बुधबार, कात्तिक २७, २०७६

समाचार

लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली

लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली

काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले दार्चुलामा उत्पन्न सीमा विवादका समाचारलाई मुख्य रुपमा भिन्न–भिन्न शिर्षकका साथ प्रस्तुत गरेका छन्।

कान्तिपुरले 'लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली' शिर्षकमा समाचार प्रकाशन गरेको छ भने यसै विषयमा नागरिकले 'सीमामा भारतको दादागिरी' शिर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै नयाँ पत्रिकाले प्रधानमन्त्रीले शनिबार बोलायको सर्वपक्षीय बैठकलगायत दक्षिण एसियाली खेलकुद आउनै लाग्दा पनि यसका लागि भइरहेको कमजोर तयारीका विषयमा 'तीन सातामा दक्षिण एसियाली खेल : तर, तयारी भद्रगोल' शिर्षकमा समाचार प्रकाशन गरेको छ।

लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली

लिपुलेक र कालापानि क्षेत्रमा भारतले ०१८ देखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।

राज्यकै सामरिक महत्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि फिर्ता हुने सम्भावना घट्दै गएको उनीहरुको भनाइ छ। उक्त क्षेत्रमा हाल नेपालीलाई भारतीय सुरक्षाकर्मीले पस्नै नदिएको स्थानीय दानसिंह तिंकरले बताए। ६० सालपछि भारतले हामीलाई पस्नै दिएको छैन, उनले भने, अहिले चीनसित व्यापार गर्न तिंकर भञ्ज्याङको नाका प्रयोग गर्नु परेको छ। कान्तिपुर दैनिकले यो समाचार प्रकाशन गरेको छ।

सीमामा भारतको दादागिरी

यस्तै नागरिकले 'सीमामा भारतको दादागिरी' शिर्षकमा लेखेको छ, नेपाल–भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा बिन्दु यकिन नहुनु नै हो। नेपालले आफ्ना प्रमाणका आधारमा गर्दै आएको दाबीलाई भारतले नमान्दा यो समस्या आएको हो। सुगौली सन्धिअनुसार काली(महाकाली) नदी सीमा हो। भारतीय पक्षले पनि काली नदी नै सीमा हो भन्ने स्वीकार गरे पनि उसले अर्कै खोलालाई काली नदी मान्छ।

भारतले ३० किलोमिटर पूर्व कृत्रिम नदी बनाएर त्यसलाई काली भन्दै आएको छ। खास कालीलाई कुटियांगदी नामाकरण गरी त्यहींबाट नेपालको सामरिक क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा उता पारेको भारतले देखाएको छ। विवाद त्यहींबाट उठान भएको हो। भारतले हडपेको कालापानी र लिपुलेक नेपालले आफ्नो भएको अडान राख्दै आए पनि लिम्पियाधुराको विषयमा सरकार मौन छ, त्यो क्षेत्रसमेत नेपालमा भएको दस्तावेजहरुमा पाइन्छ। भारतले कुटियांगदी भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ।

प्रतिक्रिया दिनुहोस्