काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले सहमति भएका केही विभागको आज टुंगो लगाउने भएको छ।
यसका लागि ३२ वटा केन्द्रीय विभागको नेतृत्वबारे छलफल गर्न नेकपाको सचिवालय बैठक आज बस्न लागेको छ । यद्यपी स्कुल बिभागको नेतृत्वका बारेमा विवाद भएपछि बैठक सर्दै आएको छ।
स्कूल विभागको नेतृत्वमा गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ । दुई नेताको दावी भएपछि दुई अध्यक्ष मध्ये एकले स्कुल बिभागको नेतृत्व लिने आन्तरिक तयारी छ।
तीन वटा आयोगमा भने सहमति जुटेको उच्चस्रोतले जानकारी दियो।
तीनवटा आयोगमध्ये दुई अध्यक्ष पूर्वएमाले र एउटा पूर्वमाओवादीले पाउने समझदारी भएको छ । यी आयोगका अध्यक्ष पार्टीको पदेन स्थायी कमिटी सदस्य हुन्छन् ।
अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा.पुष्प कँडेल प्रस्तावित छन् भने निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचनको नाम प्रस्ताव गरिएको छ । आजै यसको घोषणा हुने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४