शुक्रबार, जेठ १६, २०७७

कला - साहित्य

साहित्यमा मधेशी पात्रदेखि भोजनसम्मको चर्चा

जनकपुरमा नेपाल लिट्रेचर फेस्टिभल

1573391511sahitya_utsab.jpg

जनकपुरधाम- “मधेशी पात्रलाई हेपेर चित्रण गरिएका टेलिशृंखलाहरु मैले हेर्न छोडिसकें । त्यस्तो प्रवृत्तिबारे मैले सम्बन्धित कलाकारहरुलाई भेटेरै गुनासो गरिसकेको छु ।”

यस्तो भन्दै थिइन्, कवियत्री सीमा आभास। अवसर थियो जनकपुरमा आयोजित नेपाल लिट्रेचर फेस्टिभल ।

जनकपुरमा तीन दिनसम्म चलेको आईएमई नेपाल लिट्रेचर फेस्टिभलको अन्तिम दिन ‘साहित्यमा मधेशी’ पात्र शीर्षकको संवादमा नेपाली साहित्यमा मधेशी पात्रको स्थानबारे चर्चा भइरहेको थियो ।

कवियत्री आभाषले केही टेलिश्रृंखलाहरुमा मधेशी पात्रलाई होच्याएर चित्रण गरिए पनि नेपाली साहित्यमा भने त्यसो नभएको बताइन् । उनले भनिन्, “साहित्य वा कलाको माध्यमबाट कसैको सम्मानमा चोट पुर्‍याउने काम कहिँकतैबाट हुनुहुँदैन ।”

नेपाली साहित्यमा मधेशी पात्रको यथार्थ चित्रण अझै हुन नसकेको उनको गुनासो थियो। आफू बसेको परिवेशअनुसार पहिचान कायम हुनुपर्नेमा आभासले जोड दिइन् ।

प्रस्तोताले तेर्स्याएको प्रश्नको जबाब दिँदै कवियत्री आभासले मधेशमा बस्ने पहाडी समुदायलाई मधेशी र पहाडमा बस्ने मधेशीलाई पहाडी पात्रको रुपमा स्वीकार गर्नुपर्नेमा जोड दिइन् ।

यसैगरी साहित्यकार नयनराज पाण्डेले मधेशमा विद्यमान समस्यालाई साहित्यमार्फत देखाउनुपर्ने भए पनि दिनहीन रुपमा प्रस्तुत गर्ने शैली गलत रहेको बताए ।

मधेशका पात्रप्रति सहानुभूतिभन्दा पनि समानुभूति हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे । मधेशका समस्या र पीडा नेपाली साहित्यमा अझै पर्याप्त ढंगले आउन नसकेको पाण्डेले सुनाए ।

भोजपुरी भाषाका साहित्यकार गोपाल अस्कले साहित्य सम्झना सत्रमा बोल्दै मैथिली र भोजपुरी भाषा–संस्कृतिलाई दिदी–बहिनी भन्दै दुबैले एक अर्कालाई सम्मान गर्दै सहअस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिए ।

साहित्यकार रोशन जनकपुरीले मैथिली नेपालको सबैभन्दा समृद्ध भाषा रहे पनि शासकहरुका कारण पछि परेको आरोप लगाए ।

“मल्लकालीन इतिहास हेर्नुहोस् विद्यापतिका मैथिली रचनाहरु पाउन सकिन्छ,” उनले भने, “नेपालमा शाहवंशको सुरुआत भइसकेपछि नेपालीलाई लादेर अन्य भाषा पछि पारिएको सहजै देखिन्छ ।”

नेपाली भाषाका साहित्यकारहरुले पनि यहाँका समस्या आफ्नो लेखनको माध्यमबाट बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो ।

“मैथिली र भोजपुरी पृष्ठभूमिका साहित्यकारहरुले नेपालीमा लेखिदिउन भन्ने नेपाली साहित्यकारहरुको चाहना हुन्छ,” उनले भने, “सिद्धिचरण श्रेष्ठ सिरहामा बसेर ओखलढुंगा लेखे, तर सिरहा किन लेख्न सकेनन् ?”

यसैगरी युवा साहित्यकार उमाशंकर राउतले मधेशमा बसेर पनि पहाडी समुदायका साहित्यकारले पहाडी पात्रलाई प्राथमिकता दिएर रचना गर्नु दुःखद रहेको बताए । मधेशका समस्याहरु पहाडका साहित्यकारमार्फत समेत आउनुपर्ने उनको भनाइ थियो ।

पूर्वीय दर्शन नामक सत्रमा बोल्दै डा.विजयकुमार सिंहले मिथिलाको संस्कृति र भूमिका अझै महत्वपूर्ण रहेको बताए । सत्रमा डा.सिंहका साथै वरिष्ठ साहित्यकार रामभरोस कापडिले भाग लिएका थिए ।

तीन दिनसम्म चलेको साहित्य सम्मेलनमा ‘चुरेको चिन्ता’, ‘मधेशको हिमाल’, ‘प्रदेश वा परदेश’, ‘मधेशको भोजन’, ‘कस्तो साहित्य र कसको साहित्य’, ‘स्वभिमान, सम्मान र अभिमान’ शिर्षकका सत्रहरु सञ्चालन गरिएका थिए ।

सम्मेलनमा पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मुख्यमन्त्री लालबाबु राउत, केदार शर्मा, इम्तियाज वफा, गायत्री शर्मा, पत्रकारहरु कनकमणि दीक्षित, नारायण वाग्ले, सुधीर शर्मा, चन्द्रकिशोर झालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्