जनकपुरधाम- धनुषास्थित हंसपुर नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद उग्ररुप लिएको छ। स्थानीय तह निर्वाचन भएको केही दिनपछि सुरु भएको दुई जनाबीचको विवाद अझै साम्य हुनसकेको छैन।
मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाबीचको विवाद साम्य नभएपछि अहिले दुबैजनाले छुट्टाछुट्टै ठाउँमा कार्यालय सञ्चालन गरेका छन्। मण्डल र झाबीचको विवादपछि एउटै नगरपालिकाको दुई कार्यालय सञ्चालन भएको हो।
मेयर मण्डलले नगरपालिकाको हंसपुरको बेल्ही चोकमा कार्यालय सञ्चालन गरेका छन् भने उपमेयर झा बघचौडास्थित साविकको कार्यालयमा बसेर कार्यसम्पादन गर्दै आइरहेकी छिन्।
उपमेयर झा बघचौडा टोलवासी हुन्। कार्यालय बेल्ही चोकमा लगिए पनि बोर्डमा भने बघचौरा नै लेखिएको छ। मेयर र उपमेयर छुट्टाछुट्टै कार्यालय खालेर बसेपछि सेवाग्राही समस्यामा परेका छन्।
उपमेयर झाले मेयरले नियमविपरित साविकमा बघचौरामा रहेको कार्यालय सारेको आरोप लगाएकी छिन्।
‘साउन ३ गते राती ९ बजे मेयरले चारेर कार्यालय सार्यो,’ उपमेयर झाले भनिन्, ‘कानुनत भएको भए राती किन लानु पर्यो ? दिउँसै लगे भइहाल्थ्यो नि ?’ मेयरले तानाशाही लाद्न खोजेको उनको आरोप छ।
यता मेयर मण्डलले भने आफूहरुले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर बेल्ही चोकमा कार्यालय सञ्चालन गरेको बताए।
साविकको कार्यालयमा ठाउँ अपुग भएपछि बेल्ही चोकमा कार्यालय सार्नुपरेको उनको भनाइ छ। बेल्हीमा सारिएको कार्यालयको साइनबोर्डमा बघचौरा किन लेखेको प्रश्नको उत्तरमा उनले भने, ‘नगरपालिकाको केन्द्र हामीले सारेका होइनौं। केन्द्र अझै बघचौचरा नै छ। तर सेवाग्राहीलाई कठिनाई भएकोले यहाँ कार्यालयमात्र सञ्चालन गरेका हौं।’
उपमेयर झा साविककै कार्यालयमा बस्दै आइरहे पनि नगरपालिकाका सम्पूर्ण कर्मचारी भने नयाँ सारिएको कार्यालयमा बसेर काम गर्दै आइरहेका छन्।
मेयर मण्डलको निर्देशनमा सबै कर्मचारी बेल्ही चोकमा सारिएको कार्यालयमा बस्ने गरेको उपमेयर झाको आरोप छ। ‘बघचौरामा कार्यालय हुँदा मेयरलाई मनोमानी गर्न समस्या थियो। त्यसैले कानुन मिचेर अन्यत्र कार्यालय सारेका हुन,’ उपमेयर झाले भनिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४