शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाजा बजाएरै देशको सेवा : प्रहरीका महिला बाद्यवादककाे दैनिकी

बाजा बजाएरै देशको सेवा : प्रहरीका महिला बाद्यवादककाे दैनिकी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- चिटिक्क भेषभूषा, अनुशासित देखिने युनिफर्म, हातमा डन्डा वा राइफल प्रहरीको परिचय हो। नेपाल प्रहरी संगीत विद्यालयमा यो वातावरण भिन्न छ। युनिर्फम उही, अनुशासन उही तर, कर्तव्य देशको सेवा, तरिका भने फरक। 

धमला राईको नेपाल प्रहरी संगीत सेवामा ३० वर्ष पूरा भएको छ। केही वर्षमै उनको सेवा अवधि सकिएर अवकाश हुँदै छिन्। उनी भन्छिन्, ‘बाहिरको ड्युटी भएको भए सायद यति नरमाइलो लाग्दैन थियो होला। साथी संगीत समूह र कार्यक्रम मिस गर्नेछु।’

१८ वर्षदेखि संगीत सेवामा रहेकी निमा विक संगीत जातीयताभन्दा पनि भावनाको समावेशिता मान्छिन्। उनी भन्छिन्, ‘प्रहरी सेवामा पहिले म प्रहरीका रूपमा आएँ। पछि मात्र थाहा भयो, यहाँभित्र पनि संगीत रहेछ।’ उनी संगीततर्फ सेवाको धार बदलियो। उनी पहिले ब्याक पाइपर बजाउँथिन्। हातमा समस्या आएपछि अहिले उनी सारंगी बजाउँछिन्।

२०१८ मा स्थापना भएको संगीत विद्यालयमा दुई सयभन्दा बढी जवान संगीत सिक्दै आएका छन्। कति प्राविधिक संगीतभित्रै आवेदन गरी आउँछन् भने कति सामान्य प्रहरी सेवाबाट आउने गर्छ।

जवानबाट सुरु भएको संगीतको तालिम लिएकाहरू असईसम्म पुग्दा बजाउन सक्षम हुन्छन्। तालिम अवधि भने कुन कस्तो बाजा बजाउने हो, सोअनुसार हुने गरेको छ। प्रहरीमा स्याक्सोफोन, ब्याक पाइपर, ड्रम, धिमे, नौमती, बाँसुरी, सारंगीजस्ता मौलिक बाजा हुन्छन्।

सामान्य प्रहरी सेवाबाटै आएकी प्रहरी जवान कल्पनाले तीनमहिने तालिम सकेकी छन्। अब यही संगीतिक पाटोबाटै सेवा गर्न उनको इच्छा छ।

संगीतको यो सेवा अन्य ड्युटीभन्दा फरक रहेको विष्णु मायामगर बताउँछिन्। संगीत यस्तो चिज हो, जुन सुख र दुःख दुवैमा चाहिन्छ। गणतन्त्र दिवस, सहिदको सलामी, सरकार वा राष्ट्र प्रमुखको विदेश यात्रामा बिदाइ जस्ता अवसरमा ब्यान्ड बाजा समूह आवश्यक हुन्छ।

तनाव मुक्तिको उपाय

संगीत मनोरञ्जनसँग जोडिने विष्णु मायामगर बताउँछिन्। कहिलेकाहीं घरमा खटपट भई तनाव भए पनि यहाँ आएपछि आनन्दको महसुस हुने उनको भनाइ छ। उनले भनिन्, ‘केही क्षणका लागि भए पनि तनावबाट मुक्ति मिल्छ।’

एल्टु स्याक्सोफोन बजाउँदै आएकी मगरलाई बाहिर गएर प्रदर्शन गर्ने निकै मन पर्छ। उनी भन्छिन्, ‘सेवा नै संगीतमार्फत छ, सुख होस् वा दुःख दुवैमा संगीतको उत्तिकै स्थान छ।’

२०७२ को विनाशकारी भूकम्पले सबै त्रसित थिए। सबै अन्योलमा थिए। अनि नेपाल प्रहरीले थोरै भए पनि मानसिक राहत दिन म्युजिकल थेरापीलाई प्रयोगमा ल्यायो। नेपाल प्रहरी संगीत विद्यालयका डिआइजी राजन गुरुङले भने, ‘हामी म्युजिकल थेरापी कार्यक्रम लिएर विभिन्न ठाउँमा पुग्यौं।’

