सिन्धुली : अविरल वर्षापछि दूधौली नगरपालिका–१४ मा बाढीले घर बगाएको छ। स्थानीय कोप्चे खोलामा आएको बाढीले स्थानीय आइतसिंह तामाङको गोठ, भान्साघर र किराना पसल बगाएको हो।
बाढीले तामाङको घर गोठसँगै पसल र घरका सामान भाँडाकुडा, लत्ताकपडासमेत बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।
तामाङको बाढीबाट रु. ३२ लाख बराबरको क्षति भएको उनले जानकारी दिए। घर बाढीले बगाएपछि तामाङका चार जनाको परिवारलाई स्थानीय लक्ष्मण कटुवालको घरमा राखिएको प्रहरीले जनाएको छ।
यस्तै निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण सोही ठाउँमा धेरैका घरगोठ जोखिममा पर्नुका साथै खेतीयोग्य जग्गा बगाएको प्रहरीले जनाएको छ।
जिल्लामा अहिलेसम्म ११३ घरपरिवार सबैभन्दा बढी बाढीपहिरोको उच्च जोखिममा रहेका उपरीक्षक सिंहले जानकारी दिए।
बाढीपहिरोका कारण घर उच्च जोखिमा पर्नेको सङ्ख्या थपिँदै गएको र अहिलेसम्म पूरै विवरण आइनसकेको उनले बताए। अहिलेसम्म प्राप्त जानकारीका आधारमा ७० घर पूर्णरुपमा क्षति भएका र ६२२ घरमा आंशिक क्षति पुगेको बताइएको छ। रासस
सिन्धुलीमा यसवर्ष बाढीपहिरोका कारण पाँचको ज्यान गएको, तीन जना अझै बेपत्ता रहेका र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४