउने प्रयास भएको छ।
प्रहरीले घटनाका बारेमा थाहा पाएपछि लेनदेन रोकिएको हो। १६ वर्षीया किशोरीलाई ललाईफकाई बलात्कार गरेको घटना २४ दिनसम्म पीडित पक्षलाई लेनदेनको लोभ देखाएर गुपचुप राखिएको हो।
गाउँका अगुवा र भद्रभलाद्मीले बलात्कारपीडित बालिकाका परिवारलाई एक लाख ५० हजार रुपैयाँ दिने भन्दै ढाकछोपको प्रयास गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिए ।
घटना गत असार २० गतेको हो। किशोरीलाई रंगेली नगरपालिका ९ का २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रीन्स अधिकारी र २३ वर्षीय सुनिल चौधरीले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
घटनापछि गाउँमा छलफल बोलाइएको र पैसा लेनदेन गरेर घटना गुपचुप राख्ने भनेर कागज समेत गरिएको कार्कीको भनाई छ। पैसा लेनदेन हुनुअघि नै थाहा पाएका कारण अनुसन्धानको दायरामा ल्याइएको कार्कीले जानकारी दिए।
अन्नपूर्ण पोस्टका अनुसार घटनामा संलग्न मध्ये मगर र अधिकारी पक्राउ परेका छन्। चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४