एक व्यक्तिका सम्पूर्ण परिवार भूकम्पमा परी बितेका रहेछन्। ती व्यक्तिले हाँस्न, खान सबै बिर्सिएका रहेछन्। एकमहिने म्युजिकल थेरापीपछि उनी सामान्य हुँदै जान थाले। कोही रमाउन थाले–कोही संगीतमा हाँस्न थाले।

अविस्मरणीय क्षण

२६ वर्षे प्रहरी सेवा अवधिमा रहेकी कविता रुचालको सम्झनामा रहेको महत्त्वपूर्ण पल हो, तत्कालीन रानी ऐश्वर्यको जन्मोत्सव। राजा वीरेन्द्रभन्दा पनि रानी ऐश्वर्यको जन्मोत्सव अझ विशेष हुन्थ्यो।

उनले भनिन्, ‘कात्तिक २२ गते रानीको जन्मोत्सवमा हाम्रो प्रदर्शनी रमाइलो हुन्थ्यो। जन्मदिनको भोलिपल्ट १४ अञ्चलकै विभिन्न स्थानमा प्रदर्शनीका लागि जान्थ्यौंँ।’

बनेपामा भएको एक कार्यक्रममा स्थानीयको भनाइ उनलाई ताजै छ, ‘ओहो ! केटीहरूले पनि बाजा बजाएको ?  कति राम्रोसँग बजाउँदा रहेछन् ?’ महिलाले बाजा बजाएको खासै देखिएको अवस्थामा महिला संगीत समूहले पाएको उक्त प्रशंसा स्मरणीय रहेको रुचालले बताइन्।

बाजा बजाउने काम तल्लो जातको हो भन्ने मान्यता रहँदै आएका कारण कति स्थानमा उनीहरूलाई तल्लो जातका भनेर विभेद गर्ने गरेको गुनासो उनीहरुको छ।

रुचालले भनिन्, ‘बिहेमा जाँदा हामीलाई खाना पनि छुट्टै दिन्छन्। हाम्रा लागि संगीत साधना र कर्तव्य हो। जनमानसमा यो विचारधारा फैलाउनै पर्ने आवश्यकता छ।’

त्यसो त उनीहरू बाजामात्र बजाउँदैनन्  परेका बेला शान्तिसुरक्षामा पनि खटिन्छन्। चुनाव वा देशमा संकटको अवस्था आइपर्दा बाजा थाती राखेर राइफल बोक्न पछि पर्दैन्न् यी महिला प्रहरी।

कस्तो छ दैनिकी ?

जानुका भट्टराई बिहान नौ बजे नेपाल प्रहरी संगीत विद्यालयमा हाजिर हुन्छिन्। १० बजे देखि १२ बजेसम्म उनी महिला संगीत समूहसँग बाजा बजाउने अभ्यास गर्छिन्।

१२ देखि १ बजेसम्म खाजाको समय हो। त्यसपछि उनी ड्युटीमा खटिन्छिन्। ३ बजे परेडका लागि तयार हुन्छिन्। साढे ४ बजे उनी परेड सकेर संगीत विद्यालयबाट निस्कन्छिन्।

यो कार्यतालिका नेपाल संगीत विद्यालयका सबै महिला प्रहरीको रहन्छ। उनीहरू फुर्सदका बेला पनि आधुनिक, लोकगीत, नेपाली, हिन्दी, अंग्रेजी गीतमा बाजा बजाई रमाइलो गर्छन्।

राई भन्छिन्, ‘सेवाबाट अवकाश भए पछि, पनि हामी खाली बस्नु पर्दैन। जुन संगीतलाई कर्तव्य बनाएर देशको सेवा गरिरहेको छौँ यो नै पछि हाम्रो पेसा वा व्यवसाय बन्न सक्छ। जुनसुकै कार्यक्रममा पनि बाजा बजाउन सक्ने आत्मविश्वास हामीमा छ। यो भन्दा बढी के नै चाहिछ र ?’


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।