कैलाली- धनगढी उपमहानगरपालिका–४ स्थित एक होटेलमा विस्फोट ५ जना गम्भीर घाइते भएका छन्।
बिहिबार साँझ करिब सवा ७ भएको विस्फोटमा परी ५ जना गम्भीर घाइते भएको र जसमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
सहिद चोक नजिकै केशवराज पाण्डेले सञ्चालन गरेको होटेलमा विस्फोट हुँदा होटेल सञ्चालक पाण्डेसहित ५ जना गम्भीर घाइते भएका हुन्। घाइतेहरुको धनगढीको माया नेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा बझाङ घर भएका रामबहादुर सिंह, कञ्चनपुरको बेलडांडीका लक्ष्मण सेरेला, धनगढीकै जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खान रहेका छन् । घाइतेमध्ये रामबहादुर सिंहको शरीरको अधिकांश भाग जलेको छ ।
होटेलमा अचानक विस्फोट भएपछि सुरुमा ग्यास सिलिण्डर विस्फोट भएको अनुमान गरिए पनि सिलिण्डर विस्फोट भएको नपाइएको प्रहरी नायब उपरिक्षक दक्ष बस्नेतले बताएका छन् ।
घटनास्थलमा एउटा पेस्तोल पनि भेटिएको प्रहरी नायब उपरिक्षक जानकारी दिएका छन् । उनका अनुसार होटेलमा एउटा झोला पनि भेटिएकाले झोलामा विस्फोटक पदार्थ रहेको र सो पदार्थ विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४