जनकपुरधाम – प्रधानमन्त्री मुलुकका अभिभावक भए झैं मुख्यमन्त्री प्रदेशका अभिभावक हुन्। मुख्यमन्त्रीले देखाउने व्यवहार र उनको कार्यशैलीको प्रभाव धेरै हदसम्म सरकारका मन्त्रीहरुमा परेको हुन्छ। सरकार प्रमुख इमानदार भए मातहतका मन्त्रीहरु पनि इमानदार बन्न बाध्य हुन्छन्। यसैगरी सरकार प्रमुख शालीन, शिष्ट र सभ्य भए मन्त्रीहरुको व्यवहारपनि त्यसैखाले हुने गर्दछ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत शिक्षित र शालीन रहेको सर्वसाधारण नागरिकले मूल्यांकन गर्दै आइरहेका थिए। हुनपनि सार्वजनिक कार्यक्रम होस वा व्यक्तिगत भेटघाट उनी शालीन रुपमा प्रस्तुत हुने गरेका छन्।
तर पछिल्लो पटक सार्वजनिक भएको एक भिडियोले राउतको शालीन छविलाई धुमिल्याई दिएको छ। युट्युबको लागि एक अनलाइनले लिएको अन्तरवार्तामा राउतले प्रयोग गरेको अशिष्ट र अभद्र शब्दले मुख्यमन्त्री जस्तो व्यक्तिले यसरी शब्द चयन गर्नु दुर्भाग्यपूर्ण रहेको भनि टिप्पणी हुन थालेको छ।
एकजना अन्तरवार्ताकारको प्रश्नको उत्तरमा अशिष्ट र अभद्र शब्दको प्रयोग गरेर मुख्यमन्त्री राउतले आफ्नो मात्र नभएर सम्पूर्ण प्रदेशकै प्रतिष्ठामाथि आँच पुर्याउने काम गरेका छन्।
राउतले अन्तरवार्ताका क्रममा प्रयोग गरेको अशिष्ट भाषाप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। प्रदेशका मुखियाजस्तो व्यक्तिले यसरी अभद्र भाषा प्रयोग गर्दा सम्पूर्ण प्रदेशकै गरिमा गिराउने कार्य भएको भन्दै उनको आलोचना भइरहेको छ। यद्यपि यस्ता आलोचनाबारे मुख्यमन्त्री राउतले भने आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन्।
राउतले अभद्र भाषा प्रयोग गरेको भिडियो सार्वजनिक भएको केही दिन नबित्दै उनकै सरकारका अर्का एकमन्त्रीको उस्तै खाले भिडियो बाहिर आएको छ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवल किशोर साह आफ्नै मन्त्रालयमा बसेर अशिष्ट भाषा प्रयोग गरेको भिडियो बाहिर आएको छ। आफूनिकट केही व्यक्तिहरुसँग कुराकानीको क्रममा उनले मैथिली भाषाको गाली नै प्रयोग गरेर अशिष्टता प्रदर्शन गरेका छन्। साहले प्रयोग गरेको भाषा निकृष्ट शैलीको रहेको भन्दै व्यापक आलोचना भएको छ। मन्त्री साह यसअघि पनि एसईईको क्रममा एकजना निरीक्षकलाई दलित भनेर हेला गरेपछि विवादमा मुछिएका थिए।
केही दिनको अन्तरालमा प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीले प्रयोग गरेको अशिष्ट भाषाका कारण समुचा प्रदेशवासीले लज्जाबोध गर्नुपरेको भन्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने मागसमेत सामाजिक सञ्जालमार्फत उठ्न थालेको छ।
यसरी प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले अशिष्ट भाषाको प्रयोग गर्नु कतै हतास मानसिकताको उपज त होइन भनि प्रश्न उब्जिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...