शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तथ्याङ्क भन्छ : १३२ गाउँमा छोरी नै जन्मेनन्, अधिकारी भन्छन् : यसमा सत्यता छैन

तथ्याङ्क भन्छ : १३२ गाउँमा छोरी नै जन्मेनन्, अधिकारी भन्छन् : यसमा सत्यता छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - यसैहप्ता केही अघि भारतको उत्तराखण्ड राज्यस्थित १३२ गाउँहरूमा गत तीन महिनामा कुनै पनि बालिकाको जन्म नभएको भन्ने विवरणहरू सार्वजनिक हुँदा चिन्ता व्यक्त हुनुका साथै यस विषयमा सरकारले अनुसन्धान थालेको छ।

उत्तरकाशी क्षेत्रका ती केही गाउँहरूमा छोरीको जन्म नभएको भन्ने विवरणहरू आएका थिए। जुन क्षेत्रमा ५५० गाउँ र ५ वटा नगरमा झण्डै चार लाख मानिसहरूको बसोबास छ। र त्यहाँको भूगोल पहाडी र दुर्गम छ।

खासगरि गैरकानुनी रुपमा लिङ्ग पहिचान गरी हुने गर्भपतनका कारण देखिएको लैङ्गिक असन्तुलनको समस्याबाट ग्रस्त भारत जस्तो देशमा त्यस्तो समाचारले ठूलै चर्चा र चिन्ता निम्त्याउनु असामान्य होइन।

सत्य के हो?

तर त्यस्तो समाचार विवरण पूर्ण रुपमा सत्य भने होइन।

उक्त विवरणमा उल्लेख भएअनुसार गत ‌एप्रिल र जुन महिनाकोबीचमा त्यहाँका १३२ वटा गाउँमा २१६ जना बालकको जन्म भएको थियो भने कुनै पनि बालिकाको जन्म भएन।

तर अधिकारीहरूले सोही अवधिमा अन्य १२९ गाउँमा १८० जना बालिकाको जन्म भएको र कुनै पनि बालक नजन्मिएको तथ्याङ्क फेला पारेका छन्। त्यसैगरी अरू १६६ गाउँमा ८८ बालिका र ७८ बालकहरू जन्मिएका थिए।

हिसाब गर्ने हो भने उत्तरकाशीमा एप्रिल र जुन महिनाकोबीचमा कुल ९६१ बालबालिकाको जन्म भएको अभिलेख छ। ती मध्ये ४७९ बालिका र ४६८ जना बालकहरू छन् भने बाँकीको सम्भवत: जन्मने बित्तिकै मृत्यु भएको हुन सक्छ। यो संख्या १००० जना पुरुषको तुलनामा १०२४ जना महिला रहेको उक्त जिल्लाको लैङ्गिक अनुपातसँग सहजै मेल खान्छ। जुन अनुपात राष्ट्रिय औसतभन्दा उच्च नै छ।

भारतमा महिला पुरुषको राष्ट्रिय औसत ९३३ महिलाका तुलनामा १००० पुरुष रहेको छ।

अधिकारीहरू भन्छन् उत्तरकाशीका गाउँहरूमा तीन महिनामा कुनै बालिकाको जन्म नै नभएको भन्ने विवरणलाई संचारमाध्यमहरूले स्वयंसेवी स्वास्थ्य तथ्याङ्क संकलनकर्ताहरूबाट लिई आफूखुशी छानेर प्रस्तुत गरेका हुनसक्छ।

करिब ६ सयजना त्यस्ता स्वयंसेवकहरूलाई ती क्षेत्रमा गर्भवती महिला, शिशुको जन्मको अभिलेख राख्‍नुका साथै खोप र परिवार नियोजनका कार्यक्रम संचालन गर्ने जिम्मा दिइएको थियो।

सो जिल्लाका वरिष्ठ सरकारी अधिकारी आशिष चौहानले बीबीसीसँग कुरा गर्दै छोरी नजन्मिएको गाउँ भन्ने समाचारलाई गलत रुपमा अर्थ्याइएको आफूलाई लागेको बताएका छन्। उनले यस तथ्यका पछाडिको सन्दर्भलाई बुझ्ने प्रयास नगरिएको भन्दै आफूले यसबारेमा छानबिनको आदेश दिएको पनि बताए।

२६ जना सरकारी अधिकारीहरू तथ्याङ्क पुष्टि गर्न र वास्तवमै केही समस्या पो छ की भनेर बुझ्न ८२ वटा विभिन्न गाउँहरूमा गएका छन्।

तथ्याङ्कको प्रस्तुतिमा त्रुटि कहाँनिर भएको हुन सक्ला?

