जनकपुरधाम – नक्कली सवारी अनुमति पत्र बनाउने दुईजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ। नक्कली सवारी अनुमति पत्र बनाई गाउँघरका मानिसहरुलाई बेच्दै हिँडेको अवस्थामा प्रहरीले उनीहरुलाई धनुषाको हंसपुर नगरपालिकाबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हंसपुर नगरपालिका–६ बस्ने ३४ वर्षीय अलिअकबर मंसुर र धनुषाको औरही गाउँपालिका–६ बस्ने २४ वर्षीय सब्जान मंसुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
काठमाडौंमा नक्कली सवारी चालक अनुमति पत्र बनाइ गाउँघरको मानिससँग पैसा लिएर वितरण गरिरहेको गोप्य सूचनाको आधारमा दुबैजनलाई हंसपुर नगरपालिकाको बालगंगा चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए।
खानतलासीको क्रममा उनीहरुको साथबाट ५÷५ थान सवारी चालक अनुमति पत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबैजनाविरुद्ध सरकारी छाप दस्तखत किर्ते कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४