इटहरी : चीनको सिचुवान प्रान्तस्थित एक कम्पनीको निमन्त्रणामा प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिय प्रसाद कुसियैत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) सहित नौ जना चीन प्रस्थान गरेका छन्।
सिचुवानस्थित साङ्दोङ हुआजिया वाटर को. लिमिटेडको निमन्त्रणमा भ्रमणमा जानेमा तीन सांसद, दुई सचिव, एक उद्योगी र एकजना मुख्यमन्त्री सचिवालय सदस्य रहेका छन्।
भ्रमण टोलीमा सांसद त्रय सर्वध्वज साँवा, तेजमान कन्दङ्वा र बिन्दिया कार्की रहेका छन्। त्यस्तै दुई कर्मचारीहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि रिजाल र सहसचिव टिकादत्त राई र प्रदेश उद्योग वाणिज्य संघ प्रदेश १ समितिका उपाध्यक्ष राजेन्द्र राउत र मुख्यमन्त्री शेरधन राईका स्वकीय सचिव मकर खड्का रहेका छन्।
दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा सात दिने भ्रमणको लागि नेपाली टोली त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बुधबार पौने पाँचको उडानबाट छेन्दु विमानस्थलय प्रस्थान गरेको छ।
गत जुलाई ३ र ४ मा प्रदेश १ आएको चिनिँया टोलीले नेपाली टोलीलाई पनि चीनको औद्योगिक क्षेत्रको भ्रमणमा आउन निम्ता दिएको थियो।
चीनमा आफ्नो कम्पनीले साना, मझौलादेखि ठूला औद्योगिक ग्रामहरु बनाएको भन्दै नेपालमा पनि यस्तै बनाउन सकिने पत्रमा उल्लेख गरेको छ। चीनको सिचुवान प्रान्तको साङ्दोङ हुआजिया वाटर को. लिमिटेडको आमन्त्रणमा नेपाली टोली जुलाइ २५ देखि एक हप्तासम्म छेन्दुमा रहने निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ।
प्रदेश उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र राउतलाई पत्र लेख्दै साङ्दोङ हुआजिया वाटर को. लिमिटेडले भनेको छ, ‘जुलाइ २५ मा तपाईहरुको चीनमा आगमन हुने र छेन्दु वरपरका विभिन्न ठाँउहरुमा एक हप्ताको भ्रमण हुनेछ।’ भ्रमण दलको सबै खर्च चीनको निजी क्षेत्रले बेहोर्ने पत्रमा उल्लेख गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४