मंगलबार, कात्तिक २६, २०७६

समाचार

बालविवाह न्यूनिकरण गर्न पुरोहितलाई नै प्रशिक्षण

बालविवाह न्यूनिकरण गर्न पुरोहितलाई नै प्रशिक्षण

सुर्खेत – बालविवाह न्यूनिकरण गर्न कर्णालीका पुरोहित (पण्डित) लाई प्रशिक्षण दिइएको छ। कर्णालीका ४ सय ४४ जना पुरोहितहरुलाई सुर्खेतमा बुधबार सामूहिक प्रशिक्षण दिइएको हो।

पुरोहितहरुको सहयोगविना बालविवाह न्यूनिकरण असम्भव रहेको भन्दै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न सामाजिक संघ संस्था र बालअधिकारकर्मीको समन्वयमा पुरोहितहरुलाई प्रशिक्षण दिइएको हो। बालविवाहको एउटा पाटो पुरोहित पनि भएको बताउँदै कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले प्रशिक्षण दिइएको बताए। प्रशिक्षणपछि पनि बालविवाह गराउने कार्यमा सहभागी भए पुरोहितहरुलाई नै कारबाही गर्ने डिआइजी जोशीले बताए।

प्रशिक्षणपछि पुरोहितहरुले बेहुला र बेहुलीको उमेर सोधेर मात्रै विवाह कार्यक्रममा सहभागी हुने बताए।

सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले कर्णालीका पुरोहितहरुको तथ्याङ्क संकलन गरी सामूहिक प्रशिक्षण दिएको हो। प्रहरीको तथ्याङ्कअनुसार कर्णालीमा ४ सय ४४ जना पुरोहित रहेका छन्। जसमध्ये सुर्खेतमा ६५, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१, सल्यानमा ९२, जाजरकोटमा २५ र रुकुमपश्चिमा २३ जना पुरोहित रहेका छन्।

प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा कर्णालीका २१ जनाको बालविवाह रोकेको बताएको छ। त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा ४७ जना, २०७५/०७६ मा ४९ र चालु आर्थिक वर्षको २०७६/०७७ को ५ महिनाको अवधिमा १७ जना गरी जम्मा १ सय ४४ जनाको बालविवाह रोकिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।

तथ्याङ्क अनुसार प्रदेशका दश जिल्लामध्ये रुकुम पश्चिम र दैलेखमा सबैभन्दा बढी बालविवाह हुने गरेको छ। रुकुमपश्चिम र दैलेखमा ७१ प्रतिशत बालविवाह हुने गरेको छ। त्यस्तै सल्यान र जुम्ला बालविवाह हुने दोस्रो जिल्लामा पर्छन्। तथ्याङ्क अनुसार सल्यान र जुम्लामा समान ७० प्रतिशत बालविवाह हुने गरेको छ। सुर्खेतमा ६९ प्रतिशत, जाजरकोटमा ६६ प्रतिशत, कालिकोटमा ५९ प्रतिशत, मुगुमा ५७ प्रशित, हुम्लामा ५२ प्रतिशत र सबैभन्दा कम डोल्पामा ५० प्रतिशत बालविवाह हुने गरेको छ।

केन्द्रीय बालकल्याण समितिका स्रोत व्यक्ति डम्मरबहादुर रोकायाका अनुसार जनचेतनाको अभाव र अभिभावकको गैरजिम्मेवारीका कारण बालविवाह बढेको हो।

उमेर अनुसार सल्यानमा ६२, रुकुमपश्चिममा ६१, सुर्खेत, दैलेख, जुम्ला र जाजरकोटमा ५९ प्रतिशत, मुगुमा ५२, कालिकोटममा ५०, हुम्लामा ४६ र डोल्पामा ४५ प्रतिशत बालबालिकाले १५ देखि १९ वर्षभित्र विवाह गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्