काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखि बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन्।
मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी बनाउन सरकार सदा प्रतिवद्ध रहेको बताए।
मन्त्री पण्डितले कार्यालय समयमा कार्यालय बाहिरको काम गर्ने कर्मचारीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिए। उनले कर्मचारी प्रशासन सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४