इटहरी – विश्वको प्रतिष्ठित पर्यटन प्रकाशन लोन्ली प्लानेटले नेपाललाई एसियाको मुख्य चार गन्तव्य सूचिमा राखेको छ।
४७ वर्ष पुरानो, सामाजिक संजालहरुमा एक करोड बढी फलोअर्स भएको लोन्ली प्लानेटले भारतको ताज महल, चिनको ग्रेटवालकै र कम्बोडियाको एंकोर मन्दिरसँगै नेपाललाई मुख्य एसियाली गन्तव्यमा राखेको छ ।
एसियाका उच्च अनुभवहरु शिर्षकमा लोन्ली प्लानेटले नेपालको सगरमाथा क्षेत्रलाई सूचिकृत गरेको छ। अस्टे«लियाको मेलवर्नमा मुख्यालय भएको लोन्ली प्लानेटले १६ दिने सगरमाथा आधार शिविरको पदयात्रालाई एसियाका उच्च चार अनुभवहरुमा अटाएको हो।
विश्वका १४ विभिन्न भाषामा अनलाइन, एप्लीकेसन, म्यागजिन आदीबाट पर्यटकीय सूचना, समाचार र विश्लेषण दिने लोन्ली प्लानेटले नेपाल भ्रमण वर्ष २०२० आउन लाग्दा एसियाका उत्कृष्ठ चार गन्तव्यमा सूचिकरण गर्नु उत्साहित समाचार भएको प्रदेश १ का पर्यटन व्यवसायी बासुदेव बरालले बताए ।
उनले भने, ‘एसियाका मुख्य चार गन्तव्यमा नेपाल पर्नु र नेपालमा पनि प्रदेश १ को सगरमाथा आधारशिविर पर्नु राम्रो हो’, हाल कलकत्तामा जारी भारतको चर्चित ट्राभल एन्ड टुरिजम फेयरमा प्रदेश १ को प्रतिनिधित्व गरेका बरालले भने, ‘नेपाल भ्रमण वर्ष २०२० नजिकै आएकोले नेपाल सू्चिमा पर्नु आफैंमा राम्रो हो । प्रदेश १ पर्यटनमा पछि परेको अवस्थामा सगरमाथा आधारशिविर पदयात्रा सूचिकरण पर्नु प्रदेशको पर्यटनमा पनि फाइदाजनक छ।’
संघीय राजधानी काठमाडौंबाट मात्रै हुने पदयात्रा प्याकेज प्रदेश १ बाटै गरेमात्र सगरमाथाको पर्यटकीय कमाइ प्रदेश १ ले लिनसक्ने इटहरीका पर्यटन व्यवसायी जीवन पराजुलीले बताए। काठमाडौंका व्यवसायीले युरोप, अमेरिकी पर्यटकलाई ल्याएजस्तै प्रदेश १ बाट भने दक्षिण एसियाली पर्यटक ल्याउनुपर्ने पराजुलीले बताए। उनले भने, ‘प्रदेश १ बाट भारत, बंगलादेश र भुटान जस्ता नजिकैका देशका पदमार्गप्रेमिहरु ल्याएमा सगरमाथाको पदमार्ग पर्यटनको कमाई प्रदेश १ ले गर्नसक्छ।’