बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री शर्मा र कोरियाली राजदूतबीच भेटवार्ता, भाषा परीक्षा उत्तीर्णलाई कोरिया लैजाने वातावरण बनाउन आग्रह

अर्थमन्त्री शर्मा र कोरियाली राजदूतबीच भेटवार्ता, भाषा परीक्षा उत्तीर्णलाई कोरिया लैजाने वातावरण बनाउन आग्रह

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार भेटेका छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं‐ नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार भेटेका छन्। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे। 

triton college

कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट काम गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाउने पहल गर्नसमेत आग्रह गरेका हुन्। 

'रोजगारी अनुमति प्रणाली (इपिएस)अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवा बेरोजगार बसेका छन्। यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु,' मन्त्री शर्माले राजदूत सुकसँग भनेका थिए। 

जवाफमा राजदूत सुकले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता दिए। नेपालीहरु मेहेनती र इमान्दार भएकाले कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका युवालाई काममा पठाउने प्रक्रिया अघि बढाइन पहल गर्ने बताएका थिए। 

भेटमा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि समेत कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे।  उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट पनि गरे। 

corrent noodles
Metro Mart

कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ। कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिटेक्निक कलेजको स्थापनाका क्रममा छ। उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ। 

मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताए। राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाई बारे चासो राखेका थिए। आयोजनामा ढिलाई हुँदा लागत बढ्न जाने तर्फ चिन्ता रहेको उनले बताए। यस विषयमा मन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकताको क्षेत्र भएकोले काममा गति दिनेतर्फ पहल गर्ने जानकारी दिए। 

 

प्रकाशित: Jul 28, 2021| 21:05 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्