शुक्रबार, वैशाख ७, २०८१

इतिहासमै निकम्मा कांग्रेस केन्द्रीय कार्यसमिति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरे पार्टीमा इमानदार र स्पष्ट वक्ताका रूपमा चिनिन्छन्। २०४६ पछि एकपटक जलस्रोत मन्त्री भएका घिमिरे जनआन्दोलन २ पछि संविधानसभामा प्रमुख सचतेक थिए । यतिबेला कांग्रेस नेतृत्वसँग सन्तुष्ट छैनन् । पार्टीमा हिन्दु अभियानको अगुवाइ गर्दै आएका घिमिरेसँग नेपाल समयले गरेको कुराकानीको सम्पादित अंश-
 
कांग्रेस महाधिवेशन अनिश्चितजस्तै बनेको छ, यसमा सभापति देउवाको व्यक्तिगत चाहना हो कि, अरू नै केही छ ?
 
महाधिवेशन भएको चार वर्ष पुगिसकेको छ । विधानअनुसार अरू एक वर्ष अवधि थप्न सकिन्छ। हाम्रो विधानअनुसार क्रियाशील सदस्यता नवीकरण लगायतका प्रक्रिया पूरा गर्न एक वर्ष लाग्छ। त्यो प्रक्रिया सुरु गर्न नै धेरै ढिला भइसक्यो। यो केन्द्रीय समितिले राम्रो गरी काम गर्न सकेन। सभापतिज्यूले विभागहरू गठन गर्नै सक्नुभएन।

चार वर्षसम्म नबनेका कार्यसम्पादन समिति र विभाग अहिले बनाउँछु भन्नुमा कुनै तुक छैन। पार्टीमा ऊर्जा जागरण गर्नका लागि आगामी फागुनमा महाधिवेशन गर्नैपर्छ । अहिलेदेखि प्रक्रिया सुरु गर्ने हो भने पनि वैशाख–जेठसम्म महाधिवेशन गर्न सकिएला । सबै कुरा छोडेर १४ औं महाधिवेशनतर्फ केन्द्रित हुने हो भने पार्टीमा नयाँ ऊर्जा उत्पन्न हुन्छ। 

त्यसो भए महाधिवेशन सर्ने भयो? 
​​​​​​
सार्नकै निमित्त जागरण अभियान चलाइएको कुरा त जगजाहेर छ। किनभने सुरुमै तीन चरणको अभियान घोषणा गरियो । जबकि पहिलो चरणको मूल्यांकन गरेपछि मात्रै अर्को चरणमा गर्ने वा नगर्ने, गरे पनि कसरी गर्ने भन्ने रणनीति बनाउनुपथ्र्यो । 

अहिलेसम्म नेतृत्वका गतिविधि हेर्दा महाधिवेशन अझै एकडेढ वर्ष सार्ने प्रपञ्च गरिएको जस्तो देखिन्छ । जुन पार्टी र मुलुककै लागि हितकर छैन । 

यसले पार्टीभित्रको लोकतन्त्रमा पनि असर पार्छ? 

पारिसक्यो नि । नेकपाको सरकार बनेको डेढ वर्ष भयो। सरकारले गरेका जनविरोधी काम र भ्रष्टाचारको फेहरिस्त छ । राष्ट्रिय मुद्दामा बहस हुनै सकेको छैन । यस्ता विषयलाई कांग्रेसले संसदमा व्यापक बहस गर्न र जनतासामु सशक्त ढंगले उजागर गर्न सक्नुपथ्र्यो । हामी त्यसमा चुकिरहेका छौं।  सरकारको क्रियाकलापबाट जनता निराश भएका बेला आशा जगाउने काम कांग्रेसले गर्नुपथ्र्यो । यहाँ त के भइरहेको छ भने जसरी सरकारको अवस्थामा गिर्दो छ, सँगसँगै प्रतिपक्ष पनि भासिँदैछ । 

कुनै पनि पार्टीमा नलागेको सामान्य नागरिकले सरकारबारे जे प्रतिक्रिया दिन्छ, प्रतिपक्षबारे उसले दिने प्रतिक्रिया पनि त्यही नै हुन्छ । 
४१ जना युवा नेता केन्द्रीय कार्य समितिमा छन्, तर गलत भइरहेको छ भनेर बोल्ने निकै कम छन् । कम्तीमा युवा नेताहरुले मात्रै कहाँकहाँ गल्ती भइरहेको छ एकस्वरमा औंल्याउन सकेको भए अहिलेको अवस्था आउने थिएन । 

प्रतिपक्षी दलको यो अवस्था आउनुमा शीर्ष नेतृत्व मात्रै जिम्मेवार छ ? 

