शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • विभाजन ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन आह्वानसहित यस्ताे छ एमाले बैठकको ९ निर्णय

विभाजन ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन आह्वानसहित यस्ताे छ एमाले बैठकको ९ निर्णय

दल तथा पार्टीको निर्णय, निर्देशन तथा ह्विप उल्लंघन गरेबापत दलका सदस्यहरूलाई कारबाही गर्न गरिएको एमालेको सिफारिसलाई बेवास्ता गर्ने सभामुखको भूमिकाको विरोध गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौ‌ं- नेकपा एमालेले बैठकले पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई आह्वान गरेको छ। केन्द्रीय कमिटीको बिहीबारको बैठकले अध्यादेशमा २१ दिनसम्म दल छनोट गर्न पाइने भनेर सम्प्रेषित सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखखण्डन ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन आह्वान गरेको हो।

triton college

बैठकपछि एमालेका प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहका जनप्रतिनिधिहरूले पनि दल त्याग गर्न सक्ने गरी जारी गरिएको अध्यादेशको प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित २१ दिनसम्म दल छनोट गर्न पाइने भनी सम्प्रेषित सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखण्डन ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीका सबै प्रदेशसभा सदस्य र  स्थानीय तहका जनप्रतिनिधिलाई आह्वान गरेको छ।’

बैठकले नेकपा (एमाले) लाई लक्षित गरेर पार्टी विभाजनका क्रममा विभिन्न निकायबाट भएका गैरकानुनी कार्य विरुद्ध कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ। दल तथा पार्टीको निर्णय, निर्देशन तथा ह्विप उल्लंघन गरेबापत दलका सदस्यहरूलाई कारबाही गर्न गरिएको एमालेको सिफारिसलाई बेवास्ता गर्ने सभामुखको भूमिकाको विरोध गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले विभाजनकारी गतिविधिमा संलग्न र अलग दल दर्तामा सहभागी केन्द्रीय सदस्यहरूलाई निष्काशन गर्दै निजहरूको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

बैठकले २०७८ असोज ४, ५ र ६ गते पार्टीको विधान महाधिवेशन तथा २०७८ मङ्सिर १०,११ र १२ गते पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने स्थायी कमिटीको प्रस्ताव अनुमोदन गरेको छ। एमालेले भदौको तेस्रो साता जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गर्ने, असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने, कात्तिक ६ गते देशका सबै वडामा र कात्तिक ९ गते सबै पालिकामा एकैसाथ पार्टीका स्थानीय अधिवेशनहरू सम्पन्न गरिने जनाएको छ। 

corrent noodles
Metro Mart

यस्तो छ केन्द्रीय कमिटीको निर्णय

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा बस्यो। दस बुँदे प्रस्तावको कार्यान्वयनसँगै आयोजित र पार्टी एकताको पक्षमा उभिनुभएका अधिकांश कमरेडहरू सहभागी यो बैठक पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्ने सम्बन्धमा विशेष महत्वको रह्यो। 

१.  बैठकमा केन्द्रीय सदस्य कमरेडहरूलाई स्वागत गर्दै अध्यक्ष कमरेडले विगतमा उत्पन्न विभिन्न समस्या समाधान गर्दै एकताबद्ध भएर बैठकमा सहभागी हुन सकेकोमा खुशी व्यक्त गर्नुभयो। केही व्यक्तिको स्वार्थपूर्तिका लागि पार्टी विभाजन जस्तो हानीकारक घटना घटाइएको भए पनि कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको मूलधारको रुपमा रहेको नेकपा (एमाले)ले यी सबै चुनौतीमाथि विजय प्राप्त गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। भ्रमवस् पार्टी विभाजनमा सहभागी भएका साथीहरूलाई भ्रममुक्त गरेर पार्टी एकतामा फर्काउन कोशिस गरिने र त्यसरी आउने साथीहरूलाई बिना भेदभाव पार्टीमा स्वागत गरिने जानकारी दिँदै अध्यक्षले सबै कमरेडहरूलाई नयाँ उत्साह,उर्जा र हार्दिकताका साथ क्रियाशील हुन आह्वान गर्नुभयो।

