बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लुटपाटको प्रयास गर्ने हतियारधारी समूह प्रहरीको नियन्त्रणमा

लुटपाटको प्रयास गर्ने हतियारधारी समूह प्रहरीको नियन्त्रणमा

मोरङ सुन्दरहरैँचाको एउटा सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

विराटनगर- मोरङ सुन्दरहरैँचाको एउटा सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

triton college

सुन्दरहरैँचा नगरपालिका–१० मा खगेन्द्र थापाले आफ्नै घरमा सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा लुटपाटको असफल प्रयास गर्ने समूहका सदस्यहरुलाई अत्याधुनिक हतियारसहित मङ्गलबार राति पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा संखुवासभाको सभापोखरी गाउँपालिका–४ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा डेरा गरी बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी र संखुवासभाको बाह्रबिसे घर भई तरहरामा बस्दै आएका ३० वर्षीय चिरञ्जिवी राई छन्।

त्यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राई र भोजपुरको पैवादुम्मा गाउँपालिका–३ घर भई तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई पनि पक्राउ परेको एसपी जनार्दन जिसीले बताए। उनका अनुसार प्रमोद बुधबार दिउँसो पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये चन्द्रबहादुर नेपाली सेनाको शेरजंग गणमा कार्यरत पूर्वजवान हुन्। तीन वर्षअघि उनले खोटाङदेखि जागिरबाट राजीनामा दिएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग गरिएको हतियार ल्याउने, व्यवस्थापन गर्ने र लुकाउने कामको नेतृत्व उनले गरेको पाइएको जिसीको भनाइ छ। उनका अनुसार राईले हतियार भने कहाँबाट ल्याए भन्ने बारेमा अनुसन्धान जारी छ। 

corrent noodles
Metro Mart

त्यस्तै डायमण्ड भनिने प्रमोद चौधरी माओवादीका पूर्वलडाकु रहेको खुलेको छ। व्यक्ति हत्यामा संलग्न उनी सुनसरीबाट चलाइएको कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरेर डेढ वर्षअघि मात्रै छुटेका थिए। प्रहरीका अनुसार पूर्वलडाकु प्रमोद पूर्वाञ्चल सातौँ ब्रिगेडमा आबद्ध थिए।

पक्राउ परेकाहरुको साथबाट एउटा एसएमजी, त्यसको म्याग्जिन, ६२ राउण्ड गोली, कटुवा र अटोमेटिक गरेर दुईवटा पेस्तोल, एउटा म्याग्जिन, पेस्तोल र थ्री नट थ्री राइफलको दुई÷दुई गरेर चार राउण्ड गोली तथा दुईवटा सञ्चार सेट बरामद भएको एसपी जिसीले बताए। उनका अनुसार को २ ह २७३६ नम्बरको अटो टेम्पो, प्रदेश १–०२–०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३ र को २१ प ६७०३ नम्बरका चारवटा मोटरसाइकल तथा विभिन्न आठवटा मोबाइल बरामद भएको छ। 

घटनामा प्रयोग गरिएको हतियार सुन्दरहरैँचा–५ स्थित नमुना सामुदायिक वनमा रहेको करमको रुखको टोड्काभित्र कार्टुनमा लुकाएर राखेको अवस्थामा बरामद भएको जिसीको भनाइ छ। उनका अनुसार मोटरसाइकल प्रयोग गर्दा प्रहरीले पक्राउ गर्ने डरले लुटपाट प्रयासपछि घटनास्थल वरपरको अवस्था बुझ्नलाई यो गिरोहले अटो टेम्पोको प्रयोग गरेको पाइएको छ। 

सुन्दरहरैँचाका थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो। 

लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतङ्कित एवं त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो। घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले खोजी तीव्र पारे पनि उक्त समूह फरार हुन सफल भएको थियो। 

हतियारधारी समूहको खोजीका लागि प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङको नेतृत्वमा इन्सपेक्टर खनालसहितको विशेष टोली परिचालन गरेका थिए। प्रहरीको विशेष टोली घटना भएको १२ औँ दिनपछि उक्त गिरोहसम्म पुग्न सफल भएको हो। लुटपाट गर्न खोजिएको दृष्य सुनचाँदी पसलमा रहेको सीसीटीभी क्यामेरा फुटेजमा पनि कैद छ।

पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार हो। लुटपाट प्रयास गर्ने गिरोहले अत्याधुनिक हतियार कहाँबाट ल्याएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 28, 2021| 20:40 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।