सभापतिको हैसियतमा देउवाजी मुख्य जिम्मेवार हुनुहुन्छ। त्यसपछि उपसभापतिहरु, महामन्त्रीहरु, पदाधिकारी र सिंगो केन्द्रीय कार्यसमिति जिम्मेवार छ। पञ्चायतकालदेखि अहिलेसम्मको इतिहासमा यति निकम्मा केन्द्रीय कार्यसमिति कहिल्यै पनि थिएन।
 
४१ जना युवा नेता केन्द्रीय कार्य समितिमा छन्, तर गलत भइरहेको छ भनेर बोल्ने निकै कम छन् । कम्तीमा युवा नेताहरुले मात्रै कहाँकहाँ गल्ती भइरहेको छ एकस्वरमा औंल्याउन सकेको भए अहिलेको अवस्था आउने थिएन । 

भनेपछि युवा पनि परम्परागत नै भए? 

उहाँहरुको कमजोरी कहाँ रह्यो, सशक्त आवाज उठाउनबाट केले छेक्यो त्यसको जवाफ उहाँहरुले नै दिनुहोला । अहिले सरकार काण्डैकाण्डमा डुबेको छ । ३३ किलो सुन तस्करी प्रकरणदेखि निर्मला हत्या काण्डसम्मका गुथ्थी सुल्झेका छैनन् । वाइडबडी, एन सेल, ललिता निवास जस्ता प्रकरणसम्म सरकार मुछिएको छ । 

नेपाली कांग्रेस जस्तो पार्टीले यस्ता मुद्दामा एक दिन पनि संसद् अवरुद्ध गरेन। लाउडा प्रकरणमा एमालेले ५६ दिन संसद् अवरुद्ध गरेको हामीलाई थाहा छ नि । 

यस्ता प्रकरण त कांग्रेससँग ठोक्किन पुगेपछि सेलाउँछन् रे नि? 

ठोक्किएकै कारण सेलाएको भने त जोसँग ठोकियो ती पनि गलत हुन् भनेर बुझ्नुपर्छ । देउवाजीसँग ठोक्किएकै कारण कुनै प्रकरण सेलाउनु भनेको त पार्टीका लागि झन् ठूलो नोक्सानी हो । यसबारे अझ चर्को स्वरमा बोल्नुपर्छ ।

दैनिक पत्रपत्रिका हेर्नुस्, कुन दिन सरकारले सिंहदरबार नै बेचिदिन्छ भन्ने खालका टिप्पणी आइरहेका छन् । प्रधानमन्त्री ओलीबाट केही आशा थियो। तर उहाँंले तुक्का हानेर जग हँसाउने बाहेक केही गर्न सक्नुभएन।

निर्मला पन्तका हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्नसक्छ भन्दिनुभयो, काठमाडौंमा मास्क लगाउने मानिस सरकार विरोधी हुन् भन्नुभयो । प्रधानमन्त्री जस्तो पदमा रहेको मान्छेले जे पायो त्यही बोल्दै हिँड्ने हो ?


 
कांग्रेसभित्रको समीकरणले पनि यस्ता मुद्दा उठाउन कमजोरी भएको हो कि ? 

सबैभन्दा ठूलो कुरा पार्टी रहे पो गुट रहन्छ। कांग्रेस पार्टी रहनुपर्‍यो अनि पो त्यहाँ गुट रहन्छ।
 
कांग्रेसभित्र विकृति आएको ०७० सालदेखि हो।  त्यसबेलाको चुनावमा टिकट वितरण गर्दा ठूलो विकृति भित्रियो। पछिल्ला तीनवटै तहका निर्वाचनमा त ठूलो चलखेल भयो। त्यसले आमकार्यकर्ता निराश हुन पुगे । टिकट पाएर चुनाव हार्नु एउटा कुरा हो तर, टिकट पाउनकै निम्ति रकम लेनदेन भएको थाहा पाएपछि त कार्यकर्ता मात्र होइन मतदातामा निराशा आउने नै भयो । त्यसकारण हामीले चुनाव हार्‍यौं।
 
