काठमाडाैं- गत बैशाखमा सञ्चालन भएको कक्षा १२ को परिक्षाको नतिजा तीन महिनापछि आज सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डले सोमबार (आज) बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ ।
आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको शुद्धता परीक्षण गरिएको छ । परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ ।
अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो । यो वर्ष अघिल्लो वर्षभन्दा केही दिनअघि नतिजा सार्वजनिक गर्ने भएको हो ।दुई वर्षअघिसम्म साइन्स समुहको नतिजा सार्वजनिक गर्ने र अन्य विषयको असोजसम्म लाग्ने गरेको थियो ।
यस वर्ष कक्षा १२ को परीक्षा बैशाख १५ गतेबाट सुरु भएर २६ गते सकिएको थियो । जसमा ४ लाख २८ हजार ५२ जना परिक्षार्थी सहभागी थिए । राष्ट्रिय परिक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका विद्यार्थी परिक्षामा सामेल छन् ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
नतिजा सार्वजनिक भैसकेपछि राष्ट्रिय परीक्षा बोर्डको
www.neb.gov.np र नेपाल टेलिकमको
www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा
१६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत
१६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४