इटहरी- केही दिनअघि टर्कीमा पहिलोपटक एस-४०० नामक रसियन मिसाइल डिफेन्स सिस्टमका उपकरण आए ।
टर्कीको रक्षा मन्त्रालयले यी उपकरण आएको सार्वजनिक सूचना दिनासाथ यो विश्व समाचार बन्यो । सिएनएन, बिबिसी, अलजजिरा, एसिया टुडे सम्मले यो समाचार मुख्य रुपमा कभर गरे । एक देशबाट अर्को देशले हतियार खरिद गर्दा विश्वभार चर्चा बन्नुको कारण अमेरिका र रसियाको हतियार व्यापार युद्ध हो ।
एस-४०० नामक रसियन मिसाइल डिफेन्स सिस्टम संसारमा अहिलेसम्म बनेको सबैभन्दा अत्याधुनिक भएको भन्दै टर्कीले खरिद गरेको छ । अमेरिका टर्कीको यस्तो खरिदसँग असन्तुष्ट छ । खरिद प्रक्रिया चल्दै गर्दा नै अमेरिकाले टर्कीलाई दबाब दिएको थियो । अमेरिकी कार्यकारी रक्षासचिव प्याट्रिक सानहानले टर्कीले अमेरिकी हतियार खरिद नगरेर रसियन गरेमा विभिन्न कारबाही चेतावनी दिएका थिए ।
रसियन खतियार खरिद गरेमा हाल अमेरिका र टर्कीले उत्पादन गरिरहेको एफ-३५ नामक युद्ध विमान कार्यक्रमबाट टर्कीलाई निकाल्ने, खरिद भइसकेको यो विमान टर्कीलाई नदिने, यो विमान चलाउन तालिम पाइरहेकाको तालिम जुलाई अन्तिमबाट अन्त्य गर्ने जस्ता धम्की अमेरिकाले दिएको थियो ।
जुलाई अन्तिमसम्ममा रसियन मिसाइल डिफेन्स खरिद बदर नगरे कारबाही गर्ने भनेकै महिनाको १२ तारिखमा टर्कीले रसियन हतियार खरिद प्रक्रिया अगाडि बढाउँदै पहिलो चरणका सामान राजधानी अंकरा ल्याएको छ ।
अमेरिकाको मध्यपूर्वको साझेदार राष्ट्र टर्कीले नै अमेरिकाको दबाब नमान्दै रसियन हतियार खरिद गरेको छ । साढे २ अर्ब अमेरिकी डलर हाराहारीको बजेटमा एस-४०० खरिद गर्न टर्कीले रसियासँग सन् २०१७ मा सम्झौता गरेको बिबिसीले लेखेको छ ।
अमेरिकी दबाबका बीचमा भारत पनि एस-४०० खरिद गर्दै
रसियालाइ घेर्न अमेरिकी नेतृत्वका विभिन्न देशहरुका सैनिक गठबन्धन उत्तर एटलान्टिक सन्धि संघठन (नाटो) को साझेदार टर्की भएकाले अमेरिकाको टर्कीलाई रसियन हतियार खरिद नगर्न चर्को दबाब थियो । नाटो रास्ट्र सदस्य टर्कीमात्रै हैन, अमेरिकाको दक्षिण एसियाली साझेदार भारतलाई पनि रसियन एस-४०० हतियार खरिद नगर्न अमेरिकी दबाब छ ।
सन् २०१८ को अक्टोबर ५ मा ५ अर्ब अमेरिकी डलर बराबरको एस-४०० मिसाइल डिफेन्स सिस्टम किन्न भारत भ्रमणमा रहेका रसियन राष्ट्रपति भ्यादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सहमति भएको थियो । भारतलाई सम्झौतालगत्तै अमेरिकाले रसियन हतियार नकिन्न दबाब दिइरह्यो ।
कतिसम्म भने गत जुन २५ मा अमेरिकी विदेश सचिव माइक पोम्पोओ भारत भ्रमणमा आए । भ्रमणमा रसियन हतियार नकिन्न भारतलाई दबाब दिएको भारतीय मिडियाहरुले लेखेका छन् । तर, भारतीय पक्षले रसिया र भारतको धेरै पुरानो रक्षा सम्बन्ध भएकाले यो सम्झौताबाट पछि हट्न नसक्ने प्रस्ट बनाएको भारतीय मिडियाहरुले लेखेका छन् ।
किन क्रूद्ध छ अमेरिका?