२.  बैठकले पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका स्थानीय पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई सामान्यतः २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशित गर्ने र दस बुँदे प्रस्तावलाई रचनात्मक कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रदेश र जिल्लामा दस बुँदे प्रस्तावलाई अविलम्ब कार्यान्वयन गर्न प्रदेश कमिटीका पूर्व र वर्तमान पदाधिकारीहरूले सहजीकरण गर्ने तथा जनसङ्गठनहरूमा यसलाई लागू गर्न महासचिव, सङ्गठन विभाग प्रमुख तथा कमरेडहरू गोकर्ण बिष्ट र टोपबहादुर रायमाझीले सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ। निर्णय कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न, केन्द्रीय कमिटीमा थप सदस्य मनोनयन गर्न, केन्द्रीय निकाय तथा विभागहरूलाई पूर्णता दिन तथा आवश्यकता अनुरुप पुनर्गठन गर्न आवश्यक गृहकार्यको जिम्मेवारी कमरेडहरू भीम रावल, ईश्वर पोख्रेल र विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई दिने स्थायी कमिटीको निर्णयलाई बैठकले अनुमोदन गरेको छ। बैठकमा कमरेडहरू घनश्याम भुसाल, गोकर्ण बिष्ट, शङ्कर पोखरेल, कर्ण थापा, टङ्क कार्की, गोरख बोगटी, गोकुल बाँस्कोटा, गुरु बराल, खगराज अधिकारी, विनोद ढकाल, राजन भट्टराई, सुरेन्द्र मानन्धर, राजेन्द्र गौतम, महेश बस्नेत, भगवती चौधरी, कृष्ण राई लगायतले दस बुँदे कार्यान्वयनका सम्बन्धमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो।

३.  बैठकले २०७८ असोज ४, ५ र ६ गते पार्टीको विधान महाधिवेशन तथा २०७८ मङ्सिर १०,११ र १२ गते पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गरेको छ। यसका लागि भदौको तेस्रो साता जिल्लास्तरीय कार्यकर्ता भेलाहरू आयोजना गर्ने, असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने, कार्तिक ६ गते देशका सबै वडामा र कार्तिक ९ गते सबै पालिकाहरूमा एकैसाथ पार्टीका स्थानीय अधिवेशनहरू सम्पन्न गरिने छन्। 

४.  बैठकले विभाजनकारी गतिविधिमा सङ्लग्न र अलग दल दर्तामा सहभागी केन्द्रीय सदस्यहरूलाई निष्काशन गर्दै निजहरूको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको छ।

५.  बैठकले नेकपा (एमाले) लाई लक्षित गरेर पार्टी विभाजनका क्रममा विभिन्न निकायबाट भएका गैरकानुनी कार्य विरुद्ध कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ। त्यसैगरी दल तथा पार्टीको निर्णय, निर्देशन तथा ह्वीप उल्लङ्घन गरेवापत दलका सदस्यहरूलाई कार्वाही गर्न गरिएको हाम्रो पार्टीको सिफारिसलाई वेवास्ता गर्ने सभामुखको भूमिकाको विरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

६.  बैठकले स्थानीय तहका जनप्रतिनिधिहरूले पनि दल त्याग गर्न सक्ने गरी जारी गरिएको अध्यादेशको प्रावधान संविधानको अक्षर र भावना विपरीत रहेको निष्कर्ष सहित २१ दिनसम्म दल छनोट गर्न पाइने भनी सम्प्रेषित सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीका सबै प्रदेशसभा सदस्य र  स्थानीय तहका जनप्रतिनिधिहरूलाई आह्वान गरेको छ।

७.  केन्द्रीय कमिटीको बैठकले उपरोक्त निर्णयहरू कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यकता अनुसार थप निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिएको छ।

८.  बैठकले १ नं प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकोमा कमरेड भीम आचार्यलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। 

९.  बैठकले नेपालको जनसांस्कृतिक आन्दोलनका अथक योद्धा जेबी टुहुरेको निधनप्रति गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रकाशित: Aug 26, 2021| 21:11 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...