फेरि, हारको कारणबारे केन्द्रमा समीक्षा भएन । हारको जिम्मेवारी सभापतिका नाताले शेरबहादुरजीकै हुन्छ । भारतमा कांग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी पराजयको जिम्मेवारी लिँदै राजीनामा दिए त। देउवाजीले पनि राजीनामा दिनुपर्छ भन्ने मेरो आशय होइन तर, जिम्मा त लिनुपर्‍यो नि ।
 
तपाईंहरु धर्म निरपेक्षताविरुद्ध धावा बोल्दै हुनुहुन्छ भन्ने आरोप लागिरहेको छ नि ? 

हिन्दुत्व लोकतन्त्रसँग जोड्न मिल्ने विषय होइन। अहिले संसारमा ७१ वटा  राज्यले क्रिस्चियन धर्म मानेका छन। त्यस्तै मुस्लिम धर्म मान्ने ५१ र बौद्ध धर्म मान्ने राज्य नौ वटा छन् ।
 
त्यसो भए, राजतन्त्र र क्रिस्चियन धर्म दुवै मानिरहेको बेलायतमा लोकतन्त्र छैन? त्यहाँ क्रिस्चियन धर्मभित्र राजा वा रानी नै प्रमुख हुने व्यबस्था छ। प्रधानमन्त्री पनि त्यही धर्मकै हुनुपर्छ ।
 
नेपाललाई किन धर्म निरपेक्ष बनाइयो भन्ने सन्तोषजनक उत्तर कतैबाट आउन सकेको छैन । यो षड्यन्त्र मात्रै थियो भन्ने प्रष्ट भइसकेको छ । जनआन्दोलनमा पनि धर्म निरपेक्षताको नारा उठेकै थिएन ।
 
धर्म निरपेक्ष राज्य बनाउनमा कांग्रेसले पनि हस्ताक्षर गरेको हैन र ? फेरि विरोध किन ?
 
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा छलफल नै नगरी धर्म निरपेक्षता  लादियो। २०६३ साल जेठ ४ गते बसेको पुनस्र्थापित प्रतिनिधिसभाले पारित गर्न तयार पारेको दस्तावेजमा सुरुमा धर्म निरपेक्ष भन्ने उल्लेख थिएन। । तर पारित भएर आउँदा धर्म निरपेक्ष भनेर आयो । त्यो कसले थप्यो? धर्म निरपेक्षता त षड्यन्त्रपूर्वक छिराइएको हो ।
 
त्यसलगत्तै बसेको कांग्रेसको ३१ सदस्य केन्द्रीय समितिको बैठकमा २७ जनाले धर्म निरपेक्षताको विरोध गरेका थिए। विश्वका अति नै लोकतान्त्रिक भनिने मुलुकले निश्चित धर्म मान्न हुने तर, एकमात्र हिन्दुराष्ट्र नेपालले नहुने ? फेरि 'हिन्दु राष्ट्र' भनिँदा पनि अन्य धर्म वा अरु कसैलाई केही बिगारेको थिएन ।
 
तत्कालीन प्रधानमन्त्रीकै भाषामा यो संविधान 'बुलेट गति' मा जारी भएको हो। संविधानसभाले संविधान बनाउँदा प्रत्येक धारामा बहस र मतदानपछि मात्रै जारी हुनुपथ्र्यो । तर हाम्रोमा त 'हुन्छ भन्नुस्' र 'हुँदैन भन्नुस्' भनेरै टुंग्याइयो । त्यसै गर्ने भए त संविधानसभा नै किन चाहिन्थ्यो र ?

अब महाधिवेशनमा हिन्दुत्वलाई पनि एजेन्डा बनाउनुहुन्छ? 

महाधिवेशनमा यो कुरा उठ्छ । संविधानबाट 'हिन्दु राष्ट्र' जसरी षड्यन्त्रपूर्वक हटाइयो, त्यसलाई करेक्सन गर्नैपर्छ । अब यसबाट पछाडि हट्ने कुरै छैन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...