पहिलो सम्भावना त्यो विवरण नै गलत वा अपूरो हुन सक्छ र स्वास्थ्य स्वयंसेवकहरूबाट त्रुटि भएको हुनसक्छ। एउटा गाउँमा छोरी मात्रै अर्को गाउँमा छोरा मात्रै भनेर गणना गरिएको पनि हुन सक्छ।

दोस्रो, उत्तरकाशीको जनसङ्ख्या एकदमै पातलो छ। एउटा गाउँको औसत जनसङ्ख्या ५०० जति हुनसक्छ र केही दुर्गम गाउँमा त १०० जना मानिसहरू मात्र बसोबास गर्ने पनि छन्। स्वास्थ्य अधिकारीहरू भन्छन् एउटा सानो गाउँमा १०-१५ वटा घर हुनसक्छन् र त्यस्तो प्रकारको गाउँहरूमा एकथरी लिङ्गका मात्रै शिशुको जन्म भएको तथ्याङ्कले "खासै ठूलो" अर्थ राख्दैन।

"यदि थुप्रै गाउँहरूमा छोरीको जन्म नै नभएको भए उक्त जिल्लाको लैङ्गिक सन्तुलनमा नकारात्मक प्रभाव पर्ने थियो," चौहानले भने।

स्थानीय बासिन्दाहरू त्यहाँ छोरा र छोरीमा भेदभावको कुनै इतिहास नरहेको दाबी गर्दै आफ्नो जिल्लाको राम्रो समग्र लैङ्गिक अनुपातमा जोड दिने गर्छन्।

हिन्दुस्तान टाइम्स पत्रिकासँग कुरा गर्दै एकजना स्थानीय महिला रोशनी रावतले भनिन्,"छोराको जन्म होस् की छोरी, हामी खाली भगवानसँग नवजात शिशु स्वस्थ र खुशी रहोस् भनेर प्रार्थना गर्छौं।"

त्यस क्षेत्रमा पुरुषको दाँजोमा महिलाले बढी मेहनत गर्नुपर्छ। खेतमा काम गर्ने, घाँस काट्ने, गाई दुहुने, खानेकुरा पकाउने, घरको सबै काम गर्ने सबै महिला नै हुन्। पुरुषहरूमा मदिराको अम्मलको समस्या चर्को देखिएको छ।

अधिकारीहरू भन्छन् केही वर्षदेखि तिनीहरूले उकति जिल्लामा महिला भ्रूणहत्या सम्बन्धी तथ्याङ्क संकलन गरेका छैनन्। जिल्लामा तीनवटा अल्ट्रासाउण्ड उपकरणहरू छन् र ती सबै सरकारी क्लिनिकहरूमा रहेका छन्।

आशिष चौहान भन्छन् त्यहाँ थोरै जनसङ्ख्याका कारण नाफा नहुने हुँदा ठूलो स्तरमा गैरकानुनी गर्भपतन सेवा उपलब्ध भएको देखिँदैन।

तर यहाँ एउटा उदेक लाग्दो कुरा पनि देखिन्छ।

एप्रिल र जुन महिनाकोबीचमा भएको ९६१ जन्म मध्ये २०७ घरैमा सुत्केरी भएको अभिलेख छ। ती मध्ये १०९ बालक र ९३ बालिका रहेका छन्। जुन तथ्याङ्कले जिल्लाका समग्र लैङ्गिक सन्तुलन अनुपातलाई नै तरंगित पारिदिएको छ। जिल्लाका एकजना वरिष्ठ चिकित्सा अधिकारी चन्दनसिंह रावत भन्छन् "यो बुझ्नै नसकिने तथ्याङ्क भएको छ। यस विषयमा हामीले थप अनुसन्धान गर्नुपर्छ।"

अब केही समयपछि नै उत्तराखण्डका "नजन्मिएका छोरीहरू" का बारेमा थप जानकारी प्राप्त हुने अपेक्षा गर्न सकिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।