काठमाडौं- पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कालो धनबारे आफ्नो बारेमा आएको समाचार तथ्यहीन र भ्रामक भएको बताएका छन्। उनले आफ्ना विरोधीहरुले राजनीतिक र सामाजिक दुवै हिसाबले बदनाम गर्ने गरी नियोजित रुपमा सो समाचार बाहिर ल्याएको आरोप लगाएका छन्।
सम्पत्ति शुद्धीकरण विभागले बस्नेतले स्रोत नखुलेको ६१ करोड रुपैयाँ राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारीमा राखेको भन्दै छानबिन गरिरहेको समाचार आएपछि उनले शुक्रबार पत्रकार सम्मेलन गरी स्पष्टीकरण दिएका हुन्।
बस्नेतले आफूले समाचार आउने दिनसम्म पनि प्रणामी बचत तथा ऋण सहकारी संस्थाको नाम नसुनेको दाबी गरे।
बस्नेतले आफू कांग्रेसको इमान्दार कार्यकर्ताका नाताले स्वतन्त्र प्रेसमाथि विश्वास गर्ने र अझै पनि विश्वास रहेको बताए।
उनले भने, ‘मलाई यसरी बदनाम गर्न सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका व्यक्तिहरु नै संलग्न छन्।’ उनले आफू मिडिया काउन्सिल विधेयकका विपक्षमा रहेको र त्यसबारे सत्तासीनलाई पाच्य नभएकाले आफूविरुद्ध भ्रम फैलाएको दाबी गरे।
उनले पछिल्लो समय सहकारीमा स्रोत नखुलेको ६१ करोड रुपैयाँ राखेको भनेर आफ्नो नाम जोड्नुलाई नै कडीका रुपमा रहेको दाबी गरे।
यसैगरी सोही कार्यक्रममा प्रणामी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपकविक्रम थापा तथा उपाध्यक्ष देविन्द्रबहादुर श्रेष्ठको हस्ताक्षर भएको विज्ञप्ति पनि बाँडिएको थियो।
सो विज्ञप्तिमा मोहनबहादुर बस्नेत र उनको परिवारका नामको कुनै पनि खाता संस्थामा नखोलिएको दाबी गरिएको छ।
पत्रकारलाई के भने बस्नेतले ?पत्रकार सम्मेलनमा पत्रकारभन्दा तेव्बर संख्यामा बस्नेतका कार्यकर्ता थिए। उनले आफू कानुनमा विश्वास गर्ने र आफ्नो बारेमा लेखिएको समाचारविरुद्धमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने दाबी गरे।
उनले बिजमान्डु अनलाइनका दुई पत्रकारलाई धम्क्याउने शैलीमा भने, ‘मेरा विरुद्ध समाचार लेख्नेविरुद्ध कानुनी उपचार खोज्छु, एक जना मेरै गाउँको भाइ रहेछ अर्को यतै काठमाडौतिरकै।’
को हुन् दीपकविक्रम थापाप्रणामी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपकविक्रम थापा सिन्धुपाल्चोक बाह्रबिसे (राम्चे) का हुन्। पेसाले सहकारीकर्मी भए पनि उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन्।
उनको र मोहबहादुर बस्नेतको पहिलेदेखि नै घनिष्ट सम्बन्ध रहेको थियो। पत्रकार सम्मेलनमा आफू सीधै अघि नदेखिएका थापा बस्नेतका विश्वासपात्र हुन्। त्यस्तै सो सहकारीका उपाध्यक्ष देविन्द्रबहादुर श्रेष्ठ पनि सिन्धुपाल्चोक बाह्रबिसेकै हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४