काठमाडौं - गत आइतबार महानगरीय प्रहरी परिसरमा ‘डिएसपी कुमुद ढुंगेललाई तुरुन्त अख्तियारमा उपस्थति गराउनू’ भन्ने व्यहारोको पत्र आयो। पत्र प्रहरी मुख्यालयबाट लेखिएको थियो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निलम्बित डिएसपी ढुंगेलको राष्ट्रिय वाणिज्य बैंकस्थित खातामा अस्वाभाविक रकम देखिएपछि उनलाई सोधपुछ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरन्तर सम्पर्क गरेको थियो। ढुंगेल सम्पर्कमा नआएपछि अख्तियारले प्रहरी मुख्यालयलाई गत आइतबार पत्र लेख्दै तुरुन्त उपस्थित गराउन निर्देशन दिएको थियो।
डकैतीसँग निरन्तर सम्पर्क देखिएपछि ढुंगेललाई गृह मन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले निलम्बन गरेको थियो। अख्तियारमा ढुंगेलविरुद्ध उजुरी परेपछि छानबिन भइरहेको छ। ढुंगेल नेपाल प्रहरीमा ‘इन्काउन्टर’ विशेषज्ञ र अपराध अनुसन्धानमा दख्खल राख्ने अधिकृतका रुपमा चिनिन्छन्।
प्रहरी प्रधान कार्यालयले निलम्बित डिएसपी ढुंगेलका विषयमा आन्तरिक छानबिन गरिरहेको छ। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्न्यात र ढुंगेलबीच निरन्तर सम्पर्क रहेको बताइन्छ।
किन फेला पर्दैनन् ढुंगेल
नेपाल प्रहरीमा दुई खेमा रहेको बताइन्छ– आइजिपी खनाल पक्ष र एआइजी पुष्कर कार्की पक्ष। ढुंगेल कार्की खेमाका मानिन्छन्। स्रोतका अनुसार आफू जोगिन ढुंगेलले राजनीतिक उच्च तहमा पनि सम्म्बन्ध बनाएका छन्। उपल्लो निकायमा राम्रो सम्बन्ध बनाएका ढुंगेलले नेपाल प्रहरी र अख्तियारको निर्देशन बेवास्ता गर्दै आएका छन्।
प्रहरीका दुई खेमाबीच बेलाबेलामा अस्वस्थ्य प्रतिस्पर्धा भइरहन्छ। यसको परिणाम प्रहरीको आन्तरिक द्वन्द्व सतहमा पनि आउने गरेको छ।
६ दिनपहिले पत्र पाए पनि काठमाडौं प्रहरीले ढुंगेल कहाँ छन् सुइँकोसमेत पाएको छैन। परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले ढुंगेलको खोजी कार्य भइरहेको बताए।
ढुंगेल भने बिहीबार काठमाडौंको धापासीमा देखिएको स्रोतको दाबी छ। उनी निकट स्रोतका अनुसार प्रहरीको आन्तरिक अनुसन्धानबाट प्राप्त रिपोर्टपछि मात्र उनी अख्तियारमा उपस्थित हुने तयारीमा छन्।
ढुङ्गेलले संवैधानिक निकायको पत्रको बेवास्ता गरेपछि यसले संगठनमा क्षति हुने भन्दै एक पक्षले उनलाई तुरुन्त पक्राउ गर्न दबाब दिइरहेका छन् भने अर्को पक्ष ढुङ्गेललाई जोगाउने पक्षमा लागेको प्रहरी उच्च स्रोतले दाबी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४