एस-४०० सालसम्म विश्वमा बनेको सबैभन्दा आधुनिक, सस्तो र शक्तिशाली हतियार भएको रक्षा विश्लेषकहरुको भनाइ छ । यही कारणले एस-४०० को खरिद गर्न चीनले सन् २०१४ मै ३ अर्ब अमेरिकी डलर बराबरको खरिद सम्झौता गरेको द डिप्लोम्याम म्यागाजिनले लेखेको छ । चिनले एस-४०० ल्याएर सन् २०१८ मै सफल परीक्षणसमेत गरेको छ ।
चीनपछि क्रमशः टर्की र भारत यो हतियार किन्ने लाइनमा छन् । साउदी अरेबिया र कतार आदि अमेरिका निकट देशहरुले एस-४०० मिसाइल डिफेन्स सिस्टम किन्न इच्छा जाहेर गरेका छन् ।
धेरै देशहरुले रसियन मिसाइल डिफेन्स सिस्टमले खरिद मन नपराउनुमा अमेरिकाका विभिन्न तीन कारण हुन सक्छन् ।
पहिलो कारण अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको रसियाले आर्थिक उन्नति गरेको हुन सक्छ । सन् २०१४ को मार्चमा युक्रेनको राज्य क्रिमिया रसियाले जनमत संग्रहका नाममा लिएको भन्दै अमेरिकाले नाकबन्दी लाएको थियो । ओबामाको पालामा लाएको सामान्य नाकान्दीसँगै सन् २०१६ मा अमेरिकी चुनावमा हस्तक्षेप भएको भन्दै थप नाकाबन्दी भयो ।
यही वर्षको मार्च १५ मा युरोपियन युनियन, क्यानडा र अमेरिकाले मिलेर थप रसियालाई नाकाबन्दी गरे । क्रिमियलाई रसियामा गाभेको, पूर्वी युक्रेनमा पृथकतावादी आन्दोलनलाई सहयोग गरेको र तीनवटा युक्रेनी पानीजहालाई आक्रमण गरेको भन्दै उनीहरुले रसियालाई नाकाबन्दी गरेका छन् ।
नाकाबन्दी गरेर रसियाली अर्थतन्त्र चौपट बनाएर झुकाउन खोजिरहेका बेला, चीनले ३ अर्ब डलर, टर्कीले साढे दुई अर्ब डलर र भारतले ५ अर्ब डलरका ठूल्ठूला हतियार खरिद सम्झौता गरेकोमा अमेरिका चिन्तित भएको हुन सक्छ ।
दोस्रो कारण, अमेरिकाका आफ्ना निकट भनिएका राष्ट्र टर्की र भारतले रसियन हतियार किनेमा अमेरिकी सैन्य संयन्त्र कमजोर भएको देखिने अमेरिकी डर हुन सक्छ । रसियालाई घेर्न बनाएको नाटोका मुख्य सदस्य राष्ट्रले नै अमेरिकी धम्कीको बेवास्ता गर्दै रसियन हतियार किन्दा अमेरिकी नेतृत्व क्षमता गिरेको देखिने चिन्ताले पनि अमेरिकाले यो दबाब दिएको हुन सक्छ ।
तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कारण चाहिँ अमेरिकाले भन्दा रसियाले विश्वमा सबैभन्दा शक्तिशाली जमिनदेखि आकाश हान्न बनाएको मिसाइल डिफेन्स सिस्टममा अमेरिकाको आरिस हुनसक्छ । आफू पनि बनाउन नसक्ने, सस्तो विकल्प दिन नसक्ने र रसियन मिसाइल डिफेन्सको आरिस मात्रै गर्ने अमेरिकी चरित्र देखिन्छ ।
एस-४०० जस्तै प्रकृतिका दुई प्रकारका मिसाइल डिफेन्स सिस्टम छन् अमेरिकाका । अमेरिकिी प्याट्रिओट र थाड नामक मिसाइल डिफेन्स एसियन एस-४०० भन्दा कमजोर भएको रक्षासम्बन्धी जानकारी दिने डिफेन्सवल्ड डट नेटले लेखेको छ ।
डिफेन्स वल्डका अनुसार प्याट्रिओटले १.३८ किलोमिटर प्रतिसेकेन्ड गतिमा आएको मिसाइल खसाउन सक्छ । थाडले २.८ किलोमिटर प्रतिसेकेन्डको गतिमा आएको मिसाइल खसाउन सक्छ । जब कि रसियाली एस-४०० ले यी दुवै मिसाइलभन्दा ज्यादै धेरै ४.८ किलोमिटर प्रतिसेकेन्डमा आएका मिसाइल खसाउन सक्छ ।
यतिमात्रै हैन, अमेरिकाका प्याट्रिओटले २० र थाडले २०० किलोमिटर परको मिसाइल खसाउन सक्छन्। एस-४०० ले ४०० किलोमिटर परकै मिसाइल खसाउन सक्छ । प्रविधिमा मात्रै हैन पैसामा पनि रसियन हतियार सस्तो र कुनै सर्तविहीन भएकाले अमेरिकालाई तनाव भएको हुनसक्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४