धनगढी- नेपाल सरकारको नयाँ कर नीतिविरुद्ध कैलालीका व्यवसायी पनि विरोधमा उत्रिएका छन्।
कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरुले धनगढीमा बिरोध र्याली निकालेका छन्। कैलाली उद्योग वाणिज्य संघको कार्यालयबाट आइतबार निस्किएको व्यवसायीको विरोध र्याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले युरोपी मुलुकमा लागू भएको कर प्रणाली नेपाल सरकारले ल्याएको बताए।
‘युरोपी मुलुकमा लागू भएको कर प्रणाली ल्याउने तर जनताले सामान्य सेवासमेत पाउने अवस्था छैन’, उनले भने, ‘हात कसरी धुने भन्दै सिकाउन पर्ने देशमा युरोपको कर प्रणाली लगाउने बेला आएको छैन। यस्तो कर नीति लागू गर्न सुरुमा जनताले सेवा पनि सोही देशको जस्तो पाउनुर्छ।’ हमालले सरकार ल्याएको नयाँ कर नीतिले व्यवसायीलाई मात्र नभई जनतालाई ठूलो समस्या पर्ने बताए।
‘जनताले हरेक सामान खरिद गर्दा कर तिरेका हुन्छन्,’ उनले भने, ‘व्यवसायी त कर तिर्ने माध्यम मात्रै हो।’ उनले जनताले तिरेको करको सदुपयोग नहुँदा झनै नैराश्य बढेको बताए। सरकारले कर बढाउँदै लैजाने तर प्रत्येक वर्ष ठूलो बजेट फ्रिज हुने समस्या रहेको बताउँदै हमालले खर्च नै गर्न नसक्ने भए नयाँ–नयाँ कर नीति के-का लागि ? भन्दै प्रश्न गरे।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सरकारले ल्याएको नयाँ कर नीतिबारेमा व्यवसायी अनभिज्ञ रहेको बताए। ‘सरकारले जनतालाई सूचनासमेत नदिएर कर नीति लागु गरेको छ,’ उनले भने, ‘नीतिका बारेमा चार्टर एकाउटेन्टहरुलाई समेत जानकारी छैन।’
गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले व्यवसायीहरुलाई दुःख दिने नियतले सरकारले लागू गरेको कर प्रणाली खारेजी हुनुपर्ने बताए। होलसेल व्यवसायी संघ धनगढीका अध्यक्ष तिलक खतिवडाले सरकारले ल्याएको नयाँ ऐनबाट व्यवसायीहरु व्यवसाय गर्न सक्ने अवस्थामा नरहने बताए।
व्यवसायीले सरकारले आर्थिक वर्ष २०७६/०७७ मा लागु गर्न ल्याएको भेहिकल एन्ड कन्साइमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लगायत प्रावधानहरु खारेज गर्नुपर्ने अडान राख्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४